भर्खरै :

सफाइ मजदुरहरूको भेला सम्पन्न

सफाइ मजदुरहरूको भेला सम्पन्न

भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्गलबार भक्तपुर नगरपालिकामा कार्यरत वडा निरीक्षक र सफाइ मजदुरको भेला भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहरलाई सफा राख्ने मुख्य जिम्मेवारी सफाइ मजदुरहरूको भएको बताउँदै सफाइ मजदुरले नगरको सरसफाइमा अझ जोश जाँगरका साथ काम गर्नुपर्ने बताउनुभयो ।
कुनै पनि काम ठूलो वा सानो नहुने र श्रमको सम्मान गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले सिङ्गो नगरलाई विश्वकै सुन्दर, आकर्षक र हेर्नलायक सहरको रूपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाले सुकुलढोकादेखि टौमढीको बजार क्षेत्रमा हरियाली व्यवस्थापनको तयारीमा जुटेको बताउँदै प्रमुख प्रजापतिले कर्मचारीहरूले व्यक्तिगत फाइदाको लागि नभई संस्थाको हितको लागि काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले कुहिने फोहोरलाई प्राङ्गारिक मल उत्पादन गरी फोहोरलाई आयस्रोतमा रूपान्तरण गरिरहेको बताउँदै पर्यटकीय नगरमा पर्यटकको आगमन वृद्धि गर्न सहरलाई सधैँ सफा र सुरक्षित राख्न आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जोखिमपूर्ण काम गर्ने सफाइ मजदुरहरू फोहोर उठाउने काम गरेकै कारण विभिन्न रोगबाट ग्रसित हुने पक्षलाई ध्यान दिई आफ्नो स्वास्थ्यबारे पनि सजग रहनुपर्ने बताउनुभयो । भक्तपुर नपाले फोहोरमा काम गर्ने सफाइ मजदुरहरूको लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउँदै आएको बताउँदै उहाँले सफाइ मजदुरहरूले सेवाग्राहीमैत्री व्यवहार गरी नगरलाई सफा र आकर्षक बनाउन सदा क्रियाशील रहनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले स्थानीय तहको प्रारम्भिक कार्य सरसफाइ भएको बताउँदै भक्तपुर नगरको सरसफाइ कार्यमा सफाइ मजदुरहरूको योगदान उपलब्धिपूर्ण रहेको बताउनुभयो । उहाँले भक्तपुर नपाले सरसफाइ क्षेत्रमा कमाएको ख्यातिलाई अझ उच्च राख्ने ढङ्गले काम गर्न सफाइ मजदुरहरूलाई प्रेरित गर्नुभयो ।
उक्त कार्यक्रममा स्यानिटेसन शाखाका प्रमुख दिलिपकुमार सुवालले सफाइ मजदुरहरूको काम र कार्यविवरणबारे प्रस्ट पार्दै फोहोरमा काम गर्ने सफाइ मजदुरहरूले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *