भर्खरै :

‘देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादन बढाउनुपर्छ’

भक्तपुर, २६ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशलाई आत्मनिर्भर बनाउन विदेशी सामान भित्याउने होइन, नयाँ प्रविधिको विकास गर्दै स्वदेशी उत्पादन बढाउँदै लानुपर्ने बताउनुभयो ।
गोर्खा प्रिकास्ट एण्ड विण्डोर प्रा.लि.को समुद्घाटन तथा नेपालमै पहिलोपटक उत्पादित गोर्खा इको प्यानलको तेस्रो वार्षिकोत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले जनतालाई सस्तो सुलभमा गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘छिमेकी देश भारतले नेपालको चुनढुङ्गा निःशुल्क उपभोग गरिरहेको छ । चुनढुङ्गाबाट इँटा बनाउने प्रविधि अपनाउन सके ८० प्रतिशत प्रदूषण घट्ने हुँदा नेपाली व्यवसायीहरूले चुनढुङ्गाको इँटा बनाउने प्रविधिबारे खोज–अनुसन्धान गरे धेरै लाभ लिन सकिन्छ ।’
थर्मकोललाई पुनःप्रयोग गरी निर्माण सामग्री उत्पादनमा कच्चापदार्थको रूपमा प्रयोग गर्नु गोर्खा इको प्यानलको नौलो र उत्तम उपाय भएको बताउँदै उहाँले यो प्रविधिले वातावरण मैत्री र भूकम्प प्रतिरोधात्मक निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा गोर्खा इको प्यानलका अध्यक्ष विश्वराम कवांले युवाहरूलाई स्वदेशमै रोजगारी दिने र देशको लागि आवश्यक दक्ष जनशक्ति तयार पार्न यो व्यवसायले धेरै मद्दत पुगेको बताउँदै समय र परिस्थितिलाई मध्यनजर गर्दै व्यवसायीहरू अगाडि बढ्नुपर्ने बताउनुभयो ।
गोर्खा इको प्यानलका कार्यकारी अधिकृत कृष्णभक्त दुवालले यसका विशेषता र सान्दर्भिकताबारे बोल्दै यो निर्माण सामग्री वातावरणमैत्री, अनुसन्धनात्मक र विद्यार्थीहरूको लागि अध्ययन केन्द्रको रूपमा पनि अगाडि बढिरहेको बताउनुभयो ।
इञ्जिनियर राजन दुवालले देशको तीव्र विकासको लागि प्रिकास्टले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपाली जनतालाई गुणस्तरीय निर्माण सामग्री प्रदान गर्ने उद्देश्यले गोर्खा इको प्यानलको स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा एभरेष्ट स्कूलका प्रतिनिधि रामगोपाल कर्माचार्यले विद्यार्थीहरूले यो प्रविधिमा निर्मित कक्षाकोठामा सुरक्षित महसुस गरेको बताउनुभयो । सहकारी संस्थाका प्रतिनिधि राजेन्द्र दुमरूले छोटो समयमा सुलभ मूल्यमा घर निर्माण गर्न सकिने यो निर्माण प्रविधि उपयोगी भएको बताउनुभयो ।
भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बाले निर्माण व्यवसायीहरू समयअनुसार नयाँ व्यवसायहरूमा संलग्न हुँदै जानुपर्ने र समयसापेक्ष, वातावरणमैत्री हुँदै सामाजिक उत्तरदायित्व पूरा गरी व्यवसाय अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति कृष्णराम द्योपालाले पनि गोर्खा इको प्यानलको काम–कारबाहीबारे आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *