नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
डुएन क्लारिज संरा अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक गुप्तचर थिए । नेपालमा उनले सन् १९५८–१९६० तिर काम गरेका थिए । उनको संस्मरण ‘सबै मौसमको गुप्तचर, सीआईएमा मेरो जीवन’ (A spy for all seasons, mu life in the CIA) बारे एक अग्रजले कुरा निकालेपछि पुस्तकको खोजी भयो । इन्टरनेटको एउटा भित्तामा पुस्तक देखेपछि पढ्दै गइयो । सन् १९९५ तिर लेखिएको उक्त पुस्तकको एक खण्डमा नेपालको पहिलो आमनिर्वाचन, तिब्बती उपद्रो र पञ्चायत शासनको सुरुआतसम्मका घटनालाई लेखकले आत्मगत शैलीमा बयान गरेका छन् ।
क्लारिज सन् १९३२ मा संरा अमेरिकामा जन्मेका थिए । उनका आमाबाबु रिपब्लिकन पार्टीका कार्यकर्ता थिए । अमेरिकामा बाक्लै प्रचार गरिएको ‘सोभियत खतरा’ बाट उनको बाल मस्तिष्क पनि जोगिएन । उनी सोभियत सङ्घको अध्ययनमा जुटे । उनी सोभियत सङ्घ र कम्युनिस्टविरोधी बने । पछि उनले कोलम्बियाबाट उच्च शिक्षा लिए । उच्च शिक्षाको क्रममा रुसी संस्थानमा रहेर उनले याल्टा र पोट्सड्याम सम्मेलनमा सहभागी फिलिप मोस्ले र रुसबाट भागेर पेरिस हुँदै अमेरिका पुगेका करेन्स्कीबाट पनि शिक्षा लिएका थिए । सीआईएमा जागिरे भएपछि विदेशमा उनको पहिलो कार्यस्थल नेपाल थियो । करियरको चरमचुलीमा सन् १९८० को दशकको आरम्भमा उनी ल्याटिन अमेरिकी क्षेत्रका सीआईए प्रमुख बनेका थिए । ल्याटिन अमेरिकी देशहरूमा जननिर्वाचित सत्ता ढलाउनेजस्ता अनेक सीआईए प्रायोजित षड्यन्त्रमा उनले महत्वपूर्ण भूमिका खेले । वरिष्ठ पत्रकार जोन पिल्जरको चर्चित वृत्तचित्र ‘द वार अन डेमोक्रेसी’ मा क्लारिजलाई कडा शब्दमा अमेरिकी साम्राज्यवाद र चिलीका फासीवादी शासक जर्नेल पिनोचेको पक्षमा वकालत गरिरहेको देख्न सकिन्छ ।
नेपाल प्रवेश
नेपालबारे तिनताका वासिङटनमा भेटिएजति सामग्री अध्ययन गरेर सन् १९५८ मा डुएन क्लारिज सपरिवार नेपाल पसे । नेपाल आउँदै गर्दा दिल्लीमा उनले आफ्नो बोस ह्यारीलाई भेटे । ह्यारी आफूलाई हिन्दू दर्शनको अध्ययनमा लगाउँदै थिए । दिल्लीको उच्चवर्गको जीवनमा डुएनले बेलायती शासनको छाप भेटे । उनी भारतलाई ‘सोभियत पक्षधर भारतीय कम्युनिस्टहरू र बेलायतबाट शिक्षा लिएका वामपन्थी वकिलहरूले शासन गरेको देश’ भनी लेखेका छन् ।
तिनताका तिब्बतमा उपद्रो चल्दै थियो । त्यसमा सीआईए निकै सक्रिय थियो । तिब्बत र ‘सोभियत पक्षधर’ शासकहरूले चलाइरहेको भारतबिच हुनाले पनि नेपाललाई रणनीतिक महत्वको देश ठानिएको थियो । त्यसैले नेपालबारे जेजति जानकारी भेटिन्छ, सबै बटुल्नु भन्ने सीआईए हेडक्वाटरको आदेश थियो ।
काठमाडौँमा विमानस्थलमै क्लारिजले भीमबहादुर (छद्म नाम) लाई भेटे । उनी अवकाश प्राप्त प्रहरी अधिकारी थिए । देशभरकै प्रहरी प्रशासनमा उनको पहुँच थियो । त्यसैले देशभरिबाट जानकारीहरू बटुल्न क्लारिजले भीमबहादुरलाई सीआईएको एजेन्ट बनाए । अवकाशपछि मनग्यै पैसा आउने लोभले भीमबहादुरलाई सीआईएमा तान्यो । तिनताका नेपालमा राजाको पक्षमा लाग्ने पार्टी र त्यसको विपक्षमा लाग्ने पार्टीहरूले देशैभरि आन्दोलनहरू गरिरहन्थे । क्लारिजले भीमबहादुरबाट तिनको राम्रो जानकारी बटुल्थे ।
काठमाडौँमा बेलायती, भारतीय र स्वीस प्रतिनिधिहरू सक्रिय थिए । स्वीस समूहले त तिब्बतको सीमामा डेरी पनि सञ्चालन गरेको थियो । भोज दिने वा भोजमा जाने संस्कृतिमा काठमाडौँ अगाडि थियो । यस्तै भोजमा गएर क्लारिज सीआईएका एजेन्टहरू खोज्थे । नेपाली समाजबारे उनको अध्ययन यस्तो भन्छ, “नेपालको शासन व्यवस्थामा गोर्खा (खस) र नेवारहरूको हालिमुहाली थियो । व्यापार र कर्मचारीतन्त्रमा नेवारहरू बलिया थिए । गोर्खाहरू कम शिक्षित भए पनि बेलायती र भारतीय सेनामा गएर नाम कमाएका थिए ।”
तिब्बतमा सन् १९५० मा जनमुक्ति सेना पसेको थियो । त्यति नै बेला नेपालमा राणा शासन समाप्त भएको थियो । भारत नेपाललाई बफर क्षेत्रको रूपमा हेथ्र्यो । यस्तैमा राजा महेन्द्रमाथि आम चुनाव गराउनुपर्ने दबाब प¥यो । नेपालको शासनसत्तामा राणाहरूको दबदबा थियो । समाजको उच्च तहमा उनीहरूको बिहेवारी चल्थ्यो । सेनामा पनि उनीहरूको बाक्लो उपस्थिति थियो । क्लारिज यस विषयमा जानकार थिए । त्यसैले भीमबहादुरबाट आउने सूचना उनका लागि नौला र चाखलाग्दा भए । उनले नेपालको सामाजिक, राजनीतिक र सैनिक परिवेशमा रुचि लिँदै गए । प्राप्त जानकारीलाई कोड भाषामा फेर्दै उनी दिल्ली हुँदै वासिङटन हेडक्वाटरसमक्ष जानकारी पठाउँथे ।
सीआईएका चार उद्देश्य
नेपालमा क्लारिजका मुख्य चार उद्देश्य थिए । “नेपाली सेना कति बलियो छ ? यो देशमा कसरी छरिएको छ ? ऊ राजा वा राणामध्ये कोप्रति बफादार छ ? प्रहरी कोतिर ढल्केको छ ? राजनीतिक दलका विचारधारा, बफादारी वा उद्देश्यहरू केके हुन् ?” यी प्रश्नको उत्तर पत्ता लगाउनु पहिलो उद्देश्य थियो । “सोभियत र चिनियाँ पक्षले नेपालमा के गर्दै छ ? भारतीयहरू के गर्दै छन् ?” यी प्रश्नको उत्तर खोज्नु दोस्रो उद्देश्य थियो । नेपालमा अमेरिका पसेको भारतीयहरूलाई चित्त बुझेको थिएन । उनीहरूले आफ्नो भाग खोस्ने हुन् कि भन्ने उनीहरूको चिन्ता थियो । यद्यपि, क्लारिज भारतलाई चिनियाँ दबाब झेल्नसक्ने बनाउनु नै आफ्ना गतिविधिहरूको उद्देश्य रहेको लेख्छन् । अर्कोतिर, मलेसियामा कम्युनिस्टहरूलाई दबाउन चाहिने गोर्खाली युवाहरूको भर्ती नरोकियोस् भन्ने स्वार्थ नै बेलायती स्वार्थ थियो ।
सीआईएको तेस्रो उद्देश्य नेपालमा प्रजातान्त्रिक सरकार स्थापना गर्नु थियो भनी क्लारिज लेख्छन् । राजा र दलहरूबिच तानातान चल्दा नेपाली राजनीति अस्थिर र कमजोर हुने उनले देखेका थिए । चौथो उद्देश्य अलि पछि आयो । दलाई लामा र उनका सहयोगीहरू तिब्बतबाट भागेर भारत पसेपछि १९५९ मार्चमा तिब्बती उपद्रो समाप्त भयो । त्यहाँबाट सीआईएलाई आउने सूचनाहरूमा कमी आएपछि क्लारिजले नेपालबाटै तिब्बतको सूचना जम्मा गर्ने जिम्मा लिए ।
भीमबहादुरलाई एजेन्ट बनाएको चार महिनाभित्र क्लारिजले एजेन्टहरूको एउटा जालो बनाइसकेका थिए । सरकारी सङ्घसंस्था र प्रशासनमा उनले खुट्टा जमाइसकेका थिए । उनी बेलाबेला सूचनाहरू दिल्ली पठाइरहन्थे । यद्यपि, महिनाको १० दिनजति दिल्ली दूतावासका नेपाल फाँट हेर्ने डगलस हेक काठमाडौँ आइरहन्थे । सीआईएको गतिविधि बाक्लिँदै जाँदा राजा महेन्द्रले १९५९ को गर्मीयाममा पहिलो संसदीय निर्वाचन हुने घोषणा गरे ।
शक्ति राजनीतिको खेलाडी
चुनावमा राणाहरूका दक्षिणपन्थी दलदेखि लिएर नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले भाग लिने भए । नेपालको पहिलो आमचुनावबारे क्लारिजको बुझाइलाई छोटोमा यसरी राख्न सकिन्छ :
“नेपाली काङ्ग्रेस सबैभन्दा लोकप्रिय पार्टी हो । कोइराला इजरायलको श्रमिक युनियन गठबन्धनको नेतृत्वबाट प्रभावित देखिन्छन् । भारतका प्रम नेहरूको पार्टी काङ्ग्रेस पार्टीबाट नै कोइरालाले आफ्नो पार्टीको नाम राखेको हुनुपर्छ । आम चुनावमा नेपाली काङ्ग्रेसले नै जित्नुपर्छ । यता राजा भने दलहरूलाई आपसमा भिडाएर जनतामाझ अलोकप्रिय बनाउने र पुनः आफ्नो एकलौटी सत्ता ल्याउने ताकमा छन् ।”
“बीपी अलि खुला दिमागका हुनाले भारत राजाको पक्षमा गएजस्तो देखिन्छ । बेलायतले भने नयाँ राजकुमारलाई पढाउन अङ्ग्रेज शिक्षक राखेर राजकीय ढर्रामा पाइला चाल्दै छ । नेपालका कम्युनिस्ट पार्टीलाई भारतीय कम्युनिस्टहरूले पैसा दिन्छन् । त्यो पैसा तिनलाई सोभियत सङ्घबाट आउँछ होला । डा. केआई सिंहले राजानजिक रहेर काम गरेजस्तो देखिन्छ । जेहोस्, सबै प्रमुख राजनीतिक दलबाट सूचना आइरहेको छ ।”
सन् १९५९ को वसन्त याम सुरु हुँदै थियो । चुनाव नजितिने पो हो कि भन्ने पिरले बीपी कोइराला चिन्तित थिए । चुनावलाई लिएर सीआईएको कुनै योजना थिएन । मार्च महिनामा कोइरालाले क्लारिजलाई आफ्नो घरमा बोलाए । कोइरालाको घाँटीमा क्यान्सर लागेको हुनाले त्यसको उपचार गर्दा बनेको दाग प्रस्टै देखिन्थ्यो । उनले क्लारिजलाई चुनावमा नेपाली काङ्ग्रेसले जित्ने कुरा शङ्कास्पद भएको बताए ।
कोइरालासँगको भएको कुरा क्लारिजले वासिङ्टनस्थित हेडक्वाटरलाई जानकारी गराए । कुनै देशको चुनावमा कसलाई जिताउने वा कसलाई हराउने भन्ने विषय सीआईएले तय गर्दै थियो । यस्तो हस्तक्षेप वा षड्यन्त्रलाई गुप्तचरीको भाषामा ‘कोभर्ट एक्सन’ भनिन्छ । तिनताका सीआईए प्रमुखको पदमा एलन डलेसले काम गर्दै थिए । डलेसले वासिङटनबाट नेपाली काङ्ग्रेसलाई सघाउनु भन्ने आदेश पठाए ।
सीआईएको सहयोग पाएपछि नेपाली काङ्ग्रेस बलियो हुँदै गयो । कोइराला र क्लारिजको हिमचिम कति बढ्यो भने कोइरालाले पार्टीभित्रका समस्या र चुनावी रणनीतिबारे क्लारिजसँग खुलेर कुरा गर्न थाले । झन्डै ६ हप्तापछि एक दिन कोइराला क्लारिजकहाँ गए । उनले क्लारिजसँग चुनावमा आइलागेका समस्याहरू बताए । यी कुरा क्लारिजले हेडक्वाटरमा पठाए । नेपालमा सीआईएको चलखेल बाक्लिएकोमा हेडक्वाटर मख्ख थियो । सन् १९५९ को आरम्भमा क्लारिज २७ वर्षका थिए । यद्यपि, नेपालमा उनले सीआईएको जालो फैलाइसकेका थिए । सानो उमेरमै उनी नेपालको प्रथम आमनिर्वाचनका खेलाडी बनिसकेका थिए ।
तिब्बतमा गुप्तचरी
सन् १९५७–५८ मा सीआईएले तिब्बती विद्रोहीहरूलाई सघाउन अपरेसनहरू सञ्चालन गरेको थियो । तिब्बती उपद्रयाहाहरूलाई अमेरिका लगेर सञ्चार र गुरिल्ला युद्धकलाको तालिम दिइएको थियो । त्यो तालिम तिब्बतको भूगोलसँग मेल खाने कोलोराडोको उच्च पहाडी भेगमा दिइएको थियो । चिनियाँ कम्युनिस्टहरूको जानकारी दिलाउन सक्ने हुनाले नै त्यो तालिम दिइएको थियो । गुप्तचरी र सैन्य तालिम दिए पनि तिब्बती विद्रोहीहरू पराजित भए । उनीहरूले लड्नुभन्दा पनि आफ्नो जन्तरमाथि बढी भर परेको हुनाले हारेको क्लारिजको व्यङ्ग्य छ । चिनियाँ सेनासँग आमनेसामने गर्नुभन्दा गुरिल्ला युद्ध लडेको भए तिब्बती विद्रोहीहरूले जित्ने थिए भन्ने उनको निष्कर्ष रह्यो ।
दलाई लामा तिब्बतबाट सिक्किम हुँदै भारतको ‘धर्मशाला’ मा आए । उनीसँगै उनका धेरै सहयोगीहरू पनि भारत झरेपछि तिब्बतमा सीआईएलाई सूचना दिने गुप्तचरहरूको कमी भयो । यसैकारण, क्लारिजले त्यहाँ पठाउन राजबहादुर (छद्म नाम) लाई एजेन्ट बनाए । राजबहादुरको तिब्बतमा व्यापार थियो । तिनताका तिब्बत गएर फर्किन दुई साता लाग्थ्यो । ल्हासास्थित नेपाली वाणिज्य दूतावासमा राजबहादुरको राम्रै चिनापर्ची थियो । दूतावासका कर्मचारीहरूको तिब्बती अधिकारीहरूसँग नजिकको सम्बन्ध हुने नै भयो । यही सम्बन्धमार्फत सूचनाहरू जम्मा गर्ने जिम्मेवारी क्लारिजले राजबहादुरलाई दिए । राजबहादुर आफूमातहत धेरै सहयोगी एजेन्टहरू तयार गरे । बिस्तारै सहयोगीहरूले राजबहादुरलाई काठमाडौँमै आएर सूचनाहरू दिन थाले । यी सूचना राजबहादुरले क्लारिजलाई दिइरहे ।
तिनताका तिब्बत नेपाल र भारतका प्रतिनिधिलाई मात्र खुला थियो । भारतले आफ्नो उत्तरी सीमामा राम्रो ध्यान नपु¥याएको क्लारिजको आरोप छ । यद्यपि, भारतका तत्कालीन गुप्तचर प्रमुख बीएन मल्लिकले सिक्किमको गान्तोक सहरमा सीआईएको गुप्तचरीबारे लेखेका छन् । त्यसबेला गान्तोकका कुनै पनि घर सीआईएबाट नजोगिएको र भारतीय गुप्तचर निकाय नै अलमल्ल परेको मल्लिकले उल्लेख गरेका छन् । ‘भारतलाई चिनियाँ दबाब झेल्नसक्ने बनाउनु’ सीआईएको एउटा लक्ष्य रहेको क्लारिजले पुस्तकमा उल्लेख गरेकै छन् । यसको अर्थ क्लारिजको भाषामा ‘भारतले जे गर्नुपर्ने हो’ त्यो सीआईएले गर्दै थियो ।
प्रथम आम निर्वाचन
तिब्बतबाट चिनियाँ जनमुक्ति सेना कमजोर नेपाल हुँदै भारत पस्न सक्ने हौवा देखाएर क्लारिजलगायत तत्कालीन सीआईए नेतृत्वले नेपालमा अड्डा जमाउन खोज्यो । नेपाली काङ्ग्रेसको सरकारले ‘बलियो नेपाल’ सुनिश्चित गर्ने क्लारिजले ‘देखे’ । त्यसैले नेपालको प्रथम आम निर्वाचनलाई सीआईएले आफ्नो पहिलो नेपाली ‘कोभर्ट एक्सन’ बनायो ।
चुनावको तयारी चल्दै थियो । तिनताका भारतका लागि अमेरिकी राजदूत रहेका इल्सवर्थ बङ्कर नेपालका लागि पनि राजदूत थिए । उनी दिल्लीबाट बेलाबेला नेपाल आइरहन्थे । यहाँ आउँदा उनले अन्य उच्च अधिकारीसँग भेट्थे र राजालाई फोन गरेकै हुन्थे । एक यस्तै भेटमा राजाले उनीसँग ‘चुनावी सहयोग’ मागे । बङ्करले भनेपछि त्यसबेला अमेरिकी सरकारले नाइँनास्ति गर्दैनथ्यो । त्यसैले राजाको मागबमोजिमको सहयोग लिएर क्लारिज राजदरबार गए ।
नेपाली काङ्ग्रेससँग क्लारिजले हिमचिम बढाइरहेको खबर राजा महेन्द्रकहाँ नपुग्ने कुरै थिएन । त्यसैले उनले बङ्करसँग सहयोगको याचना गरेको हुनसक्ने क्लारिजको अनुमान थियो । राजदरबारमा क्लारिजको चिनजान राजाका सैन्य सहचरी जर्नेल थापासँग थियो । उनैलाई भनेर क्लारिजले राजालाई भेटे । झमक्क साँझ परेको थियो । दरबारको पछिल्तिर ससानो कोठामा राजाले क्लारिजलाई भेटे । कोठामा चालिस वाटको बत्ती बलिरहेको थियो । यद्यपि, राजाले आफ्नो कालो सनग्लास लगाइरहेका थिए ।
राजा र क्लारिजको कुरा जमेन । कुरा बाझिने देखेपछि ‘सहयोग’ राखेको खाम टेबलमा राखेर क्लारिज बाहिरिन चाहे । राजाले खामलाई हात लगाएनन् । यो देखेर क्लारिज ‘नमस्कार’ भन्दै बाहिरिए । सीआईएको ‘सहयोग’ राजाले आफ्नो कुरा खाने दलहरूलाई बाँड्न चाहेको क्लारिजको बुझाइ थियो । तर, क्लारिज ढुक्क थिए । सीआईएको सहयोगले नेपाली काङ्ग्रेसले देशभरि नै आफ्नो प्रभाव बलियो पारिसकेको थियो ।
तोकिएकै मितिमा चुनाव भयो । हिमाल र पहाडबाट निर्वाचनको परिणाम आउन एक हप्ता लाग्यो । नेपाली काङ्ग्रेसले सरकार बनाउन सक्ने गरी मत ल्यायो । बीपी कोइराला प्रथम ‘जननिर्वाचित’ प्रधानमन्त्री हुँदै थिए । तर, क्लारिजलाई काठमाडौँ त्यति हर्षोल्लास नभएजस्तो लाग्यो । सबैतिर ‘राजा रिसाउलान्’ भन्ने मनोदशा रहेको उनको बुझाइ रह्यो । कोही पनि राजाको कोपभाजनमा पर्न चाहन्नथ्यो ।
त्यो अन्तिम भेट
संसद् पहिलो बैठक बसिसकेको थिएन । नयाँ सरकार बनिसकेको थिएन । एक रात क्लारिजको घरको ढोका कसैले ढक्ढक्याएको आवाज आयो । ढोकाबाहिर एक विश्वासपात्रसँगै बीपी कोइराला उभिएका थिए । विश्वासपात्रको हातमा एउटा सुटकेस थियो । घरको पालेले कोइरालालाई बाटोमा नरोकी खुरुखुरु भित्र पस्न दिएकोमा क्लारिजलाई अप्ठ्यारो पनि लाग्यो । हुनेवाला प्रधानमन्त्रीलाई पालेले नरोक्नु स्वाभाविक थियो ।
कोइराला निकै चिन्तित देखिन्थे । उनले हतारहतार राजाले आफू र आफ्नो दलको नेतृत्वलाई मारिनहाले पनि कम्तीमा पक्राउ गर्ने दरबारबाट सूचना पाएको बताए । दरबारमा कोइरालाको पारिवारिक चिनाजानी पनि भएको हुनाले क्लारिजले उनको भनाइमा अविश्वास गरेनन् । निर्वाचनको परिणाम अस्वीकार गर्दै राजाले प्रत्यक्ष निरङ्कुश शासन चलाउन चाहेको कोइरालाले बताए । यसपछि कोइरालाको विश्वासपात्रले सुटकेस खोले । त्यसमा दुइटा पुराना बेलायती मेसिनगन थिए । यसको अर्थ कोइराला अमेरिकाबाट हतियार सहयोग चाहन्थे । क्लारिजले माथि सोध्ने बताएर उनीहरूलाई बिदा गरे ।
क्लारिज तुरुन्तै हेडक्वाटरलाई खबर गर्न आफ्नो अफिसतिर लागे । उनले कोइरालाको पक्ष र विपक्षमा तर्कहरू राखेर सहयोगको माग गरेका थिए । यसपालि वासिङटनबाट ‘घटनामा मुछिन नचाहेको’ जवाफ आयो । क्लारिजले कोइरालाका विश्वासपात्रलाई त्यो जवाफ सुनाए । ती विश्वासपात्रबाट कुनै कुरा आएन । बीपी कोइरालाले पनि केही भनेनन् । धेरै पछि मात्र ती महत्वाकाङ्क्षी विश्वासपात्रले राजाको पक्ष लिएको खबर क्लारिजको कानमा प¥यो ।
राजाले केही गरेनन् । संसद्को बैठक बस्यो । सरकार पनि बन्यो । यसको खुसियालीमा एउटा भोजको आयोजना भयो । त्यसमा क्लारिज पनि गए । उनले प्रधानमन्त्री कोइरालासँग हात मिलाए । कोइरालाले धन्यवाद दिने शैलीमा केही भने । त्यसपछि उनलाई क्लारिजले कहिल्यै भेटेनन् ।
निर्वाचनपछि अमेरिकाले नेपालको लागि प्रथम पूर्णकालीन राजदूत पठाउने भयो । यता क्लारिजको नेपाल बसाइँको दिन पनि सक्कियो । १९६० को जनवरीमा उनलाई नयाँ दिल्लीस्थित उनका हाकिम ह्यारीमातहत रहेर काम गर्न भनियो । केही समयका लागि उनी सपरिवार अमेरिका फर्के । जहाजले अमेरिका छुँदै गर्दा उनको दिमागमा यस्तो कुरा खेलेको थियो रे – “नेपाल नौलो थियो । अन्तिमसम्म पनि सोभियत उपस्थिति भेटिएन, नेपालकै आन्तरिक गुप्तचर निकायसँग पनि जुध्नुपरेन ।”
सारमा, क्लारिजको आत्मवृत्तान्तमा निम्न तथ्य भेटिन्छ :
१. नेपालको कर्मचारीतन्त्र, सेना र प्रहरीमा सीआईएले एजेन्टहरू राखेको,
२. नेपालको प्रथम निर्वाचनमा सीआईएले ‘कोभर्ट एक्सन’ गरेको,
३. निर्वाचनमा नेपाली काङ्ग्रेसको विजय सीआईएको विजय साबित भएको,
४. निर्वाचनमा दरबारले पनि सीआईएको सहयोग लिएको,
५. नेपाली भूमिलाई तिब्बतको गुप्तचरी गर्न प्रयोग गरिएको,
६. भारतीय शासकहरूलाई चीनविरुद्ध सघाउन पनि सीआईए सक्रिय रहेको,
७. बीपी कोइरालालाई हतियार ‘सहयोग’ नगरेर संरा अमेरिकाले पञ्चायती व्यवस्थालाई समर्थन गरेको ।
Leave a Reply