महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ
- असार २५, २०८३
फ्लोरेन्स नाइटिङ्गेल थिइन् सेवाकी मूर्ति, त्यागकी प्रतिमूर्ति र करूणाकी देवी ।
अहिले अस्पतालहरू सफा र सुग्घर छन्, त्यहाँ साजबाज छन्, सबै सामग्रीहरू छन् । सुन्दर र सुरम्य नर्सहरू सफा र सुकिला पहिरनमा रोगीहरूको सेवामा तल्लीन रहन्छन् । उनीहरू सधैँ हँसिला, रसिला र फूर्तिला देखिन्छन् । उनीहरूको बोली मीठो छ, व्यवहार राम्रो छ, चालचलन झन् राम्रो छ । उनीहरूको प्रसन्न मुहार देखेर रोगीहरू आफूलाई धेरै आराम भएको ठान्दछन् ।
तर, उहिले अस्पतालहरू यस्ता थिएनन् । ती फोहोर, मैला र दूषित थिए । सर्वत्र दुर्गन्ध र दुर्दशा थियो । नर्सहरू थिए । तर, ती थिए चरित्रहीन र मतिहीन । उनीहरू प्रायः मद खाएर मग्न हुन्थे । उनीहरूको बोली रूखो थियो, व्यवहार अभद्र अनि चरित्र भ्रष्ट । नर्सको नाम नै बदनाम थियो ।
यसैबेला फ्लोरेन्स नाइटिङ्गेल आइन् । लन्डनमा विलियम एडवर्ड नाइटिङ्गेल र फेनी स्मीथ बस्थे । सन् १८२० मा उनी फ्लोरेन्समा जन्मिन् । अनि, सबैले उनलाई फ्लोरेन्स नाइटिङ्गेल भन्थे । उनी अति सुन्दरी थिइन् । मुहारमा ज्योति थियो, आँखामा मोती अनि चालमा तीव्र गति थियो । उनले आफ्ना पिताबाट धेरै भाषा सिकिन् । उनले इतिहास र दर्शन पनि सिकिन् । तर, सानैदेखि उनको हृदयमा करूणाको लहर उर्लेको थियो, पीडितप्रति उनको हृदयमा अशेष करूणा थियो ।
एकपल्ट सानी बालिका हुँदा उनले एउटा घाइते कुकुर देखिन् –बदमास ठिटाहरूले ढुङ्गा हानेर घाइते पारेका थिए । बालिका फ्लोरेन्सको हृदयमा करूणा जाग्यो । उनले त्यस कुकुरलाई घरमा लगिन्, गरम पानीले घाउ धोई पखाली गरिन्; अनि मलम–पट्टी लगाइन् । त्यस कुकुरले कृतज्ञतामा उनका कलिला हात चाटेको थियो । मानौँ, त्यसले भन्न खोजेको हो– ‘धन्यवाद छ है ! मेरी सानी प्यारी नर्स !’ यसबेला उनी दस वर्षकी थिइन् ।
नाइटिङ्गेलको जीवनका दुई पाटा थिए– एकातिर उनी धनाढ्य बाबुकी छोरी, उच्च समाजका सबै आनन्दहरू उपभोग गरिसकेकी थिइन् । अर्कोतिर गाउँका रुग्ण र दीनहीन मानिसहरूसित उनको हेलमेल थियो जसले उनलाई असाध्य माया गर्थे । उनले नर्स भएर रोगी र दीनहीनको सेवा गर्ने सङ्कल्प गरिन् ।
नर्सको तालिम लिनलाई उनले माता–पितासित अनुमति मागिन् । तर, यो सुन्नासाथ उनीहरू यसरी तर्से । मानौँ, उनलाई भयानक रोग लागेको हो । एक शिक्षित नारी अनि नर्स ? यो हुनै नसक्ने कुरो थियो । तर, उनले भनिन्, “रोगीको सेवा गर्नुजस्तो पवित्र पेसा अर्को छैन ।”
यसै बेला उनले प्रसिद्ध समाजसेविका एलिजावेथ फ्राइलाई भेटिन् । फ्राइ महिला कैदीहरूको सेवामा लागेकी थिइन् । फ्लोरेन्सको नर्स हुने विचार सुनेर बुढी भइसकेकी एलिजावेथ फ्राइले उनलाई आशीर्वाद दिइन् ।
सन् १८४४ मा नाइटिङ्गेलले नर्सको प्रशिक्षण लिन थालिन् । उनले जर्मनी, फ्रान्स, इटाली र ब्रिटेनका अस्पतालहरू निरीक्षण गरिन् र नर्सहरूको सेवा–भावना देखेर उनी प्रभावित भइन् । उनले केजवर्थमा नर्सको काम गर्न थालिन् ।
सन् १८५४ मा क्रिमियाको युद्ध छेडियो जसमा ब्रिटेन, फ्रान्स र टर्कीले रूसलाई पराजित गरे । घाइते सिपाहीँहरूको अवस्था अति दयनीय छ भन्ने कुरा अखबारहरूमा छापिन थाले । त्यही बेला फ्लोरेन्स नाइटिङ्गेलका एकजना साथी सिडनी हर्बटले उनलाई एक हुल नर्सहरू लिएर टर्कीको स्कुटारीमा जानु भनी आमन्त्रण गरे । उनले यो आमन्त्रण सहर्ष स्वीकार गरिन् । २१ अक्टोबर १८५४ मा उनी ३८ जना नर्सहरू लिएर इङ्गल्यान्डबाट हिँडिन् ।
सो¥ह दिनपछि उनी स्कुटारी आइपुगिन् । त्यहाँको अस्पतालको स्थिति अति नाजुक थियो । अल्मा र वालाक्लाभाको लडाइँमा पर्ने घाइतेहरू सयौँको सङ्ख्यामा ओइरिन लागे । फेरि इन्करमेनको लडाइँबाट पनि दुई–दुई सयको झुन्डमा घाइतेहरू आउन थाले । यो यात्रा रोगीहरूको निम्ति अति भयानक थियो । कतिजना बाटैमा मरे । त्यहाँ आइपुग्न चार दिन लाग्थ्यो, अब पन्ध्र दिन लाग्न थाल्यो । पथ दुर्गम थियो । यात्रा कठोर ।
अस्पताल एउटा जीर्ण र भत्केको घर थियो । खाटहरू लस्करै तेर्साइएका थिए । यत्रतत्र दिसा–पिसाब, विष्ठा, नालीले अस्पताल दुर्गन्धित थियो । पानीको अभाव थियो । बत्ती थिएन । यो पुरानो पाटीजस्तो अस्पताल विशाल थियो । तर, रोगी र घाइतेको ताँती अन्तहीन थियो । टेबल, कुर्सी, कुचो, झाडु, तौलिया, काँटा, चम्चा केही थिएनन् । मलमपट्टीको नाम–निशान थिएन । औषधिको अभाव थियो । रोगीहरूको यस अनन्त भिडलाई हेर्न केही मानिसहरू नियुक्त गरिएका थिए । तर, उनीहरूलाई अस्पतालको केही ज्ञान थिएन । केही डाक्टरहरू थिए । तर, यस असीम पीडा र वेदनाको अघि उनीहरू असहाय थिए ।
यही बेला फ्लोरेन्स नाइटिङ्गेल यहाँ आइपुगेकी थिइन् । उनले आफूसित तीस हजार पाउन्ड र अस्पतालका धेरै सामग्रीहरू लिएर आएकी थिइन् । तर, पैसा र सामग्रीभन्दा पनि अझ बहुमूल्य थोक उनले आफूसित ल्याइन् । त्यो थियो उनको दृढ सङ्कल्प । स्कुटारीको अवस्था देखेर जस्तै साहसी पनि भयभित हुन्थे । तर, फ्लोरेन्स नाइटिङ्गेलमा अदम्य उत्साह र साहस थियो ।
उनले पानीको प्रबन्ध मिलाइन् । त्यहाँ लुगा धुने चलन थिएन । उनले लुगा धुने कोठा बनाइन्† बोइलरहरू खडा गरिन अनि सिपाहीँका स्वास्नीहरू आएर लुगा धुन थाले । त्यसपछि उनले भान्सा–घर तयार पारिन् अनि रोगीहरूले मीठो मसिनो खान थाले । वार्डहरूमा गएर उनी घण्टौँ खट्थिन्, रोगीहरूलाई आफैँ हेर्थिन्, उनीहरूको पिर मर्का बुझ्थिन् । राति पनि उनी हातमा बत्ती लिएर हिँड्थिन् । सबैले उनलाई ‘लेडी विथ द ल्याम्प’ भन्थे ।
घाइतेहरू स्कुटारीमा ल्याएपछि डाक्टरले कसको बाँच्ने आशा छ कसको छैन हेर्थे । एक दिन डाक्टरले पाँच जना सिपाहीँहरूलाई ‘आशा छैन’ को पङ्क्तिमा राखेको उनले देखिन् । उनले भनिन्, “के म यिनीहरूको जिम्मा लिनसक्छु ?”
“सक्नुहुन्छ तर उनीहरूको बाँच्ने आशा छैन,” डाक्टरले भने ।
नाइटिङ्गेलले यी रोगीहरूलाई लगेर पलङमा राखिन्, उनीहरूको स्याहार सुसार गरिन् अनि खाना खुवाइन् । केही दिनमा उनीहरू होशमा आए र तङ्ग्रिन थाले ।
उनी आउनु अघि स्कुटारीमा बा¥ह हजार रोगीहरू थिए । फोहोर र मैलाले ४२ प्रतिशत मरे । उनले आएर ढल र नालको व्यवस्था गरिन्, पानी र सरसफाइको प्रबन्ध मिलाइन् । अनि त्यसपछि मृत्यु दर घटेर दुई प्रतिशत पुग्यो । सन्चो भएका रोगीहरूलाई किताब पढ्न लाउँथिन्, बेला–बखतमा भाषण दिन्थिन् । अनि त कति सिपाहीँहरूले रक्सी खान छोडे । पैसा बचाए अनि घर पठाए ।
रोगीहरूले उनको पूजा गर्न थाले । उनले नै गर्दा उनीहरूले नयाँ जीवन पाए । उनकै साहस र सेवाले गर्दा कतिपल्ट डाक्टरहरूले माया मारेका रोगीहरू पनि बाँचे । राती उनी बत्ती लिएर हिँड्दा उनको छाया रोगीहरूका तकियामा पथ्र्यो । रोगीहरूले त्यही छायालाई म्वाइँ खाएर आफ्नो कृतज्ञता प्रकट गर्थे ।
यसरी उनी रोग, भोक र मृत्युसँग साहसपूर्वक जुध्दै थिइन् । तर, देशमा सानो चित्तका केही मानिसहरू उनको धर्मको कुरा लिएर चेवा चर्चा गर्दै थिए । उनी कुन धार्मिक संस्थाकी हुन् ? एउटाले उत्तर दियो– उनको एउटै धर्म छ, त्यो हो मानव–सेवाकर्म । अनि, रानी भिक्टोरियाले नाइटिङ्गेलको धूमधामले सराहना गरिन् अनि निन्दकहरूको मुखमा बुजो लगाइदिइन् ।
अन्तमा, युद्ध थामियो । अस्पतालको अन्तिम रोगी घर हिँडेपछि उनी पनि इङ्गल्यान्ड फर्किन् । त्यहाँ मानिसहरूले उनलाई ‘राष्ट्रिय नायिका’ घोषित गरे र भव्यरूपमा स्वागत गरे ।
फ्लोरेन्स नाइटिङ्गेल विश्व–प्रसिद्ध नायिका भइन् । तर, प्रसिद्धिका निम्ति उनले काम गरेकी थिइनन् । जीवनभर जनसेवाको साधनामा लागेर उनले बिहे पनि गरिनन् ।
१९०६ मा उनलाई महारानी भिक्टोरियाले दर्शनभेट दिइन् । यो दिन उनको निम्ति अति खुसीको दिन थियो । अब क्रिमियाकी यी अभिनेत्री बुढी भइन् । अस्सी वर्षको उमेरमा उनले दृष्टि हराइन् । १९०७ मा उनलाई देशको सर्वोच्च उपाधि ‘अर्डर अफ मेरिट’ प्रदान गरियो । त्यसबेला उनले यति मात्र भन्न सकिन् – ‘कस्तो कृपा ! कस्तो कृपा ।’
तीन वर्षपछि उनी थला परिन् । केही दिनसम्म दीप–शिखा धिपधिप गर्दै बलिरह्यो । अन्तमा, १३ अगष्ट १९१० मा झ्याप्प निभ्यो ।
स्रोत : ‘तीस प्रख्यात प्रतिभा’ बाट
Leave a Reply