भर्खरै :

कृषक प्रतिनिधिहरूसँग राय—सुझाव सङ्कलन

कृषक प्रतिनिधिहरूसँग राय—सुझाव सङ्कलन

भक्तपुर, २५ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि कृषक प्रतिनिधिहरूसँग राय—सुझाव सङ्कलन कार्यक्रम बिहीबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले जनताका असीमित आवश्यकताहरू सीमित स्रोतसाधनबाट सम्बोधन गर्नु नै बजेटको विशेषता भएको बताउँदै भक्तपुर नपाले कृषकहरूको हितमा आवश्यक नीतिहरू बनाउन नगरवासीहरूसँग निरन्तर छलफलमार्फत राय–सुझाव सङ्कलन गर्दै आइरहेको बताउनुभयो ।
छलफलबाट प्राप्त राय–सुझावमध्ये प्राथमिकताको आधारमा योजना छनोट हुने बताउँदै उहाँले भक्तपुर नपाले कम जग्गामा बढी उत्पादन हुने नीति अवलम्बन गर्न कृषकहरूलाई तालिम र प्राविधिक सहयोगमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत विजयकुमार शर्माले बजेट सङ्कलन कार्यक्रममा नगरवासीहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित तालिमहरूको अनुगमनलाई तीव्रता दिइने बताउनुभयो ।
कार्यक्रममा उपस्थित कृषक प्रतिनिधिहरूले नगरभित्र चिस्यान केन्द्रको स्थापनालाई जोड दिनुपर्ने, माटो परीक्षणको व्यवस्थापन, कृषि अध्ययन अनुसन्धानको विकास गर्नुपर्ने, प्राङ्गारिक मलको प्रयोग बढाउन कृषकहरूलाई सचेत पार्नुपर्ने, सिंचाइको उचित व्यवस्थापन, मूल बीउ संरक्षण गर्नुपर्ने, घरघरमा कम्पोष्ट बीन अनिवार्य गर्नुपर्ने, सरकारबाट आउने अनुदान कृषकहरूलाई सहज उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने, कृषि फार्म दर्तामा सहजीकरण, कृषियोग्य जमिनमा भौतिक संरचना निर्माणमा रोक लगाउनुपर्ने, डुबानबाट जोगिन आधुनिक करिडोर निर्माणमा जोड दिनुपर्ने, आधुनिक तरकारी बजारको व्यवस्थापन, खुला क्षेत्रमा हरियाली प्रवद्र्धनको नीति अवलम्बन गर्नुपर्नेलगायतका सुझावहरू राखेका थिए ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भनपा वडा नं. ८ लिबालीमा चिस्यान केन्द्र निर्माणाधीन अवस्थामा रहेको बताउँदै नपाले किसानहरूलाई उन्नत जातका बीउ बिजन उपलब्ध गराउँदै आइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *