भर्खरै :

पुँजीवादी व्यवस्थाका शासकहरूले सद्दे राजनीति नगर्ने

सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । यो पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने व्यवस्था हो । जमिनदार, पुँजीपति, भ्रष्टाचारी, ठग, कालाबजारी, आपराधिक व्यक्तिहरूको स्वार्थ पूरा गर्ने या पूरा गर्न बनेको दल र व्यवस्था कसरी उत्कृष्ट व्यवस्था हुन्छ ? कुनै देशमा राजतन्त्र अन्त्य हुँदैमा, दल खोल्न पाउँदैमा, निर्वाचनमार्फत कुनै पनि योग्य नागरिक राष्ट्रपति, प्रधानमन्त्री र सभामुख बन्न पाउँदैमा त्यो व्यवस्था उत्कृष्ट हुन्छ भन्ने भनाइमा सच्चाइ छैन । हो, देशमा राजतन्त्र अन्त्य भयो गणतन्त्र आयो । तर, यो व्यवस्था काम गरी खाने शारीरिक र बौद्धिक श्रमिकहरूको व्यवस्था होइन । श्रमिकमाथि शोषण गरेर र दबाएर शासन गर्ने व्यवस्था उत्कृष्ट हुँदैन ।
पुँजीवादी व्यवस्थाका शासकहरू सद्दे राजनीति गर्दैनन् । बल र पैसाको राजनीति गर्ने व्यवस्थामा सिद्धान्त र विचारको राजनीति हुँदैन । यस व्यवस्थामा भ्रष्ट, कालाबजारी, कमिसनखोर, ठेकेदार, अपराधी, बेइमान, ठग आदिले स्थान पाउँछन् । पक्षपात र भेदभाव हुन्छ । न्याय र समानता पाउँदैन । सत्ताको निम्ति साम, दाम, दण्ड र भेदको नीति अपनाइन्छ । यस व्यवस्थामा पदको निम्ति तँछाडमछाड हुन्छ । पदको भागबन्डा मिलेपछि सिद्धान्त र विचारको मतलबै राख्दैन । सरकार टिकाउन या लम्ब्याउन देशघात र जनघात गर्न पछि पर्दैन । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाइन्छ । सरकारी उद्योग र संस्थानहरू डुबाएर व्यक्ति मोटाउने काम हुन्छ । सरकारी उद्योग तथा संस्थानहरू घाटाको निहुँमा कौडीको मूल्यमा बिक्री गरेर निजीकरण गरिएको हुन्छ । यसरी देश र जनताभन्दा दल र व्यक्ति पोस्ने पुँजीवादी व्यवस्था कसरी उत्कृष्ट हुन्छ ?
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि १५ वर्ष पूरा हुँदै छ । यो अवधिसम्म सरकारहरूले बहुमत जनताको लागि के काम गरे ? देशलाई आत्मनिर्भर बनाउन के के पूर्वाधार तयार गरे ? के यो सरकारले भ्रष्टाचार नियन्त्रण ग¥यो ? के सरकारको नेतृत्व बरोबर फेर्नु नै प्रगति हो ? कमसेकम सत्तासीन दलका नेताहरूले इमानदारीपूर्वक राजनीति गरेका भए पनि जनताको सैद्धान्तिक र सांस्कृतिक स्तर उठ्थ्यो । सत्ताको निम्ति घात, प्रतिघात, बेइमान हुँदैनथ्यो । देशमा आर्थिक सङ्कटको लक्षण देखिँदैनथ्यो । राजनीतिक परिवर्तनसँगै जनताले राहत पाउँथे । गणतन्त्रको उपलब्धि भनेको बल र पैसाको राजनीति गर्नु होइन । यही व्यवस्थामा नेपाल भ्रष्टाचारको सूचीमा परेको छ र बदनाम भएको छ । सत्तासीन दलका नेताहरू विदेशी शक्तिराष्ट्रको उठबसमा परेका छन् । देशघाती सन्धि सम्झौता भइरहेको छ । देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुग्ने खालको नागरिकता विधेयक ल्याइएको छ । फिर्ता भएको सो नागरिक विधेयकबारे फेरि चर्चा भइरहेको छ । यस्तो व्यवस्था कसरी उत्कृष्ट हुन्छ । बरु समाजवादी गणतन्त्र पुँजीवादी गणतन्त्रभन्दा धेरै उत्कृष्ट हुन्छ । अतः पुँजीवादी व्यवस्था फालेर देशमा समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *