भदौ २३ मा निहत्था जनताको हत्या र भदौ २४ मा देशभरि आगजनीबारे
- असार २२, २०८३
भक्तपुर, १३ असार । राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका पदाधिकारीहरूले भक्तपुर नगरपालिका र नगरपालिकाद्वारा सञ्चालित अस्पताल तथा कलेजहरूको बुधबार अध्ययन अवलोकन भ्रमण गर्नुभयो ।
सङ्घीय संसद् राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईको नेतृत्वमा समितिका सदस्यहरूले प्रदेश तथा स्थानीय तहको कानुन निर्माण प्रक्रिया र भक्तपुर नगरपालिकाको असल अभ्यासबारे अनुभव आदानप्रदानको उद्देश्यले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गर्नुभएको हो ।
टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभयो ।
कार्यक्रममा सभापति राईले संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापना गर्ने बाटोमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि अग्रसर भएको बताउँदै सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सफल तुल्याउन स्थानीय तहहरूलाई अधिकार सम्पन्न पार्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेज र ख्वप अस्पताल भ्रमण गर्ने अवसर पाएकोमा खुसी प्रकट गर्दै उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा सराहनीय काम गरिरहेको बताउनुभयो ।
भक्तपुरको विकासको मोडल प्रशंसनीय भएको र भक्तपुर अहिले सबैको लागि अध्ययनको थलो भएको धारणा राख्दै सभापति राईले भ्रष्टाचारशून्य र पारदर्शिता नै भक्तपुर नगरको विशेषता भएको बताउनुभयो ।
उहाँले स्थानीय तहले आफ्नो अधिकार र कर्तव्य पहिचान गरी संविधानअनुरूप ऐन, नियम र कानुनहरू निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको सङ्क्षिप्त जानकारी दिँदै नेपालको संविधानले कल्पना गरेको समाजवादउन्मुख व्यवस्था स्थापनामा भक्तपुर नगरपालिकाले जोड दिँदै आइरहेको बताउनुभयो ।
उहाँले विकास निर्माणको काम गर्ने स्थानीय तह हुँदाहुँदै संसद् विकास कोषको व्यवस्था उचित नभएको धारणा राख्नुभयो ।
नेपालमा सङ्घीयता कार्यान्वयनका चुनौतीहरूबारे आफ्नो धारणा राख्दै उहाँले स्थानीय तहलाई सङ्घ र प्रदेशले आफ्नो एकाइ जस्तो व्यवहार गर्नु यथोचित नभएको बताउँदै संविधानको भावनाअनुरूप स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने विचार राख्नुभयो ।
सांसदहरूद्वारा व्यक्त जिज्ञासामाथि प्रस्ट पार्दै उहाँले भक्तपुर नपाले आवश्यक ऐन, नियम, कार्यविधि र निर्देशिका तयार गरी कार्यान्वयन गर्दै आइरहेको जानकारी गराउँदै हालसम्म २५ वटा ऐन, ३ वटा नियम, ६ वटा विनियम, १३ वटा कार्यविधि, ९ वटा निर्देशिका र १ वटा नीति गरी कूल ५६ वटा कानुन निर्माण गरिसकेको जानकारी गराउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पहल भइरहेको बताउँदै उहाँले विश्वविद्यालय स्थापना गर्न नगरपालिकाले भौतिक पूर्वाधारहरू निर्माणको क्रममा रहेको अवगत गराउनुभयो ।
नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न स्वीकृति प्राप्त भएको खण्डमा सस्तोमा मेडिकल कलेज स्थापना गरी एमबीबीस अध्यापन गराउने लक्ष्य रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले सक्षम स्थानीय तहलाई विश्वविद्यालय स्थापना गर्न दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा विधायन व्यवस्थापन समितिका सदस्यहरूले नगर प्रमुख प्रजापतिसमक्ष स्थानीय तहको कानुन निर्माणमा देखिएका चुनौती, सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय तथा अन्तरसम्बन्ध, स्थानीय तहको काम, कर्तव्य र अधिकार, सङ्घले कानुन निर्माणमा ढिलाइ गर्दा स्थानीय तहमा पर्न गएको असुविधा, ख्वप विश्वविद्यालय सम्बन्धनका चुनौती आदिबारे आफ्नो जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भक्तपुर नगरपालिकाले कानुन निर्माण गर्दा देखिएका चुनौतीबारे बोल्नुभएको थियो भने समितिका उपसचिव नुमराज खनालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङलगायतको स्थलगत अवलोकन गरी ती संस्थाहरूको इतिहास, स्थापनाको उद्देश्य, त्यहाँबाट प्रवाहित सेवा सुविधा, साङ्गठनिक स्वरूप, विद्यार्थी भर्ना प्रक्रिया, शिक्षक तथा कर्मचारी विवरण र कलेजहरूमा अध्ययापन भइरहेको विषय तथा शुल्क संरचनाबारे विस्तृतमा जानकारी लिएको थियो ।
उक्त अध्ययन भ्रमणमा समितिका सभापति जयन्ती देवी राईसहित उदयबहादुर बोहरा, खिमलाल देवकोटा, गङ्गाकुमारी बेल्वासे, तारामान स्वार, देवेन्द्र दाहाल, नारायणदत्त मिश्र, भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ, राधेश्याम पासवान, सुरेशकुमार आलेमगर, अनिता देवकोटा, समितिका उपसचिव नुमराज खनाल र सङ्घीय सचिवालयका अधिकृत कर्मचारीलगायतको उपस्थिति थियो । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी र भक्तपुर नपाका कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।
प्रमुख प्रजापतिले सांसद राईलाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशन तथा कलेजका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।
Leave a Reply