भर्खरै :

भारतीय हेपाहा प्रवृत्तिविरुद्धको विकल्प सङ्घर्ष

भारतीय हेपाहा प्रवृत्तिविरुद्धको विकल्प सङ्घर्ष

कीर्तिपुर, २६ जेठ । देशघाती नागरिकता विधेयक प्रमाणीकरण तथा लुम्बिनी भारतमा गाभेर तयार पारिको भारतीय नक्साको विरोधमा नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगर समितिले शुक्रबार जुलुस तथा सभाको आयोजना ग¥यो ।
बागभैरव चोकमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले देशको सार्वभौमिकता रक्षाको निम्ति सम्पूर्ण देशभक्त जनता एकजुट हुन आह्वान गर्नुभयो । उहाँले शासक पार्टीहरूले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाको मात्र विरोध गरेको त्यसका प्रावधानको विरोध नगरेको कारण कुनै पनि बेला नागरिकता विधेयक संसद्बाट पारित
गर्नसक्ने भएकोले नेपाली जनता सचेत हुनुपर्ने बताउनुभयो ।
भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादले नेपालको अस्तित्व समाप्त पार्ने षड्यन्त्र रचिरहेको केन्द्रीय सदस्य गोसाईले स्पष्ट पार्नुभयो ।
नेपाल र भारतबिच १८८० किमिको खुला सीमा भएको कारण पटकपटक जन्मको आधारमा नागरिकता दिने स्थिति बनेको भन्दै खुला सीमा बन्द गर्नुपर्छ, उहाँले भन्नुभयो । केन्द्रीय सदस्य गोसाईले २०६३ सालमै ४० लाख भारतीय नागरिकले जन्मको आधारमा नागरिकता लिएको भन्दै तिनका सन्तानलाई वंशजको नागरिकता दिएको खण्डमा नेपालको सर्वोच्च कार्यकारी निकायमा भारतीय मूलका नागरिक पुग्ने खतरा रहेको बताउनुभयो ।
अमेरिकी सैन्य रणनीतिअन्तर्गतको एमसीसी सम्झौताको कारण नेपाल युद्धभूमि बन्नसक्ने उहाँको तर्क थियो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर भारतले तयार पारेको नक्सा अविलम्ब खारेज हुनुपर्छ भन्दै भारतीय हेपाहा प्रवृत्तिको विरोधमा सङ्घर्षको विकल्प नभएको विचार राख्नुभयो ।
उहाँले नागरिकता विधेयक पारित गरेर नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रम प्रचण्डले भारतको दलाली गरेको भन्दै देशघातीहरूलाई जनताले एकदिन कारबाही गर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले सच्चा नेपाली जनताले नेपालको नागरिकता पाउनुपर्ने तर विदेशीलाई नेपाली नागरिकता दिने विधेयकको समर्थन गरेर शासकहरूले देशघात गरेको भनाइ राख्नुभयो
विरोध सभाअगाडि कीर्तिपुर पाँगाबाट सुरू भएको जुलुस नयाँ बजार, कीर्तिपुर खासीबजार हुँदै बागभैरव पुगेको थियो । कार्यक्रममा आयोजक समितिका बासमान महर्जन र मन्सा महर्जनले पनि बोल्नुभएको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *