भर्खरै :

समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया

समसामयिक राजनीतिक परिस्थितिबारे अन्तरक्रिया

काभ्रे, २७ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रे जिल्ला समितिद्वारा कार्ल माक्र्सको २०५ औँ जन्म दिवसको सन्दर्भमा समसामयिक राजनीतिक परिस्थितिबारे शनिबार बनेपामा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले भुटानी शरणार्थीको नक्कली प्रमाण बनाएर सङ्गठित गिरोहले नेपाली युवाबाट करोडौँ रकम असुलेको बताउनुभयो । देशमा भ्रष्टाचार अचाक्ली बढेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित दर्जनौँ व्यक्ति प्रहरी हिरासतमा छन्– उहाँले भन्नुभयो ।
जेठ १४ गते भारतको नयाँ संसद् भवनमा अखण्ड भारतको सांस्कृतिक नक्सा भनेर नेपालको भू–भाग लुम्बिनी, कपिलवस्तुसमेत गाभेर भारतीय विस्तारवादले नेपालको सार्वभौमिकता र भू–अखण्डतामाथि हस्तक्षेप गरेको विषयमा प्रम पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘विवाद आउने भएकोले भारतले राखेको नयाँ नक्साको विरोध नगरेको’ भन्ने भनाइ आत्मसमर्पण भएको वैद्यले चर्चा गर्नुभयो ।
प्रम पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमण गरेकै दिन जेठ १७ गते ‘नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले संसद् छलेर प्रमाणीकरण गर्नु संसद्को सर्वोच्चता र संसदीय परम्पराविपरीत भएको उहाँले बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले माक्र्सवाद–लेनिनवाद र माओ त्से तुङ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “माक्र्सवाद भौतिक एवम् वैज्ञानिक सिद्धान्त हो । समाजवादी विचार माक्र्सवादको उदय हुनु अगावै पनि थियो । हेगेललगायतका दार्शनिकहरूले समाजवादको अवधारणा ल्याए । कार्ल माक्र्सले समाजवादको वैज्ञानिक विश्लेषण गर्नुभयो ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले भौतिकवाद नै वास्तविक सत्य भएको र धर्मले यथास्थितिलाई मान्यता दिएको बताउनुभयो । संसारका वस्तुहरू परिवर्तनशील छ, त्यसैले समाज पनि परिवर्तशील भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घ काभ्रे जिल्ला समितिका अध्यक्ष ओमप्रसाद मानन्धरको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा लक्ष्मीराम न्हुच्छेप्रधान, पुण्यशोभा श्रेष्ठ, नित्यनारायण चण्डि, मङ्गललाल सुवाल, राजेश मानन्धरलगायतले समसामयिक राजनीतिक परिस्थितिबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *