भर्खरै :

अखण्ड भारत नक्साबारे भारतीय विदेशमन्त्रीको झूटो बयानबाजी

अखण्ड भारत नक्साबारे भारतीय विदेशमन्त्रीको झूटो बयानबाजी

भारतको नवनिर्मित संसद्मा राखिएको भित्ते नक्सामा नेपाल, बङ्गलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै तीनवटै देशमा व्यापक विरोध भइरहेको बेला भारतीय विदेशमन्त्री एस. जयशङ्करले झूटो बयानबाजी गरेका छन् । जयशङ्करले यस विषयमा नेपाल र बङ्गलादेशलाई स्पष्ट पारिसकिएको बताएका हुन् । भारतीय विपक्षी दललगायत सञ्चारकर्मीहरूले प्रश्न उठाएपछि विदेशमन्त्री जयशङ्करले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बङ्गलादेशमा विवाद नरहेको दाबी गरेका ह्ुन् ।
अखण्ड भारतको नक्सालाई लिएर नेपालको संसद् र सडकमा चर्को विरोध भइरहेको छ । पाकिस्तान र बङ्गलादेशमा पनि उस्तै विरोध छ । बङ्गलादेशमा पनि यस विषयमा विरोध चर्किएपछि दिल्लीस्थित आफ्नो मिसनलाई भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ । बङ्गलादेशका विदेश मामिला राज्यमन्त्री सहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताएका थिए । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले त भारतको यो कदमले उसको नियत छर्लङ्ग पारेको बताउँदै टिप्पणी गर्नसमेत अस्वीकार गरे । यसले छिमेकी देशहरूमा विवाद नरहेको भारतीय विदेशमन्त्री जयशङ्करको झूट उदाङ्गो हुन्छ ।
भारतका प्रगतिशील र तर्कशील जनतामाझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि भनेको झूटको खेती गर्नमा माहिर ‘फेकु’ मानिस भन्ने रहेको छ । जयशङ्कर विदेश मन्त्रालयको सेवाका वा कूटनीतिक वृत्तबाट आएका हुनाले मोदीकै प्रवृत्ति नदेखाउने अपेक्षा धेरैले राखेका थिए तर, अन्ततः उनी पनि मोदीकै छाया साबित हुँदै गएका छन् मोदी सरकारका अन्य मन्त्रीहरूजस्तै । मोदी सरकार ‘अखण्ड भारत’ को सपना देखाएर भारतीय जनतालाई मूर्ख बनाउने र २०२४ को लोकसभा चुनाव जित्ने सुरमा लागिपरेको छ । त्यसैले मोदी सरकारले अझै कैयौँ कथित भारतीय राष्ट्रवादी कदमहरू चाल्ने र छिमेकी देशलाई मानसिक र भौतिकरूपमै प्रताडित गर्ने कार्य हुनेमा कुनै शङ्का छैन । भारतका त्यस्ता अन्तर्राष्ट्रिय कानुन र कूटनीतिविपरीतका कदमबारे नेपाली जनता सचेत रहनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *