भर्खरै :

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिपोट – १६

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइएको बारे टिपोट – १६

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य व्यक्तिमाथि अनुसन्धान सुरू भएको खुलासा गर्नुभएको छ । विगतमा राज्य सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्ति नै यस घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको बताउँदै उहाँले आफ्नै देशका नागरिकलाई अनागरिक बनाई अर्कै देशको शरणार्थी बनाएर सम्पत्ति आर्जन गर्ने काम क्षम्य नहुने स्पष्ट पार्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको शिर निहु¥याएको र देश नै लज्जित भएको घटनामा दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताउनुभयो ।
यस प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले चैत १२ गते अनुसन्धान सुरू गरी गत सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरीले अभियुक्त किटान गरेका ३० जनामाथि राज्यविरूद्धको कसुर, सङ्गठित अपराध तथा ठगी अभियोगमा जिल्ला अदालत काठमाडौँमा बुधबार मुद्दा दर्ता गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई प्रभावित बनाई सामसुम पार्ने प्रयास नभएको पनि होइन तर नेपाल प्रहरीले गरेको वस्तुनिष्ठ अनुसन्धान र गृह मन्त्रालय तथा नेपाल सरकारले दबाब–प्रभावबाट प्रहरीलाई मुक्त राख्न गरेको प्रयासले पहिलो चरणको अनुसन्धान पूरा हुन सम्भव भएको हो । (गोरखापत्र, २०८० जेठ १२)
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि बुधबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको अभियोगपत्रमा ३० अभियुक्तका ४३ प्रमाण उल्लेख गरिएको छ । जसमा प्रहरीसमक्ष जाहेरवालाले बुझाएका फुटेजदेखि, बैङ्क भौचर र चेकसम्म प्रमाणका रूपमा छन् । यस्तै, अभियुक्तका मोबाइलमा भेटिएका म्यासेज, उनीहरूबाट बरामद कागजात र आर्थिक लेनदेनको विषयसम्म प्रमाणको रूपमा छन् ।
अभियोगपत्रमा प्रतिवादीका बयानसँगै अन्य दसी प्रमाणसमेत पेस गरिएको छ । सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा जाहेरवालाले जाहेरी दर्खास्त साथ दिएका पेनड्रात्मा वारदातको मिति र समयसहितको फुटेज राखिएको छ ।
यसैगरी, भिडियोसहितको सीडी तथा फोटो, प्रतिवादीहरूको खातामा रकम जम्मा गरेको बैङ्क भौचरको प्रतिलिपि, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त परीक्षण प्रतिवेदन, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्राप्त प्रतिवादी सन्देश शर्माले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीका नाममा काटिएका सक्कल पाँच थान चेक पेस गरिएको छ । (राजधानी, २०८० जेठ १२)
दोस्रो चरणको अनुसन्धानको केन्द्रमा बिचौलिया बेचन झा छन् । फरार उनलाई पक्राउ गर्न सके थप उच्च तहको संलग्नता पुष्टि हुनसक्ने प्रहरी अधिकारी बताउँछन् ।
“मन्त्रालयमा राजनीतिकरूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ” झाले सत्तागठबन्धनमै आफ्नो भूमिका रहेको भनेर सचिव पाण्डेलाई मन्त्रालयमा बताएका थिए ।
खाणले बिचौलियाहरूसँग भेट्दा सो पैसा आफूले विभिन्न व्यक्तिहरूलाई बुझाउनुपर्ने पनि बताएका थिए । यस आधारमा यो अपराधमा अरू धेरै उच्चपदस्थको संलग्नताको सङ्केत अनुसन्धान अधिकारीले पाएका छन् । (नयाँ पत्रिका, २०८० जेठ १२)
टेकनाथ रिजालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनकै लागि तयार पारिएको केही थान ‘भुटान ह्युमन राइट अर्गनाइजेसन’ को सदस्य कार्डमा आफूले सहीछाप गरेको स्वीकार गरेका छन् । (कान्तिपुर, २०८० जेठ १२)
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निकट व्यक्तिलाई जबरजस्ती मुछ्न खोजेको आरोप लगाएका छन् ।
“हाम्राविरूद्ध जे बोले पनि हुने । जे प्रचार गरे पनि हुने । बिनासिती ढङ्गले हाम्रा मान्छेलाई नक्कली भुटानी प्रकरणमा मुछेका छन् । एमालेका खासगरी मेरा नजिक भनिएकाको नाम पोल्न लगाउने काम भयो”, उनले भने ।
उनले प्रहरीमा उच्चारण गरेको बयान छापामा कसरी भन्दै प्रश्न गरे । “प्रहरीमा उच्चारण गर्नेबित्तिकै छापामा कसरी आउँछ ! कहिले कहिले त छापामा पहिले आउँछ अनि बयान लिइन्छ । कस्तो तयारी साथ ।”
उनले ९ करोड बुझाएँ भन्ने व्यक्तिलाई नै सरकारले सूचनादातामा राखेको भन्दै आपत्ति जनाए । “९ करोड बुझाउनेलाई सरकारले सूचनादाता भन्छ । यहाँ मिलेमतो छैन कसरी भन्ने ? क–कसको संलग्ता छ भोलि उजागर हुँदै जानेछ”, उनले भने । अन्नपूर्ण, २०८० जेठ १२
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एकजना आरोपीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आरोपी लक्ष्मी महर्जन रहेकी छिन् । आरोप लागेदेखि उनी फरार रहेकी थिइन् । लक्ष्मी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्ने १७ जना पुगेका छन् ।
यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परिसकेका छन् । यसअघि पक्राउ परेका १६ जना अभियुक्तको अदालतमा बयान सुरू भएकै दिन उनी पक्राउ परेकी हुन् । (नेपाल समाचार पत्र, २०८० जेठ १२)
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूमाथि काठमाडौँ जिल्ला अदालतमा बयान सुरू भएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरू भएको हो । यो प्रकरणमा मुछिएका ३० जनाविरूद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो । (अनलाइन खबर, २०८० जेठ १२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *