भर्खरै :

व्यवस्थै बदल्नु आवश्यक

देशको व्यवस्था पुँजीवादी छ । सरकार सामन्त, पुँजीपति, जमिनदार, प्रतिक्रियावादी, जालीफटाहा, कालाबजारी, कमिसनखोर र ठूल्ठूला व्यापारी तथा उद्योगपतिहरूको घेरामा छ भने जुनसुकै दलित, पीडित व्यक्ति सरकार या ठाउँमा पुगे पनि पीडित जनताको भलो हुँदैन । दलित या पीडितहरू राष्ट्रपति, मन्त्री सांसद भए पनि जातीय राजनीति र वर्गभेद हट्ने होइन । बहुमत या शोषित पीडित जनताको सरकार ल्याउन यो व्यवस्था नै फेर्नुपर्छ, व्यवस्थै फालेर मजदुर, किसान र पीडित जनताको प्रतिनिधित्व गर्ने समाजवादी व्यवस्था ल्याउनुपर्छ । सरकार या उच्च पदमा महिला पुग्दैमा महिला समस्या अन्त्य हुने होइन, दलित पुग्दैमा दलित समस्या हट्ने होइन । महिला राष्ट्रपति भएकै हुन् । तर, महिला समस्या हल भएन । बरु महिला हिंसा बढ्यो । मधेसी समुदायका व्यक्ति राष्ट्रपति भएकै हुन् । तर, मधेसी समस्या समाधान भएन । दलितहरू मन्त्री भए । तर, उनीहरूको स्थिति ज्यूका त्यूँ नै रह्यो ।
समाज वर्गमा विभाजित छ । वर्गमा विभाजित समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ । वर्गीय राजनीति गर्नुपर्छ भनेको तल्लो वर्गको जनताको पक्षमा राजनीति गर्नु हो, उनीहरूलाई विभेद गर्नु होइन, उनीहरूलाई अपमान गर्नु होइन । कति लेखक र नेताहरू वर्गीय राजनीतिलाई तल्लो वर्गका जनताको विपक्षमा गरेको ठान्छन् । वर्गीय समाजमा वर्ग रहेसम्म आ–आफ्नो अस्तित्वको लागि सङ्घर्ष भइरहेको हुन्छ । सरकारको नेतृत्व पटक–पटक कम्युनिस्ट दलका नेताहरूले गरे पनि कम्युनिस्ट सिद्धान्त र विचारअनुसार बहुमत जनताको पक्षमा किन काम भएन ? यसको मूल कारण देशको पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्था नबदलिएसम्म जसको प्रतिनिधित्व गर्ने सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति भए पनि तल्लो वर्गका जनताको संरचनामा हेरफेर आउने छैन† हेरफेर भइरहेको छैन ।
शासकहरू या पुँजीपति, सामन्त, जमिनदार, प्रतिक्रियावादीहरू आफ्नो शासन छोड्न चाहँदैनन् । आफ्नो शासन लम्ब्याउन या सधैँ शासन चलाउन अन्य दलका नेताहरूलाई अनेक लोभलालच देखाउँछन्, केही मन्त्री भाग दिएर खुसी पार्छन्, त्यसरी नै उनीहरू पैसाको राजनीति गर्छन् । निर्वाचनमा उनीहरूले पैसाको खोलो बगाउँछन्, पदको लोभलालच देखाउँछन्, मालसामान दिने आश्वासन दिन्छन् र त्यसैको आधारमा जित्छन् । पञ्चायत कालदेखि अहिले यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म भइरहेको यही हो । व्यवस्था बदल्ने उपाय भनेको कुनै जातको व्यक्ति सरकारमा पुग्नु होइन । व्यवस्था बदल्न त क्रान्ति गर्नुपर्छ । क्रान्ति गर्न देशभरिका व्यापक जनता सचेत, शिक्षित र सङ्गठित हुनुपर्छ । वर्गसङ्घर्ष नगरी व्यवस्था बदल्न गा¥हो हुन्छ । पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था ल्याउन जनतामा वर्गीय चेतना जगाउनुपर्छ, जनताका शत्रु र मित्र को हुन्, चिनाउनुपर्छ ।
जातपात र छुवाछुत अन्त्य हुँदैमा शोषण अन्त्य हुँदैन । क्रान्ति कसैले चाहेर तत्काल हुने होइन । परिवर्तनको निम्ति आर्थिक, सांस्कृतिक, वैचारिक क्रान्ति हुनुपर्छ । सचेत र सङ्गठित जनशक्तिविना भएको परिवर्तन स्थिर हुनेछैन । यो बेलाबखत विश्वमा भएको आन्दोलनबाट थाहा पाउन सकिन्छ । नेपालकै सन्दर्भमा माओवादी ‘जनयुद्ध’ असफल भएकै हो, माओवादीले सरकारसमक्ष हतियार बुझाएर आत्मसमर्पण गरेकै हो । माओवादीले क्रान्तिकारी बाटो नै छोड्यो । सत्ता र चुनावी गठबन्धनबिना पार्टीको अस्तित्व बचाउन पनि माओवादी केन्द्रलाई गा¥हो भयो । यही कारण माओवादी केन्द्र जसरी भए पनि सरकारमा जान तयार हुन्छ, निर्वाचनमा अन्य दलसँग मिलेर लडेको हुन्छ । यसकारण, मुख्य कुरा सिद्धान्त र विचार हो, सरकारमा गएर मन्त्री र प्रम हुनु होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *