भर्खरै :

भविष्य खाडलमा पार्ने ममता

भविष्य खाडलमा पार्ने ममता

म कुरा गर्दै छु २१ औँ शताब्दीका अभिभावकको आफ्नो सन्तानप्रतिको माया/ममताको ! हुन त आफ्नो सन्तानप्रति आमाबुबाको माया अपरम्परा हुन्छ । तर, आज भोलिको आमाबुबाको सन्तानप्रतिको ममतालाई अतिवादसँग दाँज्न मलाई कति पनि अप्ठ्यारो हुनेछैन !
म आफूले भोगेका र देखेका केही कुराहरू यो लेखमार्फत व्यक्त गर्ने प्रयास गर्दै छु ! सम्पूर्ण त होइन । तर, काठमाडौँ उपत्यकालाई आधार मान्ने हो भने अधिकांश अभिभावकको सन्तानप्रतिको माया, मायामात्र नभएर ती बालबालिकाहरूको भविष्य खाडलमा पर्ने एउटा बाटोको रूपमा परिणत हुँदै गरेको हामी अनुभव गर्न सक्छौँ ! आमाबुबाको अतिवादी माया, बालबालिकाहरूभित्र रहेका रचनात्मक व्यक्तित्व, अतिरिक्त क्रियाकलापकर्ता, व्यवहारिकता हराउँदै जानुको मुख्य कारण हो !

प्रविधिको अत्यधिक र असन्तुलित प्रयोग
महान् वैज्ञानिकहरूको मेहनत र लगनको कारण समयसँगै प्रविधिको पनि विकास हुँदै गएको हामी प्रत्यक्ष देख्न सक्छौँ ! प्रविधिको विकास समाजको उन्नतिको निम्ति एकदम महत्वपूर्ण तत्व हो ! तथापि, यसको सदुपयोग गर्न नजान्दा अहिलेको पुस्तामा यसको फाइदाहरूभन्दा पनि बेफाइदाहरू बढी देखिएका छन् !
पछिल्लो समय कोरोनाको कारण देशमा निम्तिएको बन्दाबन्दीको कारण समाजमा मोबाइल, कम्प्युटरजस्ता यन्त्रहरूको प्रयोग अत्यधिक बढेको थियो ! यी चिजहरूको असर अहिले पनि बालबालिकाहरूमा देख्न सकिन्छ ! आजभन्दा ८/१० वर्ष अगाडिको समयमा फर्केर हेर्ने हो भने टोल टोलका खुला ठाउँहरू भरिभराउ हुन्थे ।
विद्यार्थीहरू विद्यालय सकाएर विभिन्न खेलहरू खेल्ने गरेको देखापथ्र्यो ! तर, आजको दिनसम्म आइपुग्दा ती ठाउँहरू एउटा बाँझो खुला जमिनको टुक्राको रूपमा सीमित रहन पुग्यो ! यी सबैको कारक तत्व भनेको मोबाइल, कम्प्युटरहरू नै हुन् !
माथिका अनुच्छेदहरूमा मैले अभिभावकको अतिवादी मायाको विषयमा केही उल्लेख गरेको थिएँ ! अधिकांश अभिभावकहरूले आजभोलि आफ्नो सजिलोको निम्ति पनि आफ्ना नवजात शिशुहरूलाई पनि मोबाइल, कम्प्युटर देखाउने गरेको हामीले देख्न सक्छौँ ! उदाहरणको लागि यदि कुनै बच्चाले खाना खान मानेन भने उसलाई मोबाइल देखाएर खाना खुवाउने गरिन्छ जस कारण उक्त बच्चाको मस्तिष्कमा मोबाइलको प्रतिबिम्ब छापिसकेको हुन्छ र उसले अधिकांश समय मोबाइल खोज्दछ ! कुनै बच्चा रोएको खण्डमा उसलाई मोबाइल देखाएर फकाउने गरिन्छ ! यस्ता क्रियाकलापहरू सिधा सिधा बाल–बालिकाहरूको भविष्यमाथिको खेलबाड नै हो ! जब आफ्नो सहजताको निम्ति अभिभावकले आफ्ना सन्तानहरूलाई मोबाइल दिन्छन् तब उनीहरूले एकपटक पनि यो सोच्दैनन् कि मोबाइलको कारण उनीहरूका बालबालिकाहरू दिन प्रतिदिन मानसिक र भावनात्मकरूपमा उनीहरूबाट टाढिँदै छन् ! यसकारण, ती बालबालिकाहरू भित्र रहेका कलात्मक, रचनात्मक, सामाजिक व्यक्तित्व विस्तारै विलिन हुँदै गएका छन् !
विज्ञहरूका अनुसार मोबाइलबाट निस्कने एक किसिमको विकिरणले सिधा बाल–बालिकाहरूको मस्तिष्कमा असर पर्दछ, जसकारण जसले अत्यधिक मोबाइलजस्ता यन्त्रहरू चलाउने गर्दछन् त्यस्ता बाल–बालिकाहरूको मस्तिष्कको विकासमा बाधा पर्दछ ! यसको मतलब यो पक्कै पनि हैन कि, हामीले प्रविधिको प्रयोग गर्नु हुन्न ! तर, हामीले एउटा बिर्सनै नहुने कुरा भनेको “धेरै भयो भने उपचारको रूपमा प्रयोग हुने औषधि पनि विषमा परिणत हुन्छ !” अत्यधिक मोबाइल चलाउनुको कारणले कतिपय बाल–बालिकाहरूले सानै उमेरमा मानसिक सन्तुलन गुमाउन परेको भिडियोहरू हामीले सामाजिक सञ्जालहरूमा देखिरहेका हुन्छौँ ! त्यसैले हामीले कुनै पनि चिज सन्तुलितरूपमा प्रयोग गर्न र गराउन पर्दछ !

व्यवहारिक र सामाजिक क्रियाकलापबाट टाढा
आज भोलिका बाल–बालिकाहरूमा हामी व्यवहारिकताको कमि देख्न सक्दछौँ, उनीहरूमा समाज र सामाजिक क्रियाकलापप्रति चासो नदेखाउने प्रवृत्ति बढ्दै गएको हामी अनुभव गर्न सक्दछौँ ! यदि यी चिजहरूलाई अहिले नै नियन्त्रण नगर्ने हो भने, भविष्यमा देशले ठुलो नोक्सानी खेप्नुपर्ने छ !
बाल–बालिकाहरूमा व्यवहारिकताको कमी हुनु र समाजप्रति उनीहरूले चासो नदेखाउनुमा कतिपय ठाउँहरूमा विद्यालय जिम्मेवार छन् भने कतिपय ठाउँहरूमा आजका अभिभावकहरूको अतिवादी माया जिम्मेवार छन् ! आजको दिनमा विद्यालयहरूले अध्ययन अध्यापन गराउने तरिकाले विद्यार्थीहरूलाई अरू केही नभई किताबी कीरामात्र बनाउनेछन् ! विद्यालयहरूमा प्रयोगात्मक शिक्षालाई जोड नदिने र पाठ्यपुस्तक आधारित शिक्षामा ध्यानकेन्द्रित गराउने प्रचलन बढ्दो छ ! यसको फलस्वरूप आजका यी विद्यार्थीहरू भोलिको दिनहरूमा जब अध्यापन सुकाएर पेशागतरूपमा काम गर्ने समयमा उनीहरू कमजोर हुने सम्भावना हुने गर्दछ ! जसकारण भविष्यमा ती विद्यार्थी र देश दुवैले नोक्सानी खेप्नुपर्नेछन् !
अभिभावकको सन्दर्भमा हेर्ने हो भने, कति विद्यालयहरूले विद्यार्थीहरूलाई व्यवहारिक र प्रयोगात्मक शिक्षाको निम्ति शारीरिक काम तथा क्रियाकलापहरूको आयोजना गर्दा अभिभावकहरूले टिप्पणी र विरोधसमेत गरेको देखिएका छन् ! उनीहरू यतिसम्म भन्ने गर्छन् कि, “हामीले हाम्रो सन्तानलाई विद्यालय पढाउनको लागि पठाएका हौँ, कुनै काम गराउन पठाएका होइनौँ !” यो पनि अभिभावकहरूको अतिवादी मायाको एउटा उदाहरण हो ! विद्यालय भनेको पाठ्यपुस्तक मात्र पढ्ने ठाउँ नभई व्यवहारिक, प्रयोगात्मक, सामाजिक, अतिरिक्त ज्ञान पनि सिक्ने ठाउँ हो भनी सम्पूर्ण अभिभावकहरूले बुझ्नु पर्दछ ! विद्यालयहरूले पनि पाठ्यपुस्तकमा मात्र केन्द्रित नभइकन अन्य किताबहरू पनि पढाउने र विभिन्न किसिमको ज्ञानहरू दिने क्रियाकलापहरू पनि सञ्चालनमा ल्याउनुपर्दछ !
अन्ततः कुनै पनि चिजको एउटा सीमा हुन्छ भनेर हामी सबैले मनन गर्नुपर्दछ ! अभिभावकहरूले पनि यदि आफ्नो बालबालिकाहरूको भविष्य राम्रो बनाउने हो भने अतिवादी मायालाई त्यागेर सन्तुलितरूपमा सन्तानहरूलाई हुर्काउनुपर्दछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *