भर्खरै :

षड्यन्त्रलाई पक्षपोषण गर्ने एउटा भनाइ प्रेम र युद्धमा सबै जायज

षड्यन्त्रलाई पक्षपोषण गर्ने एउटा भनाइ प्रेम र युद्धमा सबै जायज

‘प्रेम र युद्धमा सबै कुरा जायज छ’ भन्ने एउटा पुरानो भनाइ छ । यो भनाइ व्यक्तिपरक कथन हो । यसले प्रेम र द्वन्द्वको समयको विशेष परिप्रेक्ष्यलाई झल्काउँछ । युद्धको समयमा परम्परागत नियमलाई अक्सर बेवास्ता गरिन्छ । कुनै पनि लक्ष्य सफलतापूर्वक प्राप्तिको लागि कुनै पनि हत्कण्डा अपनाउन सकिने उक्त वाक्यांशले सङ्केत गर्दछ । युद्धको मामिलामा सामाजिक मापदण्ड र परम्परागत व्यवहारलाई अलग राखेर मानिसहरू द्वन्द्वमा अस्वीकार्य मानिने तरिकाहरू अपनाउन सक्छन् भन्ने कुरा यस वाक्यांशले जनाउँछ । यो भनाइले युद्धले असाधारण परिस्थितिहरू निम्त्याउन सक्छ भन्ने सोचाइलाई इङ्गित गर्छ । यो भनाइ तथ्यको शाब्दिक कथनभन्दा बढी एक प्रवचनात्मक अभिव्यक्ति हो । यद्यपि, विषम परिस्थितिमा कहिलेकाहीँ मानिसलाई अप्रत्याशित व्यवहार गर्न सक्छ भन्ने सन्दर्भलाई यो भनाइले प्रतिबिम्बित गर्दछ । हाल भइरहेको रसिया–युक्रेन युद्धमा यस भनाइलाई युक्रेनले अलि बढी नै अपनाइरहेको उसको गतिविधिबाट जो कोहीले अनुभूति गर्न सक्छन् । जारी युद्धमा युक्रेन पक्षबाट ‘सबै कुरा जायज’ को भावमा गरिएको षड्यन्त्रका केही घटनाहरू कालान्तरमा आएर उद्घाटित भएका छन् ।
क्रिमिया पुल विस्फोट
अक्टोबर २०२२ मा क्रिमिया पुलमा विस्फोटको परिणामस्वरूप आगो लागेको थियो । युद्ध सुरु भएको केही महिनामै रुस र युक्रेन सम्झौता भएको थियो । तर, पश्चिमेली राष्ट्रको उक्साहटमा एकाएक उक्त सम्झौता तोडेपछि क्रिमियालाई रुसको मुख्य भूमिसँग जोड्ने पुललाई युक्रेनले आतङ्कवादी शैलीमा हमला गरेर क्षति पु¥यायो तर युक्रेनले यसको जिम्मेवारी लिन मानेन । विस्फोट रुसबाट केर्चसम्म चल्ने वेस्टबाउन्ड गाडी लेनहरूमा भएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ७० औँ जन्मदिनको दिनताका विस्फोट भएको थियो । भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सरकारको संलग्न नभएको बताए पनि कालान्तरमा अनुसन्धानबाट उक्त विस्फोट युक्रनेले नै गरेको प्रमाणित भयो ।
नर्ड स्टिम पाइपालन
युरोपमा प्राकृतिक ग्यास पु¥याउने दुई वटा रुसी पानीमुनिबाट जाने नर्डस्टिम नामको पाइपलाइन विस्फोट भएको थियो । यस बिचमा नाटो, युरोपेली सङ्घ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका निर्देशक फातिह बिरोलजस्ता प्रमुख व्यक्तिहरूले अपराधीको पहिचानको निम्ति छानबिन गरे । रुसी अधिकारीहरूले पश्चिमलाई दोष दिए र यस विषयमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाएका थिए । अघिपछि जस्तै युक्रेनले यस घटनामा आफ्नो सहभागितलाई ठाडै अस्वीकार ग¥यो । पाइपलाइन विस्फोटको पछाडि कसको हात थियो भन्ने रहस्य पत्ता लगाउन आजको बढ्दो पारदर्शी संसारमा गा¥हो भएन । सत्यलाई लामो समयसम्म पुर्न सकेन । पोल्यान्डको सहयोगमा युक्रेनले नै गरेको पुष्टि भयो ।
पोल्यान्डको भूमिमा मिसाइल प्रहार
युक्रेनेले केटाकेटी पारमा नाटोलाई युद्धमा घिसारेर ल्याउने मनसायले युक्रेन आफैँले पोल्यान्डमा मिसाइल हमला ग¥यो । कुनै पनि नाटो मुलुकमाथि हमला गरेमा सबै नाटो राष्ट्र मिलेर हमला गर्नुपर्ने नाटोको प्रावधानले गर्दा युक्रेनले सोच्यो कि पोल्यान्डमा मिसाइल हमला रुसले गरेको दोष लगाउन पायो भने सबै नाटो मुलुकले रुसमा हमला गर्नेछ । अनुसन्धानपछि पोल्यान्ड र नाटोका नेताहरूले पोल्यान्डको क्षेत्रमा दुई व्यक्तिको मृत्यु गर्ने मिसाइललाई युक्रेनी सेनाले रुसी हमलाको विरूद्ध आफ्नो देशको रक्षा गर्दै प्रहार गरेको र यो घटना दुर्घटना भएको भनेर युक्रेनी षड्यन्त्रको बचाउ गर्न खोजे । समयले युक्रेनको गलत नियतको पर्दाफास गराइदियो ।
काखोभका जलविद्युत् बाँध
दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्रमा रहेको काखोभका जलविद्युत् ध्वस्त भयो । युरोपको ‘ब्रेडबास्केट’ मानिने खेतीयोग्य जग्गा सिँचाइका लागि अत्यावश्यक रहेको विश्वको सबैभन्दा ठूलो जलाशय विस्फोट भएपछि आएको बाढीबाट हजारौँ मानिसहरू विस्थापित भएका थिए । प्रकोपले विश्वव्यापी खाद्य आपूर्ति जोखिममा परेको छ भने दशकौँसम्म वातावरण प्रणाली खतरामा पर्नेछ । डिनिप्रो नदीको दुबै छेउका तल्लो क्षेत्रको हजारौँ मानिस प्रभावित भएका छन् भने झन्डै १ सय मानिसको मृत्यु भएको छ । युक्रेनको सेना र नाटोले रुसले बाँध विस्फोट गराएको आरोप लगाएको छ भने रुसले युक्रेनलाई दोष दिएको छ । पश्चिमले रूसले यसलाई विस्फोट गराएको आरोप लगाइरहेको छ भने रुसले युक्रेनमाथि दोष लगाएको छ । यसको दोषी पनि समयले देखाउने छ ।
जेपोरजिया परमाणु संयन्त्र पछाडिको षड्यन्त्र
नाटोको सहयोगबाट पनि युक्रेनको मनसुवा पूरा हुन नसकेपछि युद्धमा ‘जे पनि जायज छ’ भने भावमा अहिले विश्वलाई आणविक द्वन्द्वमा तानेर रुसलाई परास्त गर्न ठूलै षड्यन्त्र गरेको आभास हुँदै छ । रुसले जेपोरजिया परमाणु संयन्त्र विस्फोट गराउने भयो भनेर युक्रेनले प्रचारबाजी गर्दै छ । तर, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीका अनुसार युक्रेनी अधिकारीहरूले रुसले उक्त क्षेत्रमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी गरे तापनि उनको टोलीले जापोरिज्जिया आणविक ऊर्जा प्लान्टभित्र रूसको तर्फबाट कुनै खतरा नदेखेको बताए । उनका अनुसार स्थिति गम्भीर छ तर नजिकैको काखोभका बाँधको विनाश पछि आणविक ऊर्जा केन्द्रमा स्थिर छ । यहाँनिर स्मरणीय कुरा के छ भने दोस्रो विश्व युद्धको समयमा जापानले अमेरिकी युद्धपोट पर्ल हार्वरमा आक्रमण गरेपछि संरा अमेरिकाले जापानको हिरोशिमा र नागासाकिमा परमाणु हमला गरेजस्तै युक्रेनले नाटो अवस्थित रहेको ठाउँमा आफैँले कुनै घटना घटाएर त्यसको दोष रुसमाथि लगाएर आक्रमण गराउने षड्यन्त्र भइरहेको युक्रेनको पछिल्लो गतिविधिले देखाउँदै छ । त्यतिबेला बेलायतले जापानलाई उक्त क्षेत्रमा हमला गर्न उक्साएको भने ‘कन्सीपिरेसी थेउरी’ रहेको छ । अहिले युक्रेन त्यस्तै एउटा घटना दोहो¥याउन षड्यन्त्र गरिरहेको धेरैको अनुमान छ ।
तर, ‘युद्धमा जे पनि जायज छ’ भनाइले अनैतिक वा हानिकारक व्यवहारको औचित्य पुष्टि गर्दछ भन्ने होइन । वास्तवमा समाजमा मानव आचरणलाई परिपालन गराउन र युद्धको बहानामा गरिएका गलत कार्यलाई माफ नगरिने सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय कानुन र मापदण्डको कठोर पालना हुनुपर्छ । द्वन्द्वको सामना गर्दा पनि समाजले सामान्यतया निष्पक्षता, न्याय र अरूलाई सम्मान गर्ने सिद्धान्तको पक्षपोषण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *