भर्खरै :

ख्वप अस्पतालको सेवामा अझै सुधार आवश्यक

ख्वप अस्पतालको सेवामा अझै सुधार आवश्यक

ख्वप अस्पताल सर्वसाधारण जनताको हितको निम्ति एक नमुना अस्पताल बनोस् भनी कामना गर्दछु । सरकारबाट प्रदान गरिएको स्वास्थ्य बीमा कार्ड लिएर ख्वप अस्पतालले सकिने जति निःशुल्क स्वास्थ्य उपचारका साथसाथै निःशुल्क औषधि पनि वितरण गरिरहेको छ । तैपनि सर्वसाधारण जनताले समयमा नै उपयुक्त उपचार पाउन सकिरहेका छैनन् ।
उपचारको लागि केही महिनाअघि एक वर्षको बच्चा बोकेर एक आमा ख्वप अस्पतालमा पुग्नुभयो । उहाँसँग स्वास्थ्य बीमा कार्ड पनि थियो । बच्चाको हालत नाजुक थियो । उहाँ इमर्जेन्सी वार्डमा जानुभयो । इमर्जेन्सीमा डाक्टर आइपुग्नुभएको थिएन । आमाले सिद्धि मेमोरियल अस्पतालमा ट्रान्सफरको लागि नर्सहरूसँग ट्रान्सफर लेटर माग गर्नुभयो । बच्चा बेहोस भइसकेको थियो । नर्सको भनाइअनुसार ख्वप अस्पतालको डाक्टरले चेकअप नगरेसम्म ट्रान्सफर लेटर दिन मिल्दैन ।
करिब एक घण्टापछि डाक्टर आउनुभयो । करिब आधा घण्टा लाइनमा बसेर टिकट र आवश्यक औषधि बच्चाको आमाले लिएर आउनुभयो । बच्चालाई भर्ना गर्नुपर्ने भएको हुनाले सिद्धि मेमोरियल अस्पतालमा ट्रान्सफर लेटर तयार गर्नको लागि नर्सलाई भन्नुभयो र ट्रान्सफर लेटरमा डाक्टरले सही गरिदिनुभयो । फेरि सो ट्रान्सफर लेटरमा ख्वप अस्पतालको स्टायम्प लगाई उहाँ इमर्जेन्सी वार्डमा पुग्नुभयो । बिहान करिब ७ बजे ख्वप अस्पतालमा बच्चा लिएर ट्रान्सफर लेटर लिन आएका आमाले करीब ११ बजेमात्र लेटर पाउनुभयो र सिद्धि मेमोरियल अस्पतालमा पुग्दा ११ः३० बजे भइसकेको थियो ।
ख्वप अस्पतालले पनि जुनसुकै रोगको उपचार कार्यालय समयमा जति बेला बिरामी गए पनि सेवा उपलब्ध गराउनुपर्ने देखिन्छ । इमर्जेन्सी सेवामा २४ सै घण्टा डाक्टरको उपस्थिति हुनुपर्छ । टिकट काउन्टरमा भिडभाड कम हुने वातावरण तयार गर्नुपर्छ । अनि उचित समयमा नै स्वास्थ्य उपचार गराउन सकिन्छ । भविष्यमा ख्वप अस्पतालले पनि अन्य अस्पतालले दिने सुविधाभन्दा कम नहुने गरी सुविधा प्रदान गर्ने हिसाबमा ख्वप अस्पताल सञ्चालन गर्नुपर्छ ।
स्त्री रोग, हाडजोर्नी रोग, नाक, कान घाँटीको रोग आदिबारे चेकअप गराउनुप¥यो भने १ देखि २ घण्टा अगाडि गएर टिकटको लागि लाइन बस्नुपर्ने, टिकट लिएको केही घण्टापछि डाक्टर आउने र सीमित बिरामीहरूको मात्र चेकअप गर्ने समस्याको कारण बिरामीले समयमै स्वास्थ्य परीक्षण गर्नपाएका छैनन् । ख्वप अस्पताल हरेक दिन जुनसुकै रोगको उपचार गर्नको लागि पर्याप्त डाक्टर उपलब्ध गराई सर्वसाधारण जनताको स्वास्थ्य उपचारको सेवा प्रदान गर्ने उद्देश्यले अगाडि बढ्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *