भर्खरै :

दुईदिने लेखा परीक्षण तथा चौमासिक प्रतिवेदन तयार गर्ने तालिम उद्घाटन

दुईदिने लेखा परीक्षण तथा चौमासिक प्रतिवेदन तयार गर्ने तालिम उद्घाटन

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नपाको आयोजनामा आजबाट सुरु भएको सहकारी संस्थाका प्रतिनिधिहरूलाई दुईदिने लेखा परीक्षण तथा चौमासिक प्रतिवेदन तयार गर्ने तालिमको सोमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाले विद्यालय, कृषि, सहकारीलगायतका क्षेत्रमा समयसापेक्ष तालिमहरू सञ्चालन गर्दै त्यहाँ कार्यरत जनशक्तिलाई योग्य र निपुण बनाउने काममा जोड दिँदै आएको बताउनुभयो ।
आधुनिक चीनको जग सहकारी भएको बताउँदै उहाँले सहकारीले विकासको रूप लिँदै चीन आजको अवस्थासम्म आइपुगेको बताउनुभयो । सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उहाँले धेरै लोभमा काम गर्दा संस्था डुब्न सक्नेतर्फ सचेत पार्नुभयो ।
सहकारीकर्मीहरू आफ्नो काममा दक्ष र योग्य भए जस्तोसुकै चुनौती सामना गर्न सहजता हुने बताउँदै उहाँले आर्थिक कारोबार हुने क्षेत्रमा जोखिम पनि धेरै हुने हुँदा संवेदनशील भएर काम गर्नुपर्ने धारणा राख्नुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहकारीमा वित्तीय अनुशासन कायम गर्न लेखा परीक्षण तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
आर्थिक समितिका सदस्य पुरुषोत्तम तमखुले सहकारी सञ्चालकहरूले सहकारीमा जम्मा भएको रकमलाई परिचालन गर्दा सहकारी संस्थाहरूमा सङ्कट निम्तिएका बताउनुभयो ।
कार्यक्रममा आर्थिक समितिका सदस्य नारायणप्रसाद त्वानाबासु र तालिमका सहजकर्ता तुल्सीहरि प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *