आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
बाँके, १३ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ, बाँकेको प्रथम जिल्ला सम्मेलन शनिबार कोहलपुरमा सम्पन्न भएको छ । सम्मेलनको बन्दसत्रले जयबहादुर बुढाको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले पानसमा दीप प्रज्ज्वलन गरेर सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य गोसाईले देशघाती नागरिकता विधेयक फेरि पनि पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै देशभक्त नेपाली एकजुट भएर नागरिकता विधेयकको प्रतिकार गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले विदेशी नागरिकलाई तत्काल नागरिकता दिन तत्कालीन प्रतिनिधिसभाले विधेयक पारित गरेको भन्दै नेपालीसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष पर्खनुपर्ने संसदीय समितिको सुझावलाई लत्याएर तत्कालै नागरिकता दिने योजना गरिएको भनाइ राख्नुभयो । उहाँले २०६३ सालमा जन्मको आधारमा नागरिकता पाएका ४० लाख भारतीय नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरिएको खण्डमा नेपालका राष्ट्रपतिदेखि उच्च पदमा भारतीय मूलकै नागरिक पुग्ने बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले एमसीसी सम्झौता पारित गर्ने कोही पनि देशभक्त हुननसक्ने भन्दै अमेरिकी साम्राज्यवाद एमसीसीको नाममा नेपालमाथि हस्तक्षेप गर्दै छ भन्नुभयो । उहाँले देशका नागरिकलाई अनागरिक बनाएर मानव तस्करी गर्ने शासक पार्टीका नेता तथा कार्यकर्तालाई संरक्षण गर्ने मुख्य नेताहरूले नैतिक जिम्मेवारी लिनुपर्ने भनाइ राख्नुभयो ।
सिद्धान्तविनाको पार्टी गन्तव्यविनाको यात्राजस्तो हुने भन्दै उहाँले पुँजीवादी पार्टीहरूले जनतालाई भ्रममा पारिरहेको भनाइ राख्नुभयो । उहाँले क्रान्तिकारी भूमिसुधारको खाँचो भएको भन्दै जसको जोत उसको पोत नीति कार्यान्वयन हुनुपर्दछ भन्नुभयो ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजङ शाहीले किसानहरू निम्न पुँजीवादी विचारबाट माथि उठ्नुपर्ने बताउनुभयो । उहाँले किसानहरूले अवसरवादी चरित्रबाट मुक्त हुनुपर्ने भन्दै बहुदलीय व्यवस्थाले कामदार जनताको निम्ति तात्विक फरक नहुने भनाइ राख्नुभयो । भ्रष्टाचार पुँजीवादी व्यवस्थाको विशेषता नै भएको भन्दै उहाँले कम्युनिस्ट नामका पार्टी, नेकाका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा लिप्त भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शोषितवर्गलाई शासकवर्गमा उठाउने काम सजिलो नभएको भन्दै त्यही कठिन यात्रामा अनेक चुनौती सामान गर्दै अगाडि बढ्नुपर्ने भनाइ राख्नुभयो ।
शैक्षिक योग्यता नै सबै कुरा होइन भन्दै उहाँले देशभक्तिविनाको शैक्षिक योग्यता कागजको खोस्टोसरि हुन्छ भन्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले शासकहरू देश र जनताप्रति उत्तरदायी नभएको भन्दै ६० वर्षमाथिका किसानलाई निवृत्तिभरणको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
नेमकिपा, बाँकेका अध्यक्ष बखत थापाले कृषि अनुदानको दुरूपयोगको अन्त्य हुनुपर्ने भन्दै जनचेतना आवश्यक छ भन्नुभयो ।
नेमकिपा, बर्दियाका अध्यक्ष हरिलाल नेउपानेले बर्दियाको खेत बाँझो भएको भन्दै सरकारले समयमा अनुदान प्राप्त मल तथा बीउबिजनको व्यवस्था नगरेको भनाइ राख्नुभयो ।
आयोजक समितिका संयोजक जयबहादुर बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य भावना थापा, नेपाल क्रान्तिकारी महिला सङ्घ, बाँकेका अध्यक्ष कोपिला शाही, आयोजक समितिका उपसंयोजक विक्रम फौजामगर, आयोजक समितिका सदस्य अंजिरबहादुर शाहीलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको बिचबिचमा नृत्य तथा कविता प्रस्तुत गरिएको थियो ।
नवनिर्वाचित नेतृत्वलाई अध्यक्षमण्डलाका अध्यक्ष गोसाईले शपथग्रहण गराउनुभएको थियो भने केन्द्रीय सदस्य प्रेमकुमार थापाले बधाई दिनुभएको थियो ।
Leave a Reply