भर्खरै :

देशघाती काम र देशघाती विचार सह्य नहुने

देशघाती काम गर्दा या देशघातको पक्षमा बोल्दा कुनै पनि शासक या नेताहरूको समयमै खबरदारी गर्नुपर्छ । देशघाती काम गरेर देशलाई पराधीन बनाउने, कठपुतली बनाउने र देशको अस्मितामा आँच पु¥याउने कुनै शासकहरूलाई जनताले छुट दिनु हुँदैन । हरेक देशभक्त दल, नेता तथा कार्यकर्ताले त्यसको विरोध गर्नुपर्छ । आवेशमा होस् या भावावेग कुनै पनि शासक र नेताले विचार नपु¥याई मनपरी बोल्नु ठीक होइन । हुन त यसअघिका प्रधानमन्त्री या शासक दलका नेताहरूले पनि नेपालको प्रम भारतीय शासकहरूको इसारा या सङ्केतमा बन्ने गरेको जानकारी प्रकाशमा नआएको होइन । नेपालमा प्रम बन्न भारतको हात रहेको कुरा प्रम दाहालको यो पहिलो अभिव्यक्ति होइन । यसअघि अरू प्रमहरूले पनि यस्तो कुरा खोकेका थिए । नेपालको प्रम कुनै भारतीय व्यापारी, कूटनीतिज्ञ या भारतीय शासकहरूको सहयोग या इसाराविना बन्न नसकिने भनाइ ठीक होइन । यो भनाइले प्रत्यक्ष या अप्रत्यक्षरूपमा नेपाल सरकार भारतको उठबसमा रहेको ज्ञात हुन्छ ।
जिम्मेवार शासक या नेताले विचार नपु¥याई सतही ढङ्गले बोल्नु हुँदैनथ्यो । प्रम दाहालको असार १८ गते व्यवसायी सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली पुगेको धारणाले सडकमा हङ्गामा भएको हो† सदन तातेको हो । उक्त धारणाप्रति प्रमुख विपक्षी दलका सांसदले प्रम दाहालको राजीनामा नै मागे । एमालेका अध्यक्ष केपी ओलीले त प्रम दाहालको स्पष्टीकरण होइन राजीनामा नदिएसम्म संसद् नै चल्न नदिने उद्घोष गरेका थिए । तर, तीन दल नेका, एमाले र माओवादीका शीर्ष नेताहरूको सहमतिमा प्रम दाहालले राजीनामा नदिए पनि संसद् चल्यो । राजीनामा नदिइकन एमालेले किन संसद् चल्न दियो र राजीनामा किन माग्यो भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा चर्चाको विषय रह्यो । प्रम दाहालले “प्रधानमन्त्रीको हैसियतमा त्यो भाषा नबोल्नुपथ्र्याे, त्यो दिन म प्रधानमन्त्री भएर बोलेको होइन, ज्ञानु (छोरी) को बुबा भएर बोल्न पुगेको हुँ” भनी बोलेर समस्या हल हुने होइन । प्रम दाहाल र पहिलेका शासकहरूको अभिव्यक्ति र घटनाक्रमले नेपालमा प्रम हुन प्रत्यक्ष या अप्रत्यक्षरूपमा भारतीय शासक, भारतीय कूटनीतिज्ञ या भारतीय उच्चपदस्थ व्यक्तिहरूको हात रहेको अनुमान गर्न गा¥हो छैन ।
प्रधानमन्त्री दाहालको स्पष्टीकरण पछि संसद् त चल्यो । तर, विभिन्न पत्रिकामा विभिन्न टिप्पणीहरू भए । पत्रपत्रिकामा ‘प्रधानमन्त्रीको भावुक सम्बोधनसँगै संसद्को गतिरोध अन्त्य, आत्मसमीक्षासहित विपक्षतिर तेस्र्याए प्रतिप्रश्न’, ‘प्रधानमन्त्रीको सम्बोधनपछि हट्यो संसद् अवरोध’, ‘मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ’, ‘प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु’, ‘सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध परम्परागत हुनु हुँदैन’, ‘म आत्मसमीक्षा गर्छु, भावनामा आएर बोलेछु’ जस्ता ठूलठूला समाचारका शीर्षकले पनि प्रम दाहाल भावनामा बगेकै हुन्, भावनामा बगेर भन्नै नहुने अभिव्यक्ति गरेका हुन् भन्ने थाहा हुन्छ । वास्तवमा प्रम दाहालको अभिव्यक्तिमा यथार्थ छ । तर, त्यो कुरा नेपाल र नेपालीको लागि सुहाएन । त्यो भनाइ नेपाल र नेपालीको भावनाविपरीत छ । यसले नेपाल सरकार नेपाल र नेपाली जनताको अधीनमा नरहेको सङ्केत गर्छ । यो नेपाल र नेपालीको लागि राम्रो सङ्केत होइन । यसले नेपाल भारतीय एकाधिकार पुँजीअन्तर्गत मात्र रहेको होइन राज्य सञ्चालनमा पनि भारतीय शासकहरूको हात रहेको अड्कल गर्नुपर्ने हुन्छ । यसले देश कहिले पनि आत्मनिर्भर हुँदैन, देश कहिले पनि स्वाभीमान हुँदैन । यो कुरा शासक र ठूला दलका नेताहरूले विचार गर्नुपर्ने हो, मनन गर्नुपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *