भर्खरै :

भ्रष्टाचारीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने

भ्रष्टाचारीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने

भक्तपुर, २ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा २०२५ साल साउन २ गतेको भ्रष्टाचारविरुद्धको आन्दोलनको स्मरणमा मङ्गलबार किसानहरूबिच कटुञ्जेमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भ्रष्टाचारीहरूलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गर्दै उहाँले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही नगरे पनि जनताले कारबाही गर्नुपर्छ भन्नुभयो ।
सांसद गोसाईले ठगी, भ्रष्टाचारी र अपराधीहरू पक्राउ पर्नेमा काङ्ग्रेस, एमाले र माओवादीकै दसमा नौ जना हुने गरेको बताउनुभयो । शासक दलहरूले भ्रष्टाचारीलाई कारबाही गर्न हिम्मत नगरेको उल्लेख गर्दै उहाँले ५५ वर्षअघि नै भ्रष्टाचारीहरूलाई नेमकिपाले कारबाही गरेको बताउनुभयो ।
पँुजीवादी व्यवस्थामा लाग्ने शासक दलका नेता तथा कार्यकर्ताहरू राजनीतिक कार्यकर्ता जस्तो नभई अपराधीजस्तो देखिएको बताउँदै उहाँले समाजवादी व्यवस्थामा मजदुर र किसानहरूको नेतृत्वमा सरकार हुन्छ भन्नुभयो ।
शासक दलहरूको नेतृत्व नै नेपालीलाई भुटानी नागरिक बनाउने र शरणार्थीको रूपमा संरा अमेरिका पठाउने देशद्रोही काममा संलग्न भएको विचार व्यक्त गर्दै वाग्मती प्रदेश सांसद गोसाईले न्यायिक ढङ्गबाट छानबिन गरे निजामती कर्मचारी पनि थोरै मात्र जोगिन्छ भन्नुभयो । नेपालका २२ हजार कर्मचारीले भारतलगायत विदेशको दोहोरो तलब खाने गरेको कुरा केही वर्षअघि नै नेमकिपाका अध्यक्ष रोहितले बताउनुभएको स्मरण गर्दै सांसद गोसाईले जनविरोधीहरूबारे जनतामाझ उदाङ्ग्याउनु पनि जनताको सेवा हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीले भ्रष्टाचारविरोधी आन्दोलन आज पनि आवश्यक भएको चर्चा गर्दै नेमकिपाले नयाँ पुस्तालाई सचेत पार्दै देश र जनताप्रति सेवाभावले इमानदारीपूर्वक सेवा गर्न अभिप्रेरित गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले किसानहरूको बचत व्यक्तिगत व्यवसायमा लगाउने भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर कारबाही गरेको घटनाबारे स्पष्ट पार्दै सहकारीका सदस्यहरूलाई खबर नगरी साधारणसभा गर्न लागेको हुँदा किसानहरूले प्रतिरोध गरेको बताउनुभयो । नेमकिपाले सुरुदेखि नै भ्रष्टाचारविरुद्ध सङ्घर्ष गर्दै आएको चर्चा गर्दै उहाँले प्रजातान्त्रिक आन्दोलनमा लागेका अन्य पार्टीका नेताहरू भ्रष्टाचारमा लागेको समाचार सुन्दा दुःख लाग्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, नेक्रामहिलासङ्घ सूर्यविनायक नगर समितिका चनमती खुलिमुली र राजेन्द्र बखुन्छेले साउन २ को भ्रष्टाचारविरोधी आन्दोलनको महत्वबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *