भर्खरै :

रङ्गभेदविरोधी आन्दोलन र नेल्सन मण्डेला

रङ्गभेदविरोधी आन्दोलन र नेल्सन मण्डेला

रङ्गभेद विरोधी आन्दोलनका नायक, दक्षिण अफ्रिकाका नेता मण्डेलाको प्रभाव विश्वभर परेको छ । नेल्सन मण्डेला दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । उम्टाटा जिल्लाको म्वेजो नामक एउटा सानो गाउँमा उनी जन्मेका थिए । उनकी आमा खोइसान परिवारकी छोरी थिइन् । उनका घरका बुढाहजुरबा ङुबेङ्कुकाले इन्कोशी एन्खुलु अर्थात् थेम्बु जनताका राजाका रूपमा शासन गरेका थिए । जसका एक छोराको नाम मण्डेला थियो, जो नेल्सनका हजुरबा थिए । उनकै नामबाट नेल्सनको पारिवारिक नाम मण्डेला रह्न गयो । यद्यपि, उनकी आमाको जात इक्जिबा थियो र उनका बुबा इन्कोशी जातका थिए, त्यसैले जातीयरूपमा तल परेकाले थेम्बु जातिको राजाको रूपमा रहन उनी सफल रहेनन् ।
मण्डेला नै त्यो परिवारका पहिलो व्यक्ति थिए, जसले स्कूल पढ्न पाएका थिए, जहाँ उनकी शिक्षिका मिस म्डिङ्गेनले उनलाई अङ्ग्रेजी नाम दिएकी थिइन् । जब नेल्सन नौ कक्षामा पढ्दै थिए, त्यही समयमा क्षयरोगका कारण उनका बुबाको निधन भएको थियो र जोङ्गिनतबा उनका अभिभावक बनेका थिए । विद्यार्थी छँदा उनी स्टुडेन्ट्स रिप्रेजेन्टेटिभ काउन्सिल नामक विश्वविद्यालयीय नीतिविरुद्धको सङ्गठनमा आबद्ध भएका थिए । त्यसकारण, उनलाई फोर्ट हेर विश्वविद्यालयबाट निस्किन भनिएको थियो र पनि उनले त्यो सङ्गठनको चुनावमा भाग लिए । पछि जीवनकालमा जब उनी जेल परे, तब जेलभित्रै बसेर उनले लण्डन विश्वविद्यालयबाट कानुनशास्त्रमा स्नातक सम्मको अध्ययन पूरा गरे ।
उनको स्वतन्त्रताको यात्रामा दक्षिण अफ्रिकाको विभेदविरुद्धको आन्दोलनका क्रममा उनले महात्मा गान्धीबाट निकै प्रभावित भएर तिनै विधिहरूलाई अपनाएर आफ्नो आन्दोलनलाई सफल तुल्याएका थिए । मण्डेलाले सन् २००७ को जनवरी २९ र ३० तारिखको दिन भारतको राजधानी नयाँ दिल्लीमा आयोजित गान्धीको सत्याग्रह आन्दोलनको १०० औँ वार्षिक सम्मेलनमा सहभागी भएर दक्षिण अफ्रिकामा पनि उक्त आन्दोलनलाई परिचित गराएको स्पष्ट पारेका थिए । अन्तिम विकल्पका रूपमा गरिने सशस्त्र सङ्घर्षलाई उनले भनेका छन्, वर्षौँसम्म मुलुक पछाडि पर्नु र हिंसा फैलिनुले उनलाई विश्वास दिलायो कि वर्षौँसम्मको अहिंसात्मक आन्दोलनले अफ्रिकी मुलुकको जातीय द्वन्द्वलाई चर्काउने काम मात्रै ग¥यो । त्यसले कुनै फाइदा भएन पनि र हुँदैन पनि ।
दक्षिण अफ्रिकामा पहिलोपटक २७ अप्रिल, सन् १९९४ मा पूर्ण नागरिक अधिकारसहितको बहुजातीय चुनाव भएको थियो । जसमा अफ्रिकन राष्ट्रिय काङ्ग्रेस ६२५ मतका साथ विजयी भएको थियो । उक्त अफ्रिकन राष्ट्रिय काङ्ग्रेसको नेता मण्डेलाले पहिलोपटक काला जातिहरूको प्रतिनिधित्व गर्दै १० मे, सन् १९९४ मा राष्ट्रिय एकताको सरकार गठन गरे । प्रथम अश्वेत राष्ट्रपतिका रूपमा सन् १९९४ को मेदेखि १९९९ को जून महिनासम्म मण्डेलाले साना तथा काला जातिको जीतका रूपमा दक्षिण अफ्रिकामा नयाँ दिन ल्याइदिएकोमा अन्तर्राष्ट्रिय स्तरको सम्मान पाउनुका साथै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलमिलापको बाटोहरू खुले ।
उनको स्वभावलाई झ्वाट्ट हेर्नुपर्दा उनको एउटा वक्तव्यलाई लिन सकिन्छ, मेरो जीवनभर अफ्रिकी जनताको सङ्घर्षका लागि आफूलाई खर्चेँ । मैले गोरा जातिहरूको काला जातिहरूमाथिको दमनका लागि लडेँ । मैले आफ्नो मनमा एउटा विचार राखेको छु, जसमा प्रजातान्त्रिक र स्वतन्त्र समाज छ, जहाँ प्रत्येक व्यक्तिहरू एकताबद्ध भएर, मेलमिलाप गरेर बराबर अवसरहरूका साथ बाँच्नेछन् ।
नेल्सन मण्डेला सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाका राष्ट्रपति हुन् र पहिलो दक्षिण अफ्रिकी राष्ट्रपति हुन्, जो बहुसम्मिलित चुनावमा सबैबाट चुनिएका थिए । राष्ट्रपति हुनुअघि उनी काला जातिका तर्फका कुशल कार्यकर्ता थिए र उम्खोन्तो वे सिज्वेका नेता थिए । जुन अफ्रिकन राष्ट्रिय काङ्ग्रेसको भ्रातृ सङ्गठन थियो । सन् १९६२ मा उनी समातिए र दोषी ठहरिएपछि उनलाई आजीवन जेल सजायको घोषणा सुनाइयो । मण्डेलाले २७ वर्ष जेलमा सेवा गरे । जसमध्येको थुप्रै समय उनले रबेन टापुमा बिताए ।
सन् १९९० को फेब्रुअरी ११ का दिन जेलमुक्त भएका मण्डेलाले आफ्नो पार्टीको नेतृत्व गर्न थाले, जसलाई उनले १९९४ को बहुजातीय प्रजातन्त्रसम्म पु¥याए । उनले राष्ट्रपतिको रूपमा सन् १९९४ देखि १९९९ सम्म सबैसँगको मेलमिलापलाई महत्व दिन थाले । दक्षिण अफ्रिकामा मण्डेलालाई माडिबा पनि भनिन्छ, जुन उनको झोसा जातको नाम हो । टाटा पनि उनलाई चिनिने अर्को नाम हो । मण्डेलाले सन् १९९३ को नोबेल शान्ति पुरस्कारसहित चार दशकभन्दा बढी समयमा २५० भन्दा बढी सम्मानहरू पाइसकेका छन् ।

नेल्सन मण्डेलाका साथ विन्नी मण्डेला

नेल्सन मण्डेला देश र जनताको हकहितका लागि लामो समयसम्म सङ्घर्ष गरेर सफलताको शिखरमा पुगेका देशभक्त, जातिप्रेमी, स्वाधीनताका सेनानी र महान् राजनीतिज्ञ हुन् । उनी गोरालाई काखा र कलालाई पाखा गर्ने सरकारी नीतिका विरोधी हुन् । लामो समयसम्म कारावासको सजाय भोगेका मण्डेला शोषण र उत्पीडनका विरुद्धमा सम्पूर्ण मानव जातिकै लागि सङ्घर्षका प्रतीक एवं प्रेरणाका स्रोत बनेका छन्, ‘सङ्घर्ष नै मेरो जीवन हो, स्वाधीनता प्राप्तिका लागि जीवनपर्यन्त सङ्घर्ष गरिरहन्छु’ भन्ने दृढ अठोट व्यक्त गर्ने मण्डेला एक स्वाभिमानी जननेता हुन् ।
समानताको अधिकार प्रदान गराउने प्रतिबद्धताका साथ सङ्घर्षलाई वरण गर्ने राजनीतिज्ञ योद्धा मण्डेला रङ्गभेदी सरकारको पतन गराउन सफल प्रजातन्त्रप्रेमी कुशल शासक हुन् । आफ्नो व्यक्तिगत सुखसुविधालाई तिलाञ्जली दिएर सम्पूर्ण शोषित र पीडित जनतालाई नागरिक हक प्रदान गराउनमा निरन्तर सक्रिय रहेका मण्डेला दक्षिण अफ्रिकी जनताका ढुकढुकी पनि हुन् । उनी सङ्घर्ष, बलिदान, साहस र आत्मविश्वासका प्रतिमूर्ति हुन् ।
दक्षिण अफ्रिकाका मूल जातिलाई अश्वेत अथवा काला जति भनेर चिनिन्छ । दक्षिण अफ्रिकामा बाहिरबाट आएका र सेतो छाला भएका मानिसहरूको शासनकालमा दक्षिण अफ्रिकाका मूल जातिका मानिसहरूलाई पशुवत् व्यवहार गरिन्थ्यो । शिक्षा, स्वास्थ्य, रोगजार आदि विविध क्षेत्रमा असमानता थियो । मुलुकका सहर, बजार एवं विकसित ठाउँहरूमा कालालाई बस्ने अनुमति थिएन । काला जातका दक्षिण अफ्रिकीहरूलाई श्रमिक तथा मजदुरजस्ता निम्न तहका मात्र काममा लगाइन्थ्यो ।
राजनीतिक एवं प्रशासनिक क्षेत्रमा पनि उनीहरूको केही स्थान थिएन । काला दक्षिण अफ्रिकीहरूलाई प्राविधिक शिक्षाबाट पनि वञ्चित गरिएको थियो । ठूलाठूला उद्योग, कलकारखाना, महत्वपूर्ण खानी, उर्वर भूमिजस्ता महत्वपूर्ण क्षेत्रमा अपहेलित दक्षिण अफ्रिकाका मूल जातिहरूलाई अभद्र व्यवहार गरिन्थ्यो । काला जातिहरूले पसिना बगाएर पनि आरामसँग खान, बस्न पाउँदैनथे । यसप्रकार श्वेत सरकारको शासनकालमा दक्षिण अफ्रिकाका मूल जातिको अवस्था निकै नै दयनीय थियो ।
गाउँका मुखियाका छोरा मण्डेलाको बाल्यकाल एक साधारणरूपमा नै बित्यो । उनले चाहेका भए आनन्दसँग बसीबसी खान सक्थे । तर, समानता, स्वत्रन्त्रता र भ्रातृत्वमा विश्वास गर्ने मण्डेला आफ्ना साथीहरूसँग गोठालो जान्थे, खेतबारीमा रमाइरमाइ काम गर्थे । एउटा सिङ्गै राष्ट्रको अधिकार लिएर देश र जनताको सेवा गरी बस्ने उच्च महत्वाकाङ्क्षा बोकेका मण्डेला बाबुको इच्छाअनुसार एउटा सानो समूहको मुखिया भएर बस्न चाहेनन् । उनी त्यतिकै स्वाभिमानी थिए । उनलाई एक शिक्षाप्रेमीका रूपमा पनि लिन सकिन्छ । पत्राचार शिक्षाका माध्यमबाट बीए परीक्षा उत्तीर्ण गरेका मण्डेला पेशाका हिसाबले वकिल भए पनि उनको सम्पूर्ण जीवन राजनीतिमै बित्यो ।
मण्डेला श्वेत सरकारका विरोधी थिए । उनले विभिन्न राजनीतिक सङ्गठनहरूसँग आबद्ध भएर गोराहरूको विरोध गरेका हुनाले उनलाई सन् १९६४ तिर जेल हालियो । मण्डेलाले करिब २७ वर्ष लामो जीवन जेलमा बिताए । उनको जेलजीवन निकै नै कष्टकर थियो । उनी त अश्वेत राजबन्दी भएकाले सामान्य यातना दिने कुरै थिएन । उनलाई जेलमा ढुङ्गा फोर्ने, गिट्टी कुट्ने, खानी खन्न लगाउने आदि कठिन र शारीरिक बल बढी पर्ने किसिमका कामहरू गराइन्थे । जेलमा बस्दा पौष्टिक खानाको कमी र अव्यवस्थित रहनसहनले गर्दा उनी शारीरिकरूपमा कमजोर बन्दै गए । शारीरिकरूपमा अस्वस्थ भए पनि उनी उच्च मनोबल लिएर नित्य व्यायाम गर्ने, पत्रपत्रिका र पुस्तकहरू पढ्ने, साथीभाइसँग मनोरञ्जन गर्ने, भेट्न आएका मानिसहरूसँग भेट गर्ने, सबैसँग राम्रो व्यवहार गर्दै हाँसीहाँसी बोल्दै, जस्तोसुकै विपत्तिमा पनि धैर्यको सहारा लिने प्रेरणा दिँदै उनको जेलजीवन बितेको थियो ।
श्वेत सरकारको रङ्गभेदी नीतिलाई विरोध गरेबापत जेल पारेका मण्डेलालाई छुटाउन स्वदेश तथा विदेशबाट पनि ठूलो प्रयास भएको थियो । त्यही प्रयासको परिणामस्वरूप सन् १९९० मा जेल मुक्त भएका मण्डेलाले आफ्नो मुक्तिमा मात्र सन्तोष लिएनन् । उनी देश र जनतालाई पनि स्वाधीन बनाउन चाहन्थे । वास्तवमा मण्डेलाको मुक्ति भन्नु नै रङ्गभेदी श्वेत सरकारको पतन र स्वाधीन देश र जनताको उत्थान थियो । उनले आफू मुक्त हुने बित्तिकै रङ्गभेदी श्वेत सरकारको पतन गराउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दबाबको माग गरे । त्यसपछि मुलुकमा आम निर्वाचन हुने भयो । उक्त निर्वाचनमा उनी अफ्रिकी राष्ट्रिय काङ्ग्रेस पार्टीबाट राष्ट्रपति पदमा अत्यधिक मतले विजयी भए । यसप्रकार उनले गोराहरूमाथि विजय प्राप्त गरी दक्षिण अफ्रिकी जनतालाई स्वाधीन बनाए ।
दक्षिण अफ्रिकाका राजनेता, प्रथम अश्वेत जननिर्वाचित राष्ट्रपति, तथा अथक परिश्रमी नेल्सन मण्डेलाको जीवनी निकै प्रेरणादायी छ । मण्डेलाको जीवनीलाई आधार मान्ने हो भने प्रत्येक मुलुकका कर्मठ नागरिकले देश र जनताका लागि आफूलाई समर्पित गर्न सक्नुपर्छ, समाजमा देखिएका सबै किसिमका भेदभाव र असमानताहरूको डटेर विरोध गर्नुपर्छ, साहसका साथ अघि बढ्नुपर्छ भन्ने देखिन्छ । यसका साथै शोषण र उत्पीडनको विरुद्धमा निर्भिकताका साथ लाग्नुपर्छ । समानताको अधिकार प्रदान गराउन कोशिश गर्नुपर्छ । सङ्घर्षलाई वरण गरी राजनीतिक योद्धा बन्नुपर्छ । व्यक्तिगत सुखसुविधालाई तिलाञ्जली दिन सक्नुपर्छ । उच्च मनोबल र दृढ आत्मविश्वास लिन सक्नुपर्छ भन्ने प्रेरणा पनि मण्डेलाको जीवनीबाट लिन सकिन्छ ।
यति मात्र नभएर प्रजातन्त्रको स्थापनाका लागि सदैव सक्रिय रहनुपर्छ, प्रत्येक राजनीतिक व्यक्तिले उदार भएर पदभन्दा देश र जनता प्यारा हुन्छन् भन्ने विचार लिनुपर्छ, राष्ट्रिय स्वाधीनतालाई प्राणभन्दा प्यारो ठान्ने गरेमा नै सबैबाट सम्मानित हुने सकिनेजस्ता प्रेरणाहरू मण्डेलाको जीवनीबाट लिन सकिन्छ ।
बाहिरबाट आएका गोरा जातिहरूले दक्षिण अफ्रिकाका मूल जातिहरूमाथि अनेकौँ यातना दिने र अमानवीय व्यवहार गर्ने गरेका थिए । मण्डेलालाई सानैदेखि उनीहरूको यस्तो व्यवहार मन पारेको थिएन । आफ्नो देश र जनताहरूलाई स्वतन्त्रता दिलाउन मण्डेलाले स्वदेश, विदेश, जेलभित्र र जेलबाहिरबाट अथक परिश्रम गरी आफ्नो लक्ष्य पूरा गरेको यथार्थ उनको जीवनीमा व्यक्त भएको पाइन्छ ।
लक्ष्यसहितको सङ्घर्षमा लागेको व्यक्ति आफ्ना अगाडि देखापरेका सामान्य अवरोधहरूसँग नडराउने वा पछि नहट्ने स्वभावको हुन्छ । कुनै पनि मुलुकमा जरो गाडेर बसेको जनताविरोधी, दमनकारी शासन व्यवस्थालाई परिवर्तन गर्न सानोतिनो बलले सफलता पाउन सकिँदैन । जुन व्यक्तिले ठूलो, लोकहितकारी, राष्ट्रहितकारी लक्ष्यलाई साथमा लिएर सङ्घर्ष गर्ने विचार लिन्छ, उसले सङ्घर्षका अवधिमा आफ्ना सामु आएका सामान्य विघ्नबाधाहरूदेखि डराउनु हुँदैन । क्रान्तिकारी कार्यक्रमहरूमा क्रान्तिको नेतृत्व गर्ने व्यक्ति र उसको व्यक्तिगत स्वार्थ मात्र नभएर उसका पछाडि असङ्ख्य मानिसहरू र उनीहरूका इच्छा तथा आकाङ्क्षाहरू पनि रहेका हुन्छन् ।


सङ्घर्षमा नेतृत्व गर्ने व्यक्ति सामान्य व्यवधानबाट पनि डरायो भने उसका पछाडि रहेका मानिसका आकाङ्क्षाहरू मरेर जान्छन् । त्यसकारण, महान् लक्ष्य बोकेर अघि बढ्ने मानिसले आखिरमा विभिन्न विघ्नबाधासँग सिँगौरी खेल्नैपर्छ । सामान्य स्थितिमा रहेको कुनै पनि व्यवस्थालाई परिवर्तन गर्न त निकै मुश्किल हुन्छ भने जरो गाडेर बसेको निरङ्कुशतालाई उखेलेर फाल्ने सानोतिनो बलले सम्भव हुँदैन । मण्डेलाको जीवन त्यसको एक जीवन्त साक्षी हो ।
नेल्सन मण्डेला दक्षिण अफ्रिकामा निरङ्कुश शासन सञ्चालन गरी बसेको श्वेत सरकारलाई हटाई देश र जनतालाई स्वाधीन बनाउन चाहन्थे । यसका लागि उनले अनेकौँ किसिमका परिस्थितिहरूसँग सामना गर्नु परे पनि उनी कहिल्यै थाकेनन् । यसरी उनको अथक परिश्रमकै कारणले सन् १९९४ देखि दक्षिण अफ्रिका र त्यहाँका कालाहरूले सधैँका लागि मुक्ति पाए । मण्डेला विपत्तिहरूलाई धैर्यका साथ धारणा गर्ने र सहन गर्ने क्षमता पनि थियो । मण्डेलाले गोरा शासनको विरोध सुरु गरेदेखि नै अनेकौँ कष्ट, यातना, दण्ड सहँदै आउनुपरेको थियो ।
उनले गाउँ, सहर, बस्ती सबैतिर पुगेर गोराहरूको निरङ्कुश शासनको विरोध गरेबापत मण्डेलालाई आजीवन कारावासको सजाय दिइएको थियो । उनी आफूमाथि निश्चय गरिएको उक्त सजायबाट अलिकति विचलित भएनन् । आफूभित्र भएको दृढ आत्मबल र विश्वासका कारणले उनले गोराहरूमाथि पनि विजय पाएका थिए । आजीवन जेलसजाय पाएका मण्डेला बाँकी अरू विपत्तिसँग पनि डर मान्ने खालका मानिस थिएनन् । यदि मण्डेलासँग दृढ आत्मबल र विपत्तिलाई धैर्यको सहाराले सहन गर्ने क्षमता नभएको भए दक्षिण अफ्रिका अहिलेसम्म गोराहरूको उपनिवेशबाट स्वाधीन हुन पाउने थिएन ।
राष्ट्रिय क्रान्तिमा समाहित भएका सबै मानिसहरू स्वच्छ विचार, निःस्वार्थ भावना भएका हुन्छन् भन्ने छैन । कसैले राष्ट्रको हितलाई नै आफ्नो हित, राष्ट्रको स्वार्थ नै आफ्नो स्वार्थ ठानेका हुन्छन् । मण्डेलालाई यसका अपवादको रूपमा लिन सकिन्छ । उनी देश र जनताको हितलाई शिरमा राखेर आफूलाई क्रान्तिमा होम्ने खालका व्यक्ति थिए । उनमा आफ्ना व्यक्तिगत स्वार्थहरू केही पनि थिएनन् । गोराहरूका हातमा भएको शासनको बागडोर आफ्ना हातमा सार्नका लागि उनले एकपटक राष्ट्रपति भएर काम गरे । एक कार्यकाल सकिएपछि आफ्नो हातमा रहेको शासनको बागडोर उनले आफ्ना मित्रलाई सुम्पिदिए । उनी फेरि अर्कोपटक राष्ट्रपतिका उम्मेदवार भएनन् । त्यसैले उनी शासक होइनन्, राजनीतिज्ञ हुन् । त्यसैले मण्डेलासँग दुनियाँका बिरलै राजनीतिज्ञको तुलना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *