भर्खरै :

नेपालको विकासमा भारतीय एकाधिकार पुँजी बाधक

नेपालको विकासमा भारतीय एकाधिकार पुँजी बाधक

भक्तपुर, २६ जेठ । वागीश्वरी कलेज व्यवस्थापन सङ्कायको आयोजनामा बी.बी.एस. ढितीय वर्षका विद्यार्थीहरूको लागि नेपाल सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आ.व. २०८०/०८१ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभाका सांसद सृजना सैंजूले नेपालको अर्थतन्त्र भारतीय एकाधिकार पुँजीको नियन्त्रणमा रहेसम्म देश उँभो नलाग्ने कुरामा विशेष जोड दिनुभयो ।
कृषि उत्पादन बढाउन चाहिने रासायनिक मलको सहज आपूर्ति नहुन र देशमै रासायनिक मल कारखाना नखुल्नुको कारण भारतीय एकाधिकार पुँजी नै हो भनी ठोकुवा गर्दै उहाँले नेपालको जलस्रोतमाथि पनि भारतले कब्जा जमाउँदै लगेका उदाहरण दिनुभयो ।
सरकारी स्वामित्वमा रहेका नेपाली उद्योगहरू निजीकरणको नाममा भारतीय पुँजीपतिलाई बेचिँदा आज युवाहरू श्रमको लागि विदेशमा भौतारिनु परेको चर्चा गर्दै उहाँले संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख देश बनाउन शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो ।
बजेट अङ्क गणित र आयव्ययको हिसाबकिताब मात्र नभई सरकारको दृष्टिकोण पनि हो भन्दै उहाँले संविधानले निर्दिष्ट गरेको समाजवादतर्फ यो बजेट कति उन्मुख भनेर हेर्नुपर्ने बताउनुभयो ।
विभिन्न कारणले संसारमा देखापरेका आर्थिक सङ्कटको निराकरण समाजवादी अर्थतन्त्रले मात्र गर्न सकेका उदाहरणहरू दिँदै उहाँले शिक्षा क्षेत्रमा पर्याप्त बजेट नछुट्याइँदा शिक्षाको आर्थिक दायित्व अभिभावकको थाप्लोमा परेको बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष एवम् कलेजका संयोजक ज्ञानसागर प्रजापतिले सरकारको जुनसुकै क्षेत्रमा जतिसुकै बजेट छुट्याए पनि विश्वास गर्न नसकिने चर्चा गर्दै भन्नुभयो, “ढाँटको निम्तो खाई पत्याउनु भनेझैँ विकासको परिणाम नआएसम्म पत्याउन सकिँदैन ।”
कलेजको अर्थशास्त्र विभागका प्रमुख मुरज दिदियाले कक्षामा पढेका सैद्धान्तिक कुरालाई व्यवहारको कसीमा हेर्न यस्तो कार्यक्रमको आयोजना गरेको भन्दै भन्नुभयो, “अर्थशास्त्र विषय लिई पढ्ने विद्यार्थीको लागि यो प्रयोगात्मक कक्षा हो ।”
उहाँले भन्नुभयो, “विदेशमा पढ्न जाने विद्यार्थीलाई निरुत्साहित गर्न कर दुई प्रतिशतबाट तीन प्रतिशत गरिएको छ; यसले विदेश जाने विद्यार्थीलाई रोक्न सक्दैन । बरु विदेशको भन्दा राम्रो पढ्ने वातावरण यही बनाउनुपर्छ ।”
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू पूर्णभक्त दुवाल, बालगोपाल श्रेष्ठ र मङ्गलेश्वर ध्वोजूसहित विद्यार्थीहरू विकास श्रेष्ठ, श्रीकृष्ण ब्यान्जु, स्मृति कासुला र रजित किसीले पनि बजेटका विभिन्न पक्षमा समीक्षात्मक टीकाटिप्पणी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *