भर्खरै :

पार्टी प्रकाशनबारे बरोबर अन्तरक्रिया जरूरी

पार्टी प्रकाशनबारे बरोबर अन्तरक्रिया जरूरी

भक्तपुर, २४ असार । पञ्चायती सरकारको पालामा भएको भ्रष्टाचारको विरोध गरेर सरकारमा गएका बहुदलवादी प्रधानमन्त्री र मन्त्रीहरूले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए । एनसेलको पुँजीगत लाभकर, नेपालीलाई नक्कली भुटानी शरणार्थी, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता आदि भ्रष्टाचार काण्डहरू केही उदाहरणमात्र हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगरसमितिद्वारा आयोजित भ्रष्टाचारविरोधी कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
पुँजीवादी व्यवस्थामा आर्थिक अपराधीहरूले सरकारलाई नियन्त्रण गर्ने उल्लेख गर्दै सांसद सुवालले अमेरिकाको वाल स्ट्रिट (अमेरिकी व्यापारिक क्षेत्र) लाई संसद्ले होइन, वाल स्ट्रिटले संसद्लाई नियमन गर्ने यथार्थतर्फ सबैलाई सचेत गराउनुभयो ।
सांसद सुवालले भारतीय संसद्मा पनि ४० प्रतिशत सांसदहरू फौजदारी अभियोग लागेकाहरू भएको चर्चा गर्दै नेपालमा पनि उही अवस्था देखिने खतरा भएको उल्लेख गर्नुभयो ।
युरोप र संरा अमेरिकाको सम्पन्नतामा दासको रूपमा बेचिएका अफ्रिकीहरूको रगत–पसिना भएको उल्लेख गर्दै सांसद सुवालले नेपाली युवालाई खाडी मुलुकको मरूभूमिमा काम गर्न पठाउने शासक दलहरूको कारण हराभरा नेपाल मरूभूमिमा परिणत भइरहेको बताउनुभयो ।
निर्वाचनमा भोज खुवाउने र सामान तथा पैसा बाँड्ने शासक दलहरूले सिंहदरबार कब्जा गरेसम्म देश र जनताको हित नहुने उल्लेख गर्दै सांसद सवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारीमा राख्न पार्टी र जनवर्गीय सङ्गठनका कार्यकर्ताबिच पार्टी प्रकाशनबारे बरोबर अन्तरक्रिया राख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजू, रत्नबहादुर ह्यौँमिखा, गणेशराम सुवाल र युवराज बयलकोटीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *