पृथ्वीको तापमान बढ्दाको शिकार – नेपाल ?
- भाद्र १४, २०८३
देश विकास नहुनुका अनेक कारणहरूमध्ये पुँजीवादी बन्दोबस्त पनि हो । पुँजीवादी व्यवस्थामा श्रमजीवीवर्गको भलो हेर्दैन, श्रमजीवीवर्गको हितमा ऐन कानुन बन्दैन† बनाइँदैन । बरु श्रमजीवीवर्गमाथि शोषण तथा दमन गरेर पुँजीवादी शासकहरूले सरकार चलाइरहेका हुन्छन् । पुँजीवादी शासकहरू पुँजीपतिवर्गको सेवा गर्न, आफ्नो सरकार लम्ब्याउन विपक्षी दलहरूलाई फुटाउने, जुधाउने काम गर्छन् र जनताको विरोध या आक्रोश सेलाउन स–साना सुधारात्मक कामहरू गर्छन् । यस्तो व्यवस्थामा शासक या नेताहरू दलगत, व्यक्तिगत र गुटगत स्वार्थमा लागेका हुन्छन् । मोहियानी हक कायम नहुँदै द्वैधस्वामित्वको अन्त्य र कमैयामुक्ति यसको दृष्टान्त हो ।
शासकहरू देश र जनताप्रति जिम्मेवार नहुनु पनि अर्काे कारण हो । देशका शासकहरू देश बनाउने र जनता सुखी बनाउनेतर्फ चिन्तित देखिएनन् । शासकहरूले बेलाबखत आकर्षक नारा त तयार गरे तर त्यसलाई लागु गर्ने नीति बनाएनन् या पूर्वाधार तयार गरेनन् । शासकहरू विदेशीको भरमा, विदेशी शक्ति राष्ट्रको उठबसमा बसेकाले पनि देशले विकासको मुहार फेर्न नसकेको हो । शासकहरू देशमै उत्पादन बढाउने, देशमै कलकारखाना–उद्योग खोलेर आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ चिन्तनमनन गर्दैनन् । विदेशी सहयोग, विदेशी ऋण र विदेशकै भरमा विकास गर्ने, विदेशमा काम गर्न गएका नेपालीहरूको रेमिटेन्सबाट देश चलाउने खोक्रो बुद्धिले पनि देशको विकास चिप्लेकीराको गतिमा भइरहेको हो । देशको आम्दानी बढाएर, देशको लागि आवश्यक आधारभूत वस्तु पूर्ति गर्नुभन्दा देशको आम्दानीमा रजाइँ गर्न, उत्पादित वस्तुमा कमिसन खाएर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउनेतर्फ मात्र ध्यान गयो ।
शासकहरू इमानदार र दूरदर्शी नहुनाले पनि देश पछि परेको हो । शासकहरूको ध्यान सरकारमा रहँदा या पदमा बस्दा जसरी भए पनि कमाउनेतर्फ गयो । देश र जनताको निःस्वार्थपूर्वक काम गर्ने भावना शासकहरूमा छँदै छैन । शासक दलका नेता, मन्त्री, जनप्रतिनिधि, कार्यकर्ता र त्यस दलप्रति आस्था राख्ने कर्मचारीहरू मात्रै इमानदार भए देशको ठूलो रकम बच्छ, धेरै हदसम्म कमिसन हट्छ र विकास तीव्रगतिले अघि बढ्छ । शासकहरू दूरदर्शी भएनन् । उनीहरू अवसरवादी बने । देश र जनतालाई दूरगामी असर पर्नेतर्फ उनीहरूले कहिल्यै सोचेनन् । शासकहरू अदूरदर्शी भएकै कारण एमसीसी सम्झौता भयो, नागरिकता विधेयक प्रमाणीकरण भयो । अहिलेको स्वार्थमा फसेर पछिको नहेर्ने प्रवृत्तिले पनि देशका नदीनाला भारतको नियन्त्रणमा गयो । देशका सीमा स्तम्भहरू हटाएर अन्यत्रै सार्ने काम भयो । देशका विभिन्न ठाउँमा सीमा मिचियो । नेपाल–भारत सीमामा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाइयो । यी विभिन्न कारणले गर्दा देश आर्थिक सङ्कटमा प¥यो, देश अनिर्णयको बन्दी बन्योे । यो देशको निम्ति राम्रो लक्षण होइन ।
Leave a Reply