साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
नेपालको भूमि पनि आफ्नो दाबी गर्न नसक्ने, भन्न डराउने कस्तो सरकार ? कस्ता नेताहरू ? नेपाली भूमि र नेपाली जनताको हित छोडेर परदेशको गुणगान गर्ने र हित खोज्ने दल कसरी प्रजातन्त्रवादी वा देशभक्त हुनसक्छ ? मुलुक जोगाउन नलाग्ने, ठूलो शक्ति राष्ट्रले हस्तक्षेप गरे पनि दबाब दिए पनि भूमि डुबानमा पारे पनि टुलुटुलु हेरेर बस्ने दल र दलको सरकारले के मुलुकको प्रगति गर्ला ? देश र जनताप्रति माया नहुने सरकारको भरमा परेको हुँदा देश जहिल्यै पछि परेको हो । जानाजान नेपालमा भइरहेको भूमि अतिक्रमण र डुवानबारे नेका र नेकाको सरकार किन कहिल्यै बोल्दैन ? अनि क्रान्तिको उद्घोष गर्ने माओवादी केन्द्रले त बोल्नुपथ्र्याे नि ? के माओवादी केन्द्रले नेकाको खोल ओढेर पनि देश र जनताको भलो हुन्छ ? नेका नेपाल र नेपालीको दल हो कि भारत र भारतीय शासकवर्गको ?
नेपाली भूमि अतिक्रमणबारे स्थानीय किसानहरूले बेलाबखत विरोध गरेकै हुन् । अतिक्रमित भूमि फिर्ता गराउन राजधानीमा प्रदर्शन गरे, सिंहदरबार घेरे र सरकारलाई खबरदारी गरे । तर, सत्ताको निम्ति तँछाडमछाड गर्ने सरकारहरू भूमि अतिक्रमण भए पनि मौन बसे या बेखबर भएर बसे । हो, कम्युनिस्ट र देशभक्त दलहरूले सीमा अतिक्रमण, विदेशी हस्तक्षेप र दबाबको विरोध गर्नुपर्छ । कतिले पार्टी स्थापनादेखि नै सीमा अतिक्रमणको विरोध गरिरहेको छ । तर, यो जिम्मेवारी प्रजातन्त्रवादीहरूको पनि हो । आश्चर्यको विषय त दस वर्ष ‘जनयुद्ध’ गर्ने माओवादी केन्द्रले भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध नगर्नु हो । बरु माओवादी केन्द्रले भारतीय शासकलाई खुसी हुने खालको गतिविधि ग¥यो ।
देश सानो होस् या ठूलो हरेकको आ–आफ्नो अस्तित्व हुन्छ । सानो मुलुक हुँदैमा कुनै शक्ति राष्ट्रको अधीनमा या उसको उठबसमा बस्ने होइन । शक्ति राष्ट्रको दबाबमा रहेर नेपाल कहिल्यै आत्मनिर्भर हुनेछैन । समृद्ध मुलुक बन्दैन । नेपाल परनिर्भर भइरहनुको कारण नेपाल सरकारहरू भारतको उठबसमा बस्नु हो । भारतको इसारामा नेपाल सरकार अघि बढिरहनु हो । नेपाल र भारतको भूमि विवाद अन्त्य गर्नुपर्छ । भूमि विवादमा अल्झेर नेपाल–भारतबिचको सम्बन्ध किन जहिल्यै चिसो बनाइराख्ने ? नेपालको भूमि विवाद सुल्झाएर विवाद साम्य पार्नेतर्फ सरकार कहिले अघि बढ्ने हो ? नेपाल र नेपाली जनताको हित छोडेर, भारत र भारतीय शासकहरूको स्वार्थ खोजेर, भारतीय शासकवर्गको पछि लागेर किन ठूला दल र शासक दलहरू किंकर्तव्यविमूढ हुने ? प्रजातन्त्र स्थापना भएको यतिका दशक बितिसक्दा पनि नेपाल गरिबको गरिब बनिरहेको छ, जहिल्यै अरूको भरमा परिरहेको छ ।
भारतले नेपाल सरकारको कमजोरीमाथि फाइदा लिइरहेको छ । सप्तरीको तिलाठीमा भारतीय पक्षले जबरजस्ती बाँध बाँध्ने धृष्टता गर्नु यसको उदाहरण हो । भारतीय पक्षले नेपाली भूमिमा खोला रोक्ने गरी बाँध बाँध्नु हदैसम्मको बेइमानी हो । स्थानीय जनता टुलुटुलु हेरेर बस्न सकेनन् । आफ्नो ज्यानको बाजी राखेर आफ्नो टाउको फोडे पनि स्थानीय किसानले बाँध बनाउन रोके र भत्काए । सरकारले गर्नुपर्ने काम स्थानीय जनताले गरे । यो स्थानीय किसानहरूको बहादुरी हो । उनीहरूले देशभक्तिको परिचय दिए । यसरी अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत अन्यत्र बनाइएका बाँध तथा तटबन्धहरू भत्काउन सरकार अघि बढ्नुपर्छ, जनतामा प्रेरणा जगाउनुपर्छ । नेपालको भूमि सुरक्षा गर्न ज्यानको बाजी राखेर लड्ने किसान र युवाहरूको साहसपूर्ण कामको प्रशंसा गर्नुपर्छ ।
स्थानीय किसानले रोक्न सक्ने बाँध नेपाली सेना या सरकारले किन रोक्न सक्दैन, भत्काउन सक्दैन ? त्यतातर्फ चासो नै राखिएन । स्थानीय किसान नजागेका, रोक्न नपुगेका भए भारतीय पक्षले जबरजस्ती या बलको भरमा बाँध बनाएरै छाड्थ्यो र नेपाली भूमि डुवान पारेरै छाड्थ्यो । विगतमा बनाइएका लक्ष्मणपुर, महलीसागर, रसियावाल बाँध तथा तटबन्धहरू पनि रोक्न पहल गरिएको भए रोकिन्थ्यो या अरू बनाउन पछि हट्दथ्यो । सरकारको काम विदेशी शक्ति राष्ट्रलाई आफ्नो स्रोत र साधन सुम्पेर पोस्ने होइन, पोसेर खुसी पार्ने होइन । भारत नेपालको दाजु होइन, छिमेकी देश हो । नेपाललाई भारतको प्रान्त सम्झिने भारतीय शासकहरूको गलत नियत फेर्नैपर्छ । भारतसामु आत्मसमर्पण गर्ने नेपाल सरकारको दास मानसिताको कारण नेपालले दुर्गति भोगिरहेको हो । नेपाल भारतनिर्भर भइरहेको हो । यसका दोषी नेका र सरकारहरू नै हुन् ।
साँच्चै सत्तासीन दलका नेताहरूलाई नेपाल र नेपाली जनताको चिन्ता छैन । देश अनिर्णयको बन्दी बने पनि राजनीतिक अस्थिरता र सङ्कट लम्बिरहे पनि सरकारलाई खासै चिन्ता र चासो छैन । उनीहरूलाई जसरी भए पनि सरकारमा बस्न पाए पुग्छ । सत्तामा बसेर नेता र कार्यकर्ता पोस्न पाए पुग्छ । सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दलका नेताहरू कर्तव्यबाट च्युत भएपछि विदेशी शक्ति राष्ट्रले नेपाललाई परेड खेल्ने मैदान नबनाउनु पनि कसरी ? देशमा सच्चा, इमानदार, देशभक्त, कर्तव्यनिष्ठ, दूरदर्शी सरकारको खाँचो छ । देश र जनताको हितमा राजनीतिक प्रतिबद्धता गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दलका नेताहरूको खाँचो छ । विदेशी ऋण र सहायतामा भरपर्ने या मुलुक बनाउने काम कुनै पनि प्रजातान्त्रिक र गणतान्त्रिक सरकारलाई सुहाउँदैन । देशलाई परमुखी बनाउने दल र दलको सरकारको भरमा मुलुक कसरी समृद्ध बन्छ ? गणतन्त्र स्थापनापछि देशमा जातीय नारा घन्कियो, साम्प्रदायिक भावना फैलाउने धेरै प्रयास भयो । एक मधेस एक प्रदेश नभए देशै नरहने कुरा गुञ्जियो । सत्तासीन दलका नेताले त्यो चेतावनी सुन्नेबाहेक जवाफ फर्काएनन् । देशै नरहने चेतावनी दिने नेताहरू के नेपाल र नेपाली जनताका पक्षपाती होलान् ? देशै नरहने धम्की दिनुको अर्को अर्थ के ? नेपाल अरू देशमा गाभ्ने सपना नदेखेको भए एक देशभक्त नेपालीले यस्तो धम्की दिन सक्थ्यो ? देशविरोधी विचार बोल्ने नेता तथा सांसदहरूलाई सरकारले केही गर्न सकेन, आपत्तिसमेत जनाउन सकेन । फलतः देशमा अराजक, छाडातन्त्र र उपद्रव भइरह्यो । सरकारको नेतृत्व गर्ने दल र दलका नेताहरू विदेशी प्रभाव र दबाबमा फस्नु हुँदैनथ्यो, तर फसिरहे । यही नेपालका शासकहरूको कमजोरी रह्यो ।
भारतको शासक दलले नेपालमाथि हेर्ने गिद्धेदृष्टि छोडेको छैन । दास मानसिकताले हेर्ने दृष्टिकोणमा फेरबदल भएको छैन । भारतको विस्तारवादी नीति र भारतीय एकाधिकार पुँजी नेपालको विकासमा बाधक बनेको छ । त्यो खतराको घण्टी पनि हो । हिमाली शृङ्खलाका एक स्वतन्त्र एवं छिमेकी देश सिक्किमलाई भारतले आफ्नो प्रदेशमा गाभ्यो । सिक्किमलाई खाने बाघले नेपाललाई खाँदैन भनेर कसरी विश्वास गर्ने ? सानो देश निल्ने ठूलो देश कसरी मित्र हुन्छ ? नेपालको लागि भारतीय विस्तारवादी नीति के खतराको घण्टी होइन ? चीन पनि ठूलो देश हो । तर, चीनले कहिल्यै ठूलो राष्ट्र अहङ्कारवाद देखाएको छैन । आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । चीनबाह्य ऋणबाट मुक्त छ । तर, नेपाल ऋणीको देश बनेको छ । प्रत्येक वर्षको बजेटमा विदेशी सहयोग जोडेको हुन्छ । समाजवादी अर्थतन्त्रको आधारमा अघि बढिरहेको देश चीन विश्वकै निम्ति प्रेरणाको स्रोत बनेको छ । अतः नेपाललाई विदेशी बजारमा निर्भर राख्ने, उठ्नै नदिने विदेशी शक्ति राष्ट्रको विरोधमा आम जनता उठ्नैपर्छ । स्वाभिमानी नेपालीको परिचय दिनैपर्छ । नेपाल सरकारसँग स्पष्ट तथा ठोस नीति नहुनाले पनि नेपालले प्रगति गर्न सकेन, आत्मनिर्भरतातर्फ अघि बढ्न सकेन ।
मानव समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो । नेपालभित्र मात्र होइन मुलुक बाहिर पनि थिच्ने, शोषण र दमन गर्ने, हस्तक्षेप गर्ने शक्ति राष्ट्रहरू छन् । नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउने लामो इतिहास बोकेको भारत यसको उदाहरण हो । नेपालको सार्वभौमिकता, स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय सम्बन्धको शृङ्खलालाई खलबल्याउने भारतीयको प्रयासको निन्दा गर्नैपर्छ । नेपाललाई भारतीय प्रभाव क्षेत्रमा तान्ने कुचालको भण्डाफोर गर्नैपर्छ । दरिलो नेतृत्वको सरकार नभएकोले भारतले नेपाललाई हेपेको हो, कठपुतलीको जस्तो सरकार बनाइरहेको हो । अतः नेपाल सरकार दास मानसिकताबाट उठ्नैपर्छ । नेपाल र नेपाली जनताले शिर ठाडो पारेर विश्वमा परिचय दिनैपर्छ । नेपालले भारतबाहेक अर्को विकल्प खोज्नैपर्छ । नेपाल भारतको मिचाइ, थिचाइ र दबाबबाट मुक्त हुनैपर्छ ।
Leave a Reply