भर्खरै :

राजधानीमा जुलुस र सभा : मल नपाउँदा किसान चिन्तित

राजधानीमा जुलुस र सभा : मल नपाउँदा किसान चिन्तित

रासायनिक मल कारखाना स्थापना नहुनुमा शासकहरू दोषी
काठमाडौँ, १२ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घको आयोजनामा अनुदानको रासायनिक मलको अभाव र नक्कली भुटानी शरणार्थी बनाई देशद्रोह काम गरेका सरकारको विरोधमा राजधानी काठमाडौँमा जुलुस र सभा सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपाली काङ्ग्रेसको समर्थन प्राप्त पुष्पकमल दाहाल सरकारले जनताको समस्या समाधान गर्न नसकेको बताउनुभयो ।
मनसुन सुरू हुँदा पनि रासायनिक मलको अभाव भई किसानहरूले धान खेतीको लागि मल नपाएको तर प्रधानमन्त्री र मन्त्रीहरू सत्ता भागबन्डामा लागेको उल्लेख गर्दैै सांसद सुवालले यस्तो सरकारलाई सिंहदरबार कब्जा गरेर बस्ने अधिकार नभएको हुँदा राजीनामा दिएर निस्कनुपर्छ भन्नुभयो ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा कोसी वा कर्णाली जलाशयसहितको जलविद्युत् परियोजना भारतीय एकाधिकार पुँजीलाई दिने तयारी गरेकोमा विरोध गर्दै सांसद सुवालले भारत भ्रमणमा प्रम दाहालले २०५२ माघ २१ गते तत्कालीन सरकारलाई दिएको ज्ञापनपत्रअनुसारको सन् १९५० को नेपाल–भारत सन्धि, महाकाली सम्झौता, गोर्खा भर्ती खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पशुपतिमा राखिएको जलहरी सुनको वा पित्तलको भन्ने विवादबारे प्रमुख विपक्षी एमाले र सत्तापक्ष माओवादीबिच दोहोरी चल्दा शुक्रबार ११ बजेको प्रतिनिधिसभाको बैठक चल्न नसकेको उल्लेख गर्दै सांसद सुवालले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेका शासक दलहरूबाट देश र जनताको हित नहुने उल्लेख गर्नुभयो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहले पोलेअनुसारका व्यक्तिसँग प्रहरीलाई बयान लिन लगाउनुपर्नेमा उल्टो सरकारले प्रहरी प्रतिवेदन र मुद्दासमेत कमजोर बनाउन दबाब दिएको उल्लेख गर्दै सांसद सुवालले मानव बेचबिखनमा संलग्न सबैलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
उखुको भुक्तानी नपाएका किसानहरू बर्सेनि माइतीघर मण्डलामा बस्नुपरेको र मिटरब्याज पीडितहरू पनि रत्नपार्कमा धर्ना बसिरहे पनि सरकारले समाधान नदिएको उल्लेख गर्दै सांसद सुवालले नेपालमा रासायनिक मल कारखाना स्थापना नगर्नुको कारण शासकहरू भारतसँग मल खरिदमा भ्रष्टाचारमा लाग्नु नै भएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले युक्रेनको पक्षमा मत दिएर तत्कालीन देउवा र दाहालको सरकारले असंलग्नताविपरीत काम गरेको हुँदा उक्त मत तत्काल फिर्ता लिनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले प्रजातन्त्र स्थापना अघि र पछि पनि नेमकिपाले मल कारखाना स्थापनाको माग गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले बजारमा रासायनिक मलको अभाव भएकोले नेक्राकिसङ्घले सकारको ध्यानाकर्षण गर्न ¥याली र सभाको आयोजना गरेको बताउनुभयो ।
नेक्राकिसङ्घले अहिले मात्र होइन, विगतमा पनि देशमै मल कारखाना खोल्नको लागि आवाज राख्दै आएको चर्चा गर्दै मल कारखाना खोल्नको लागि नेमकिपाले सदन र सडकमा आवाज उठाउँदै आएको बताउनुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले वर्तमान सरकार पुँजीवादी सरकार भएकोले जनताको पीडासँग सरोकार नराखेको बताउनुभयो ।
नेपाली जनता राजनीतिकरूपमा सचेत भएर सरकारलाई समय समयमा खबरदारी गरेको खण्डमा नक्कली भुटानी शरणार्थी बनाई देशद्रोह कार्य गर्ने उच्चपदस्थ कर्मचारी र नेताहरूलाई हदैसम्मको कारबाही हुने बताउनुभयो ।
ठूला दलका नेताहरू गोप्य वार्ता गरी दोषीहरूलाई उन्मुक्ति दिन खोजेकोले नेपाली जनता सचेत भएर सडकमा ओर्लनुपर्ने उहाँले बताउनुभयो ।
¥याली सुरू हुनुअघि केन्द्रीय सचिव हरिराम सुवाल, राजवीर डंगोल र बन्दना श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *