भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
माओवादीको नेतृत्वमा बनेको नेकासमेतको सरकारले जन्मसिद्धको आधारमा विदेशीलाई पनि वंशजको आधारमा नेपाली नागरिकता दिने सरकारको निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि भारतीय शासक, भारतीय दलाल र भारतीय नागरिकहरू खुसी भएका छन् । नागरिकता विधेयक प्रमाणीकरण भएपछि विशेषगरी नेपाली नागरिकता लिनेहरू तराईमा बसेका भारतीय नागरिकहरू अधिक रहेका छन् । यतिबेला पर्सा, सर्लाही, चितवन, मोरङ, सिराहा आदि जिल्लामा जन्मको आधारमा नेपाली नागरिकता लिनेहरूको भिड रहेको देखिन्छ । भारतीय नागरिकहरूले जन्मको आधारमा नेपाली नागरिकता लिएपछि उनीहरू भविष्यको ढोका खुल्यो भनी खुसी भएका छन् ।
नेपाल–भारत खुला सीमा रहेको कारण वर्षाैँदेखि व्यापार व्यवसाय गर्न र गराउन भारतीय नागरिकहरू हरेक दिन नेपाल पसिरहेका छन्; बसिरहेका छन्, व्यापार तथा व्यवसाय गरेर नेपाली भूमिमा जीवन बिताइरहेका छन् । वर्षाैँदेखि व्यापार व्यवसाय गर्न बसिरहेका विदेशी नागरिकहरू यही जन्मे, यही हुर्के । आज ती नै नागरिकहरूले जन्मको आधारमा नेपाली नागरिकता लिइरहेका हुन् । जन्मको आधारमा विदेशीलाई नेपाली नागरिकता दिँदै गएपछि संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको भारत र चीनजस्ता छिमेकी देश भएको नेपालमा नेपालीहरूको स्थिति के होला ?
विदेशी नागरिकहरूलाई सरकारले आज नेपाली नागरिकता दिएर खुसी त बाँड्ला तर त्यो खुसीसँगै चार पाँच दशकपछि नेपालको अस्तित्वमा आँच पुग्दैन कसरी भन्ने ! अनि त्यसबेला के रुँदैमा देश रहन्छ ? आज खुसी बाँडेर भोलि देशै रहँदैन भने के गर्ने ? यसरी नागरिकता लिनेहरूको सङ्ख्या अहिले पो २०/२२ लाखको होला । यो सङ्ख्या त समयसँगै बढ्दै जानेछ । त्यो सङ्ख्या पछि करोडौँ पुग्नेछ । त्यतिञ्जेल तराई क्षेत्रका अधिकांश क्षेत्रमा नेपाली नागरिकता लिएका भारतीय नागरिकहरू वडाध्यक्षदेखि मन्त्री बन्ने छन् । स्थानीय तह, प्रदेश र केन्द्र या सङ्घमा तिनीहरूको बहुमत हुनेछ । केही सीट निर्वाचित हुँदा त तराई टुक्राउने धम्की दिने मधेसवादी नेता तथा सांसदहरू भोलि बहुमत जितेपछि के भन्लान् र के गर्लान् ? यसले थाहा हुन्छ, देशका शासकहरू दूरदर्शी छैनन्; उनीहरू विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चल्छन्; उनीहरू नेपाल र नेपालीको हितभन्दा विदेशी र विदेशको स्वार्थ हेर्छन् । यो देशको लागि खतरको सङ्केत हो ।
भारत सरकारले नेपाली भूमि कालापानीमा रहेको भारतीय सेना फर्काएको छैन । लिपुलेक, लिम्पियाधुराजस्ता नेपाली भूमिमा भारतीय पक्षले अहिले पनि आफ्नो दाबी छोडेको छैन । नेपाली भूमि डुवान पर्ने गरी नेपाल–भारत सीमामा भारतीय पक्षले एकतर्फीरूपमा बाँध तथा तटबन्ध बनाउन छोडेको छैन । सीमा स्तम्भ सारेर नेपाली भूमि अतिक्रमण गर्ने काम भारतले छोडेको छैन । यी सबै घटनाक्रम र परिस्थितिले भारतले नेपालमाथि आँखा गाडेकै हो; भारतले नेपालमा थिचोमिचो गरिरहेकै हो । यो सार्वभौम देशमाथिको हस्तक्षेप हो । तर, हाम्रा शासकहरू भारतीय शासकहरूसामु पाउ मोल्छन्, झुक्छन् र नेपाल र नेपालीलाई अहित हुने तर भारतलाई फाइदा हुने काम गर्न पछि पर्दैनन् । यो नेपाल र नेपालीको लागि दुर्भाग्यपूर्ण छ । यसले देशमा दूरगामी असर पु¥याउँछ ।
Leave a Reply