भर्खरै :

गल्ती गर्नेहरूलाई किन फेरि जिताउने ?

गल्ती गर्नेहरूलाई किन फेरि जिताउने ?

एमसीसी सम्झौता देशघात छ भन्दाभन्दै देउवा, प्रचण्ड र ओलीहरूले सदनबाट पास गरे । ती पार्टीका अन्धभक्त समर्थक कार्यकर्ताहरू पनि लागे । सचेत र देशभक्त जनताले देशघाती एमसीसी सम्झौताको डटेर विरोध गरेका थिए । त्यतिबेला जनताको आवाज थियो, “शासक र ठूला दलका नेताहरूले देशलाई खत्तमै पारे; देशमा अमेरिकी सेना आउने बाटो खोले । अतः एमसीसी सम्झौताको विरोध गर्नुपर्दछ ।” आज फेरि निर्वाचनपश्चात् यी नै देउवा र प्रचण्डलगायतको सत्तामा हालीमुहाली छ । यिनीहरूलाई नै जनताले निर्वाचनमा पुनः धेरै मत दिएर जिताए । रास्वपाले एमसीसी सम्झौता, नागरिकता विधेयक, रुस–युक्रेन युद्धको सवालमा स्पष्ट धारणा जनतालाई दिन सकेको छैन । छोटो समयमा उदाएको रास्वपाप्रति देशभक्त र सचेत नागरिकमा गम्भीर आशङ्का र त्रास छाएको छ ।
अहिले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको विषय देश विदेशसम्म लज्जाबोध बन्न पुगेको छ । राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन, सामाजिक सञ्जालहरूमा हेडलाइन बनेर आइरहेको छ । पूर्वमन्त्री, प्रधानमन्त्री, पार्टीका मुख्य नेताहरूको नाम नक्कली भुटानी शरणार्थीको विषयमा करोडौँ, अरबौँ रूपैयाँको लेनदेन, चलखेल भएको कुरा बाहिर आइरहेको छ । संसद्को बैठकमा आरोपितहरूलाई अदालतको कठघरामा उभ्याइनुपर्ने आवाज गुन्जिरहेको छ । आम जनताको आवाज पनि यही छ । सत्तासीन दलहरू तैँ चुप मैँ चुपको स्थितिमा छन् । सत्तासीन दलहरूले सवाललाई मोड्न र अपराधीलाई उम्कन अनेक षड्यन्त्र रचिरहेको छन् ।
हिजो गल्ती गर्नेहरूलाई नै जनताले मत दिए । आज यी नै फटाहा, भ्रष्ट र नागरिक बेच्ने अपराधी मन्त्री र सांसदहरूले गर्दा देश अन्तर्राष्ट्रिय स्तरमै बदनाम हुन पुगेको छ । भोलि पनि यी नै भ्रष्ट, गुण्डा, अपराधीहरू नै देशको सर्वोच्च निकायहरूमा पुग्ने हो भने विरोध गर्नुको कुनै औचित्य हुँदैन । अपराधी हो भनेर बुझ्दाबुझ्दै निर्वाचनताका पटकपटक तिनीहरूलाई नै जिताएर पठाउनु पनि ठूलो गल्ती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *