भर्खरै :

वफादारीको मूल्य / भारतले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी ‘डेपुटी शेरिफ’ को भूमिका खेल्ने छैन

वफादारीको मूल्य / भारतले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी ‘डेपुटी शेरिफ’ को भूमिका खेल्ने छैन

भारतले संरा अमेरिकालाई आफ्नो लक्ष्य हासिल गर्नको लागि एउटा स्प्रिङबोर्डको रूपमा मात्र उपयोग गर्छ र यसले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय प्रणालीप्रति कुनै बफादारी वा दायित्व रहेको अनुभव गर्दैन । वाशिङटनले जतिसुकै कडा चाल चाल्ने प्रयास गरे पनि नयाँ भारतलाई संरा अमेरिकाको मोहरा बन्नको लागि दिने मूल्य नयाँ दिल्लीलाई पक्कै पनि आकर्षक हुनेछैन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जून २३ मा संरा अमेरिकाको आफ्नो उच्चस्तरीय राजकीय भ्रमण सम्पन्न गरेका छन् । अहिलेको सबैभन्दा प्रभावशाली हिन्दू राष्ट्रवादी नेतालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक विस्तृत शाकाहारी राज्य रात्रिभोज र अमेरिकी संसद्को संयुक्त सत्र क्यापिटल हिलमा सम्बोधन गर्न निमन्त्रणा दिएका थिए ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलपछि, बाइडेन प्रशासनअन्तर्गत राज्य रात्रिभोजको औपचारिक आनन्द लिने उनी तेस्रो विदेशी प्रतिष्ठित व्यक्ति बनेका छन् । प्रधानमन्त्री मोदीले आफूलाई विन्स्टन चर्चिल र नेल्सन मण्डेलालगायतका केही विदेशी नेताहरूको लाममा पु¥याएका छन् जसले एकभन्दा बढी पटक अमेरिकी संसद्लाई सम्बोधन गरेका छन् ।
मोदीले पहिलोपटक २०१६ मा उनी भारतीय प्रधानमन्त्री बनेको दुई वर्षपछि र उनको अमेरिका प्रवेशमा प्रतिबन्ध हटाइएपछि अमेरिकी काङ्ग्रेसलाई सम्बोधन गरेका थिए । सन् २००२ मा पश्चिम भारतको गुजरात राज्यका तत्कालीन मुख्यमन्त्री रहेका मोदीलाई अमेरिकी प्रवेशाज्ञा दिन अस्वीकार गरिएको थियो । आफ्नो राज्यमा घातक धार्मिक दङ्गा भड्काउनमा उनको भूमिकाको कारणले प्रतिबन्धको सामना गर्नुपरेको थियो । यस दङ्गाले करिब १,००० मानिसको ज्यान लिएको सरकारी तथ्याङ्क छ र मृत्यु हुनेमध्ये अधिकांश मुस्लिम थिए ।
भारतको मानवअधिकारका मुद्दाहरू संरा अमेरिकामा यति व्यापकरूपमा आलोचना भइरहेका छन् कि ७५ जना डेमोक्र्याटिक पार्टीका सांसदहरूले मोदीको आगमनअघि बाइडेनलाई संयुक्त पत्र पठाए र मोदीलाई मानव अधिकारमा दबाब दिन यो मौका उपयोग गर्न आग्रह गरे ।
यद्यपि, ‘मूल्यमा आधारित कूटनीति’ को दाबी गर्ने वाशिङटनले अब द्विपक्षीय सम्बन्ध बढाउन विवादास्पद मुद्दाहरूलाई बेवास्ता गर्ने छनोट गरिरहेको छ । संरा अमेरिका र भारत ‘दुई महान् देश, दुई महान् मित्र र दुई महाशक्तिहरू’ हुन् र अमेरिका–भारत सम्बन्ध ‘विश्वको सबैभन्दा नजिकको साझेदारीमध्येको एक हो’ भनी मोदीकोे प्रशंसामा बाइडेन धेरै उदार बनेर निस्के ।
द इकोनोमिस्टले जून १७ मा लेखेको थियो, “भारतको विचारधारा र प्रजातन्त्र पश्चिमी आदर्शसँग मेल खाँदैन किनभने भारतसँगको सहयोगलाई मुख्यरूपमा अस्वीकार गर्दा चीनलाई मात्र सशक्त बनाउँछ ।” विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश र पाँचौँ ठूलो अर्थतन्त्र भएको मुलुकले चाँडै नै संरा अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिमा मुख्य भूमिका खेल्न सक्ने र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने राष्ट्र बन्न सक्छ, जसलाई संरा अमेरिकाले मानेको छ ।
विगत एक दशकमा भारतको मन जित्ने अमेरिकी प्रयासहरू प्रायः नियोजित सोचको परिणाम हो तर भारतको बफादारीमाथि प्रश्न कायमै छ । द न्यु योर्क टाइम्सका वरिष्ठ लेखक डेभिड लियोनहार्टले जून २३ मा लेखेका थिए, “भारत विश्व राजनीतिमा निस्सन्देह सबैभन्दा महत्वपूर्ण स्विङ (जता पनि ढल्कन सक्ने) राष्ट्र हो । यो शक्ति सन्तुलन परिवर्तन गर्न पर्याप्त प्रभावशाली छ तर यसको निष्ठा स्पष्ट वा अडानमा एकरूपता छैन ।”
तर, अङ्कल सैमसँग के विकल्प छ ? संरा अमेरिकाको विश्वव्यापी प्रभुत्वको पतन एक निर्विवाद तथ्य हो । भारतलाई अर्को पक्षमा धकेल्नुको सट्टा अपूर्ण सहयोगीमा परिणत गर्नु नै अहिलेको सबैभन्दा राम्रो परिणाम हो जस्तो देखिन्छ ।
संरा अमेरिका, रुस र चीनबिचको आफ्नो हितलाई अधिकतम बनाउन भारतले आफ्नो रणनीतिक उद्देश्यलाई पक्ष लिनबाट जोगिनका लागि पछ्याइरहेको देखिन्छ । सन् १९५० को दशकदेखि नयाँ दिल्ली र मस्कोबिचको मैत्रीपूर्ण र घनिष्ट सहयोग भारतको कूटनीतिक सम्बन्धको सबैभन्दा महत्वपूर्ण तत्व रहँदै आएको छ । अब संरा अमेरिका भारतको हतियारको दोस्रो ठूलो स्रोत बनेको छ । तर, रुसबाट भारतको हतियार खरिदको तुलनामा यसको मात्रा अझै सानो छ । सन् २०२२ मा संरा अमेरिकाको नेतृत्वमा रहेको पश्चिमी क्याम्पको चेतावनीलाई बेवास्ता गर्दै भारत रुसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्यो ।
नयाँ दिल्ली सायद हिन्द महासागर क्षेत्रमा ‘डेपुटी शेरिफ’ (अमेरिकी पाले) हुन चाहँदैन । १९४७ मा भारतको राष्ट्रिय स्वतन्त्रतापछि आत्मनिर्भर बनेर ‘महान् शक्ति’ स्थानको खोजी जारी छ । यसले भारतीय सरकारहरूको शासक दर्शनमा निरन्तर र गहिरो छाप रहँदै आएको छ । भारतको एउटा महाशक्ति बन्ने सपना सधैँ पहिले हिन्द महासागरलाई जित्ने, त्यसपछि क्षेत्रीयरूपमा प्रभुत्वशाली बन्ने र अन्ततः विश्वव्यापीरूपमा प्रभुत्व जमाउने शक्ति बन्ने रहेको छ ।
भारतले संरा अमेरिकालाई आफ्नो लक्ष्य हासिल गर्नको लागि एउटा स्प्रिङबोर्डको रूपमा मात्र उपयोग गर्छ र यसले अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय प्रणालीप्रति कुनै बफादारी वा दायित्व रहेको अनुभव गर्दैन । वाशिङटनले जतिसुकै कडा चाल चाल्ने प्रयास गरे पनि नयाँ भारतलाई संरा अमेरिकाको मोहरा बन्नको लागि दिने मूल्य नयाँ दिल्लीलाई पक्कै पनि आकर्षक हुनेछैन ।
(The price of loyalty : India will not play U.S. ‘deputy sheriff’ in the Indo-Pacific)

  • Beijing Review

Leave a Reply

Your email address will not be published. Required fields are marked *