भर्खरै :

गलत राजनीतिको विरोध आवश्यक

देशको स्थिति भताभुङ्ग हुनु र देशलाई मार्गनिर्देश गर्न नसक्नुका अनेक कारणमध्ये शासक र ठूला दलहरूको राजनीति सङलो नहुनु पनि हो । कार्यकालको ५ वर्षभित्र नेपाललाई कहाँ पु¥याउने भन्ने कुरामा शासकहरूको स्पष्ट दृष्टिकोण छैन । सिद्धान्त र विचार नमिलेका दलहरूको गठबन्धन सरकारको स्पष्ट दृष्टिकोण नहुनु अस्वाभाविक होइन । उनीहरूको काम सरकार टिकाउन र लम्ब्याउन भागबन्डामा लाग्नु हो । श्रमजीवी जनताको मत लिएर अल्पमतवर्गको प्रतिनिधित्व गर्ने जमिनदार, जालीफटाहा, पुँजीपति, ठेकेदार, कमिसनखोर, भ्रष्टाचारी, उच्छृङ्खल तत्वको पक्षमा सरकार लागेको कारण बहुमत जनताको सेवा गर्न नसकेको हो । बहुमत जनताको सेवा गर्न इमानदारीपूर्वक राजनीति गरेको देशमा छिट्टै विकास भएको पाइन्छ, जनताले राहत पाएका छन् । त्यस्ता सरकारप्रति जनताको विश्वास पनि बढ्छ ।
शासकहरूमा राजनीतिक संस्कारको विकास भएको देखिँदैन । लामो समयसम्म राजनीति गरे पनि शासक दलहरूमा किन राजनीतिक संस्कारको विकास भएन ? अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा बजेटबारे छलफल भइरहेको छ । विभिन्न दलका सांसदहरूले आ–आफ्नो दलको विचारसहित बजेटबारे टीकाटिप्पणी गरिरहेका छन् । नेमकिपाका सांसदहरूले बजेटमा विभिन्न नीति तथा योजना पेस गरेका छन् । सरकार एकातिर बजेट र विधेयकबारे छलफल गर्न प्रशस्त समय दिँदैन भने अर्कोतिर देशको लागि गर्नैपर्ने योजना र कार्यको सुझाव दिए पनि सरकार वास्ता गर्दैन । बहुमतको नाउँमा कसैको सुनुवाइ नै नगरी सरकारले सरकारी नीति तथा कार्यक्रम र बजेट पारित गर्छ । सरकारले अरू कुनै पनि दलको सल्लाह र सुझाव आत्मसात गर्दैन । नीति तथा कार्यक्रम र बजेटमा कुनै सुधार या संशोधन हुँदैन भने छलफल गराउनुको के अर्थ रह्यो ? के संसद् भनेको सरकारी नीति तथा कार्यक्रम र बजेट सुनाउने थलो मात्र हो ?
सत्ताको लागि आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थले दलका नेताहरू मतिभ्रष्ट भएका छन् । सत्ता पाउने भएपछि सरकारमा सहभागी दलका नेताहरू जस्तोसुकै गलत कार्यविधि भए पनि अन्ध समर्थन गर्छन् । ती दलका नेताहरूले सहीलाई सही र गलतलाई गलत पनि भन्न सकेका छैनन् । अरू दलको आलोचनात्मक टिप्पणी र खबरदारीलाई आत्मसात गर्ने हिम्मत शासक दलहरूमा देखिएको छैन । उन्नत समाज बनाउने त कता हो कता देशको अस्तित्वमा असर पु¥याउने पूर्वाधार सरकारले तयार गर्दै छ । शासक दलका नेता, मन्त्री, सांसदहरू दूरदर्शी नहुँदा समस्या बढ्दै गएको हो । अहिलेको स्वार्थ हेरेर या स–साना योजना र आर्थिक सहयोगमा भुलेर देशको अस्तित्वमै नामेट पार्ने काममा उनीहरू हौसिएका छन् । अरू दलले देश जोगाउन, देशको सुरक्षा गर्न सुझाए पनि, भ्रष्टाचार, कमिसन र अनियमितता अन्त्य गर्न सुझाए पनि सरकार वास्ता गर्दैन । शासक र ठूला दलहरू पालैपालो सरकारको नेतृत्व गर्न तँछाडमछाडमा लागे । यसको परिणाम देशको भविष्य देखिएको छैन । यसमा हालसम्मका शासकहरू नै दोषी छन् । यस्तो गलत राजनीतिको विरोध गर्नैपर्छ । नत्र देशको स्थिति भताभुङ्ग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *