भर्खरै :

“नयाँ पुस्तालाई सामाजिक गतिविधिमा संलग्न गराउनुपर्छ”

“नयाँ पुस्तालाई सामाजिक गतिविधिमा संलग्न गराउनुपर्छ”

भक्तपुर, १५ जेठ । ख्वप माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७८/७९ मा भर्ना भई कक्षा १२ अध्ययन पूरा गरेका विद्यार्थीहरूको बिदाइ कार्यक्रम सोमबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासको लागि पढाइका अतिरिक्त गीत, सङ्गीत, सफाइ आन्दोलनलगायतका सामाजिक गतिविधि गर्दै लानुपर्ने आवश्यकता औँल्याउनुभयो
राजनीतिलाई बदनाम गराउने बदनियत साथ केही व्यक्तिहरूले गैरराजनीतिक गतिविधि गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई भ्रष्ट बनाउने गलत नियतका साथ तिनीहरु लागिपरेका छन् । विकास निर्माणको कामलाई तिनीहरुले पैसा कमाउने स्रोत बनाइरहेका छन् ।”
बहुसङ्ख्यक जनता राजनीतिकरूपमा सचेत नभएको कारण संसद्मा अयोग्य र लोभीपापीहरूको बाहुल्यता रहेको उहाँको कथन थियो ।
इतिहास र भूगोलको व्यवस्थित अध्ययन र अध्यापनको खाँचो औल्याउँदै अध्यक्ष रोहितले इतिहास र भूगोलको ज्ञानमा पछि परेको समाजले भविष्यमा दुःख भोग्नुपर्ने धारणा राख्नुभयो ।
वैदेशिक रोजगार र अध्ययनको नाममा युवालाई विदेश पठाउने नीति देशको लागि घातक भएको उहाँले बताउनुभयो ।
चुरे क्षेत्र तराईको जलाधार रहेको हुँदा चुरेको ढुङ्गा–गिटी भारत निर्यात गर्नुहुन्न, चुरे नरहे नेपालको अन्नको भण्डार तराई सखाप हुनेछ, उहाँले भन्नुभयो ।
अध्यक्ष रोहितले शासक पार्टीहरूले कामदार जनताको हितमा काम नगरी भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलालको रूपमा काम गरिरहेको बताउनुभयो ।
स्थानीय निकायलाई स्वायत्तता दिई विकेन्द्रीकरणको नीति लागू गर्न सके देशमा सङ्घीयता आवश्यक नहुने अध्यक्ष रोहितले दोहो¥याउनुभयो ।
कानुनको अनभिज्ञता क्षम्य नहुने भएकोले सबै विद्यार्थीहरूले कानुनका मूलभूत विषयहरूमा जानकारी हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाद्वारा सञ्चालित कलेज तथा विद्यालयहरूले कम शुल्कमा गुणस्तरीय शिक्षा दिएकै कारण देशकै नमुना विद्यालय÷कलेजको रूपमा परिचित भइरहेको बताउनुभयो ।
देश विकासको निम्ति सबैलाई शिक्षित गर्नु अपरिहार्य भएकोले नपाले शिक्षामा जोड दिई कलेज÷विद्यालय सञ्चालन गरिरहेको छ, उहाँले भन्नुभयो ।
नयाँ पुस्ताले विदेशमा होइन स्वदेशमै भविष्य खोज्नु जरूरी रहेको आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले भन्नुभयो, “विद्यार्थीहरूले रोजगारी खोज्दै हिँड्नुभन्दा रोजगारीले विद्यार्थी खोज्दै आउने वातावरण तयार गर्नु आवश्यक छ ।”
शैक्षिक संस्थाहरू प्रमाणपत्र वितरण गर्ने थलो नभई सीप सिकाउने केन्द्र हुनुपर्नेमा उहाँले सजग गराउनुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवं विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले बहुमत सर्वसाधारण जनताका छोराछोरीहरूलाई असल शिक्षा दिन सकेमात्र देशको विकास सम्भव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समयको सदुपयोग र असल शिक्षाले मात्र व्यक्तिको जीवन फलदायी हुनेछ । शिक्षाको माध्यमबाट भक्तपुरलाई आत्मनिर्भर ज्ञान विज्ञानको केन्द्र बनाउने अभियानमा भनपाका जनप्रतिनिधिहरू लागिपरेका छन् ।”
ख्वप माविका पूर्वप्राचार्य एवं ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले युरोप र अमेरिकाको संस्कृति नेपालको संस्कृतिभन्दा धेरै फरक भएको हुँदा विदेश जाँदैमा सुख पाउने भ्रम त्याग्नु आवश्यक छ भन्नुभयो ।
भनपाका जनप्रतिनिधिहरूको निरन्तरको अथक मेहनत, त्याग र इमानदारीताको फल नै ख्वप मा.वि.को प्रगतिको आधार भएको उहाँले बताउनुभयो ।
विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारी, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा.रत्नसुन्दर लासिवा र शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *