भर्खरै :

देशको सम्पत्ति विदेश लैजान नपाउने नीति आवश्यक

देशको सम्पत्ति विदेश लैजान नपाउने नीति आवश्यक

मदनदेउपुरमा विद्यार्थी भेला तथा प्रशिक्षण
काभ्रे, २ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मण्डनदेउपुर नगर समितिको आयोजनामा विद्यार्थी भेला तथा प्रशिक्षण कार्यक्रम नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङको आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि तामाङले समाजमा राम्रा काम गर्ने हाम्रा साथीहरूविरूद्ध विरोधीले अनेक षड्यन्त्र गर्न सक्ने हुँदा सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
इमानदार पार्टी कार्यकर्ताहरूको सङ्घर्षले समाजमा सकारात्मक सुधार आएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सामूहिक भावनाको विचार बाँड्न सके र सङ्गठन विस्तार गर्न हामीलाई कसैले रोक्न सक्नेछैन ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले प्रत्येक देशभक्त युवाहरू चे ग्वेभाराले देखाएको बाटोमा हिँड्ने हो भने देशमा क्रान्ति हुन धेरै समय नलाग्ने बताउनुभयो ।
नीतिगत भ्रष्टाचारका विरूद्ध कडा कारबाही र देशको सम्पत्ति विदेश लैजान नपाउने नीति नबनाएसम्म देशले आर्थिक सङ्कटको सामना गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले नेक्राविसङ्घले स्थापनाकालदेखि नै निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षाका लागि सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
समाजमा प्रतिक्रियावादी र प्रतिगामी शक्तिको प्रभाव रहेसम्म बहुमत सर्वहारा जनताले दुःख पाउने चर्चा गर्दै उहाँले समाजमा छरिएर बसेका समाजवादी विचार बोक्ने विद्यार्थीहरू देश र जनताका लागि सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राविसङ्घका सुरेश परियारले भोलिको समाज कस्तो बनाउने भन्ने आधार आजका विद्यार्थीमा निर्भर हुने भएकोले विद्यार्थी असल, इमानदार, मेहनती र प्रगतिशील हुनुपर्ने बताउनुभयो ।
प्रविधिको विकाससँगै जोडिएर आउने विकृति विसङ्गतिबाट टाढा रहेर सामाजिक सञ्जालको सही सदुपयोग गर्न सुझाव दिँदै उहाँले विद्यार्थी सङ्गठनको नाममा विद्यार्थीको भविष्यमा खेलबाड गर्दै आएका अराजक सङ्गठनहरूको विकल्प नेक्राविसङ्घ मात्रै भएको बताउनुभयो ।
एसईई दिएर बसेका विद्यार्थी भाइबहिनीहरूको लागि भएको मार्गनिर्देशन कार्यक्रममा मुना तामाङ, सेमसल तामाङ, सिर्जु शाही, राजु तामाङ र रणबहादुर रानाले विभिन्न विषयमा मार्गनिर्देशन दिनुभयो । उक्त कार्यक्रममा नेक्राविसङ्घ नगर समितिका स्वस्तिका तामाङ, युनिका तामाङ र दीपिका तामाङले पनि बोल्नुभएको थियो ।
असार १ गते शुक्रबार विद्यार्थीबिच चिनियाँ चलचित्र ‘वाकिङ टु स्कूल’ प्रदर्शनी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *