भर्खरै :

ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा शिक्षक भेला

ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा शिक्षक भेला

भक्तपुर, १९ असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा साउन २ र असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको संस्मरणमा शिक्षक भेला भयो ।
भेलामा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले प्रतिनिधिसभाका २७५ सांसदमध्ये १११ जनाको काठमाडौँ उपत्यकामा घर भएको सार्वजनिक भएको प्रसङ्ग उल्लेख गर्दै कतिपय शासक पार्टीका अधिकांश सांसदहरू मन्त्री भइसकेका छन्, मन्त्री भइसकेका अधिकांशको काठमाडौँमा घर र गाडी कसरी भयो ?, मन्त्रालयको बजेटबाट निश्चित प्रतिशत कमिसन मन्त्रीलाई दिइने पनि पुरानो चर्चा भइसकेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “शासक पार्टीहरूलाई २०१५ सालको चुनावदेखि नै साम्राज्यवादी र विस्तारवादीहरूले पैसा सहयोग गरेको सार्वजनिक भइरहेको छ, एमाले र माओवादीको कम्युनिस्ट नामको दाबी झूटो हो । यी दुवैको सिद्धान्त र व्यवहार काङ्ग्रेसको जस्तै छ । यसकारण, नेपाली जनता एमाले र माओवादीलाई भाइ काङ्ग्रेस भन्छन् । पुँजीवादी प्रजातन्त्र पक्षधरहरूले नयाँ पार्टी दाबी गर्नुको औचित्य छैन ।”
अमेरिकी साम्राज्यवादले दक्षिण कोरियामा बी–५२ युद्धक जहाज र ५० ओटा मिसाइल बोक्ने क्षमता भएको पन्डुबी जहाज तैनाथ गरी कोरियालाई प्रायःद्वीपमा तनाव पैदा गर्दै छ भन्दै सांसद सुवालले कोरियाली जनताको साम्राज्यवादविरोधी सङ्घर्षको संसारका न्यायप्रेमी जनताले समर्थन गरेका छन्, हिन्द प्रशान्त रणनीति, एमसीसी सम्झौता, एसपीपी साझेदारी लगायत अमेरिकी सैन्य मोर्चालाई संसारका न्यायप्रेमी जनताले विरोध गर्दै छन् भन्नुभयो ।
उहाँले देशका शासक नेता र दलहरू भ्रष्टाचारमा लिप्त भएकै कारण देश उठ्न नसकेको भ्रष्टाचारका उदाहरणहरू दिँदै नयाँ पुस्तालाई शिक्षकहरूले सचेत र सङ्गठित बनाई देशलाई जोगाउन आग्रह गर्नुभयो ।
पुराना शासकहरू भ्रष्ट भएर कतिपय जेलै पुग्न थालेका छन् भन्दै उहाँले नयाँ शासक दलले पनि सत्तामा पुगेको छोटो समयमै गिटी उद्योगबाट अर्बाैँ कमिसन उठाएको चर्चा गर्नुभयो ।
चुनावको बेला पूर्व प्रम बाबुराम भट्टराईले बुढी गण्डकी जलविद्युत् आयोजनामा शासक नेताहरूले अर्बाैँ भ्रष्टाचार गरेको प्रमाण आफूसँग भएको भनेर बोलेका थिए† तर अहिले उही भ्रष्टाचारहरूसँग मिलिरहेका छन् भन्दै सांसद सुवालले ललिता निवास प्रकरणमा इमानदारीका साथ कारबाही अगाडि बढे पूर्वप्रधानमन्त्रीहरू तानिनुपर्छ भन्नुभयो ।
भारतको आशीर्वादमा सत्तारोहण गरेका शासकहरू भारतले खुलेआम नेपालको सिमाना मिचेको देखे पनि बोल्न सक्दैनन् भन्दै उहाँले भारतकै सहयोगमा उनीहरू चुनाव जितेकाले बोल्न नसकेको ठोकुवा गर्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरका जिल्लाध्यक्ष गोविन्द दुवालले तत्कालीन अवस्थाको चित्रण गर्दै पार्टीले चलाएको मोहियानी हक जोगाउने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनकै कारण आजको भक्तपुर बनेको कुरा नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ जनताको बचत हिनामिना गर्ने भ्रष्टहरूलाई त्यसबेला कारबाही गर्नु चानचुने विषय थिएन । भ्रष्टहरूविरुद्ध दिनरात भनिएको थिएन । चोक गल्ली सडकदेखि खेत खेतमा पुगेर कानुनी र गैरकानुनी सङ्घर्ष गरेर किसानको मोहियानी हक कायम गर्न सफल भएको थियो ।”
भेलामा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनबाट प्रेरित भई हामी आफूहरू र हामीले नयाँ पुस्तालाई भ्रष्टाचारविरुद्ध सचेत पार्न सके मात्र भेला सार्थक हुनेछ भन्दै भ्रष्टहरू शिक्षा क्षेत्रमा पनि भ्रष्टाचार गर्छन्† भ्रष्टाचार आर्थिक विषय मात्र नभई नैतिक आचार पनि शुद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
भेला आयोजक जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *