भर्खरै :

सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुन : झडप सुरू

खार्तुम, २८ जेठ (रासस/एएफपी) । सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबारदेखि गोलाबारी र गोली हानाहान पुनः सुरू भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को नेतृत्व सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको समूहबीच आपसी भिडन्त भएको थियो ।
युद्धविराम सम्झौताको पछिल्लो श्रृङ्खलाले राजधानी खार्तुममा फसेका सर्वसाधारणलाई बाहिर जान र खाद्यान्न तथा अन्य आवश्यक सामग्री भण्डारण गर्न मौका दिएको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेसम्मको लागि घोषणा गरिएको युद्धविरामको अवधि सकिएको १० मिनेटपछि नै राजधानीमा पुनः गोलाबारी र झडप भएको प्रत्यक्षदर्शीले एएफपीलाई बताएका छन् ।
खार्तुम र यसको उत्तरमा रहेको ओमदुरमान सहरमा भीषण गोलाबारीको आवाज सुनिएको र राजधानीको दक्षिणमा रहेको प्रमुख मार्ग अल–हवा स्ट्रिटमा पनि भिडन्त सुरू भएको अधिकारीहरूले बताएका छन् ।
दक्षिण खार्तुमका बासिन्दा नासरूद्दीन अहमदले भन्नुभयो, “एक दिनको मौनता ‘सपना जस्तै’ थियो जुन २४ घण्टा बित्दा नबित्दै अन्त्य भएको छ ।
राजधानीको उत्तरी उपनगरमा बस्ने अस्मा अल–रिहले ‘रकेट र गोलाहरूले घरका भित्ताहरू हल्लिने आतङ्कको पुनरागमन’ मा दुःख व्यक्त गर्नुभयो ।
खार्तुमस्थित यार्मुक सैन्य केन्द्र नजिकै रहेको अल–शाजारा तेल तथा ग्यास केन्द्रबाट लगातार पाँचौँ दिनसम्म धुवाँको मुस्लो निस्किरहेको छ ।
संयुक्त राज्य अमेरिकाले मे महिनाको अन्त्यमा अघिल्लो प्रयास विफल भएपछि दुवै प्रतिद्वन्द्वी जनरलहरूमाथि प्रतिबन्ध लगाएपछि पनि धेरै युद्धविरामका लागि युद्धरत पक्ष सहमत भएका छन् र ती तोडिएका छन् ।
बुरहान र डग्लो दुवैले लामो समयदेखि अल–बशीरको सरकार सन् २०१९ मा अपदस्थ हुनुअघि दशकौँको अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा सुडानका तानाशाह ओमार अल–बशीरको शासनकालमा पर्याप्त सम्पत्ति जम्मा गरेका थिए । अहिले उनीहरूबीच शक्ति सङ्घर्ष हुँदा लाखौँ सुडानी विस्थापित हुनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *