भर्खरै :

ख्वप विश्वविद्यालय स्वीकृति दिन किन ढिलाइ ?

ख्वप विश्वविद्यालय स्वीकृति दिन किन ढिलाइ ?

भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्न भक्तपुर नगरपालिका प्रतिबद्ध छ । भक्तपुर नगरपालिकाबाट हरेक वर्ष नयाँ आर्थिक नीति तथा कार्यक्रम, बजेट विनियोजनको लागि नगरवासीहरूसँग राय, सुझाव सङ्कलन गर्दै आएको सबैमा विदित्तै छ । मैले पनि आफ्ना शैक्षिक सुझाव प्रस्तुत गरेको छु ।
भक्तपुर नगरपालिकाले आफ्ना सात वटा कलेजहरू सञ्चालन गरिरहेको छ । नगरवासीले उच्च शिक्षाको निम्ति कष्ट गर्नु नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कलेजहरूमा आज देशैभरिका विद्यार्थीहरूले अध्ययन गर्ने मौका पाएका छन् । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गरी १५ लाख रुपियाँमै एमबीबीएस पढाउने उद्देश्य राखेको हो । नेपालमा २१ वटा कलेजमा एमबीबीएसको अध्यापन हुन्छ । शैक्षिक संस्थामा १ हजार ८९५ जना विद्यार्थीले एमबीबीएस अध्ययन गर्ने मौका पाउँछन् । चार सय तीस जनालाई छात्रवृत्तिको व्यवस्था रहेको छ । सीमित सीटको लागि बीसौँ हजारले परीक्षा दिन्छन् र बाँकी बाध्यताले विदेसिन्छन् । यो नेपालमै पढ्न पाए पनि छात्रवृत्ति नपाउनेहरूको लागि धेरै दुःख छ । धेरै खर्च गरेर पढाउने हैसियत हामी मजदुर तथा श्रमिक वर्गमा हुँदैन ।
भक्तपुर नगरपालिकाले १५ लाख रुपियाँमै एमबीबीएस पढाउने भने तापनि किन दिइएन ख्वप विश्वविद्यालय स्थापनाको स्वीकृति ? किन विधेयक अहिलेसम्म पारित गरिएन ?
हरेक वर्ष भक्तपुर नगरपालिकाले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने विषय राखेको हुन्छ । भक्तपुरवासीको चाहनाअनुसार नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै आएको छ । विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोली गठन गरी आवश्यक तयारी गरिने बताइएको छ । विश्वास छ, ख्वप विश्वविद्यालय स्थापना गर्न सरकारले छिट्टै स्वीकृति दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *