“नेपालभाषा साहित्य तःमुंज्याले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेपाली जनतालाई शिक्षित र सचेत पार्दै आएको छ”
- भाद्र १४, २०८३
सत्यलाई असत्य ठान्ने
असत्यलाई सत्य मान्ने
प्रतिपक्ष र सत्तापक्षको
क्रिडास्थल हो आजको संसद् ।
आकाशमा खेतीको गफ हाँक्ने
आँखा नझिम्कँदै विकासको कुरा गर्ने
स्वर्गलाई पृथ्वीमा झार्ने
गफाडीको अखडा हो आजको संसद् ।
रोस्टममा कञ्चत तात्ने भाषण गर्ने
सुन्नेहरू आँखा चिम्लेर ध्यान गर्ने
पक्ष र विपक्षमा बस्ने तलबदारहरू
कुर्सीलाई आदेश दिँदै
टाप कस्न पाउने ठाउँ हो आजको संसद् ।
हाजिर फारममा गयल कोही नहुने
छर्के गर्दा गण कहिल्यै नपुग्ने
‘हुन्छ’ र ‘हुँदैन’ शब्दको स्वरले
न्यायको अपहरण हुने गाउँ हो आजको संसद् ।
आश्वासनको पोको बाँड्ने
जनताको धोको पूरा नहुने
श्रमिकलाई जोत्ने पारिश्रमिक लुट्ने
फलविहीन वृक्षको नाउँ हो आजको संसद् ।
शासक बन्न नाटक गर्ने
जनताभन्दा माथि बस्ने
भ्रष्टाचारीले कानुन बनाउने
देश सिङ्गार्ने मन्त्र जप्दै
भाग्य हाम्रो भत्काउने
औजार हो आजको संसद् ।
झुत्रेझाम्रे उठ्नेछ !
हिलो खुट्टे लड्नेछ !
कालो नीलो मनलाई पछार्दै
बनाउनेछ उसले नयाँ संसद् ।
Leave a Reply