भर्खरै :

अन्तर्राष्ट्रवादी पत्रकार एड्गर स्नो (सन् १९०५–१९७२) को सङ्क्षिप्त चर्चा–२

अन्तर्राष्ट्रवादी पत्रकार एड्गर स्नो (सन् १९०५–१९७२) को सङ्क्षिप्त चर्चा–२

कम्युनिस्ट सदरमुकाममा
एडगर स्नोले साङ्घाईमा सुङ चिङ लिङमार्फत कम्युनिस्ट पार्टीको केन्द्र येनानको पाओ आनमा पुग्न जून १९३६ मा मिलाएका थिए । सियानफू (Sianfu) हुँदै लाल इलाकामा चाउ एन लाइ, सेनाको सञ्चार विभाग प्रमुख लि को नुङ (Li KoNung) र माथिल्लो कमान्डर येन चिन इङ (Yen Chin-Ying) सँग भेट गरे । सहरी जीवनको फरासिला, दा¥ही भएका चाउ एन – लाइ त्यतिखेर ३८ वर्षका थिए ।
९२ दिनको घोडा र पैदलको कठिन यात्रापछि पाओ आनमा माओ त्सेतुङसँग स्नोको भेट भयो । ४२ वर्षका व्यक्तिगत कुरा गर्न नचाहने माओसँग चीनको इतिहास, एसियाली माक्र्सवाद र पार्टीको इतिहासबारे कुराकानी गरे ।
पाओ आनमा तिनीहरू ३ महिना बसे । त्यहाँ एड्गर स्नोले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, त्यसपछिका महत्वपूर्ण घटनाहरू, माओ त्सेतुङ नेतृत्वमा आइपुग्दासम्मका पार्टीका सैद्धान्तिक सङ्घर्षहरूको जानकारी पाए र टिपोट गरे । त्यसपछि महत्वपूर्ण केन्द्रीय नेताहरूसँग भेटघाट गरी तिनीहरूका जीवनीहरूको टिपोट बनाए । त्यस टिपोटलाई एड्गर स्नोले अङ्ग्रेजीमा लेखे, त्यसलाई फेरि चिनियाँ भाषामा अनुवाद गरी माओ त्सेतुङ र नेताहरूलाई देखाए । अनेक केरमेटपछि त्यसलाई अन्तिम रूप दिइयो । त्यसबेला उल्था गर्ने व्यक्तिमध्ये येनचिङ विश्वविद्यालयका छात्र ह्वाङ ह्वा (Huang Hua) एक थिए । पछि उनी संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलका नेता भए ।
पाओ आनबाट पेइचिङ फर्केपछि एड्गर स्नोले सारमा चीनमै प्रकाशित अङ्ग्रेजीको ‘चिनियाँ साप्ताहिक समीक्षा’ (China Weekly Review) मा धारावाहिक लेखको रूपमा प्रकाशित गरे ।
सन् १९३७ मा त्यही लेखहरूलाई बेलायतमा ‘चीनको आकाशमा रातो तारा’ (Red Star Over China) भन्ने पुस्तकको रूपमा भिक्टोर गोलानस (Victor Gollancz) बाट पहिलो पटक प्रकाशित गरियो । सन् १९३८ मा सरा अमेरिकामा पनि प्रकाशित गरियो । सन् १९६८, १९७२ र १९७३ मा उक्त पुस्तकको संशोधित संस्करणहरू प्रकाशित भए ।
सन् १९३९ मा एड्गर स्नो पुनः येनानमा माओ त्सेतुङ भेट्न गए । चीन बस्दा उनले ‘सिकागो ट्रिव्युन’ (Chicago Tribune), ‘न्युयोर्क सन’ (The New York Sun), ‘न्युयोर्क हेराल्ड ट्रिव्युन’ (The New York Herald Tribune) र ‘लण्डन दैनिक हेराल्ड’ (The London Daily Tribune) मा पनि काम गरे ।


सन् १९४१ मा एड्गर स्नो आफ्नो जहानसँग अमेरिका फर्के । त्यहाँ तिनीहरू आपसमा छुट्टिए अर्थात् हेलेन फोस्टरसँग पारपाचुके भयो । सन् १९४२ अप्रिल महिनादेखि उनी ‘शनिबारे सन्ध्या’ (The Saturday Evening Post) को निम्ति अन्तर्राष्ट्रिय संवाददाताको रूपमा काम गरे । दोस्रो विश्वयुद्ध सुरू भइसकेको हुँदा उनी अप्रिलमा अफ्रिका पुगे र मई महिनामा दिल्ली पुगी भारत, बेलायतको स्थितिबारे बुझ्न जुलाईमा वार्धा (Wardha) मा नेहरूसँग अन्तर्वार्ता लिए । भारतबाट उनी मस्को पुगे ।
रूसमा उनी अमेरिकी दूतावासको पर्यवेक्षणमा स्तालिनग्राडको लडाइँमा पुगे । त्यसबेला स्नोले एक तटस्थ पर्यवेक्षकको रूपमा भन्दा फासीवादविरोधी मित्रराष्ट्रहरूको पक्षमा समाचारहरू लेखे । एसियामा पुगेपछि उनले ‘एसियाको युद्ध’ (The Battle for Asia) पुस्तक लेखे ।
सन् १९४४ मा उनले माओ त्सेतुङ र चिनियाँ कम्युनिस्टहरू ‘किसानी प्रजातन्त्रवादीहरू’ हुन्, तिनीहरू सर्वसत्तावादीहरू होइनन् भनी ‘जनता हाम्रो साथमा’ (People on our Side) भन्ने पुस्तक लेखे । त्यसबेला स्नो ३९ वर्षका थिए । उनले ‘सोभियत शैलीको सत्ता’ (The Pattern of Soviet Power) र ‘स्तालिन शान्ति चाहन्छ’ (Stalin must have peace) भन्ने पुस्तक लेखे ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिकामा अत्यन्त कम्युनिस्टविरोधी परिस्थिति थियो । त्यस अवस्थालाई त्यहाँको प्रधानसेनापति म्याकार्थीको नामबाट ‘म्याकार्थी युग’ (McCarthy Period) पनि भन्ने गरिन्छ । त्यसबेला संरा अमेरिका आफ्नै तानाशाही व्यवस्थाको रूपमा प्रस्टिएको थियो । त्यस वातावरणमा अमेरिकी सङ्घीय गुप्तचर विभाग (FDI) ले स्नोलाई लखेट्नु अस्वाभाविक थिएन ।
सन् १९५७ मा उनले ‘रातो चीनका टिपोटहरू’ (China : Random Notes on Red China) लेखे र सन् १९५८ मा बेलायतबाट ‘सुरूका यात्रा’ (Journey to the Beginning) प्रकाशित गरे । त्यस पुस्तकमा सन् १९२८–२९ तिरको चीनको कहालीलाग्दो बयान र भ्रमण गरेका देश, जनता र नेताहरूबारे उल्लेख छ ।
संरा अमेरिकामा बस्न उनलाई गा¥हो भएको हुँदा उनी स्वीट्जरल्यान्डमा आफ्नी दोस्री पत्नी लुइस ह्वीलर स्नो (Louis Wheelor Snow) सँगै बस्न गए । तर, नागरिकता भने अमेरिकाकै थियो ।
सन् १९६० मा एड्गर स्नो पुनः चीन गए । उनले माओ त्सेतुङ र चाउ एन–लाइसँग अन्तर्वार्ता पनि लिए । सन् १९६३ मा उनले १९५९ देखि १९६१ को चीनको स्थितिसमेत प्रस्ट हुने गरी ‘आजको रातो चीन : नदीको अर्को भाग’ (Red China Today : The Other Side of the River) शीर्षकको पुस्तक प्रकाशित गरे ।


सन् १९६४ मा उनी फेरि चीनको भ्रमणमा गए । भियतनाम युद्धमा संरा अमेरिका झन्झन् फस्दै गयो, ऊ त्यहाँबाट न भाग्न सक्ने न त लडाइँ चालु राख्न सक्ने स्थितिमा पुग्यो । अमेरिकामा भियतनाम युद्धविरोधी जनमत बढ्दै थियो, दिनको झन्डै १२ करोड डलर खर्च हुँदै थियो, अमेरिकी डलरको मूल्य घट्दै गयो । यस्तो स्थितिमा भियतनाम युद्धबाट उम्कन अमेरिकाले चीनसँग वार्ता नगरी सुख पाउने स्थिति नै थिएन । अमेरिकाले पठाउने दूतलाई चीनले स्वीकार गर्न मानेन भने चीनले भनेको मान्न अमेरिका तयार थिएन ।
सन् १९७० मा स्वीट्जरल्यान्डमा बसेका एड्गर स्नोलाई राष्ट्रपति निक्सनले चीन गई सम्बन्ध सुधारको निम्ति आग्रह गरे । एड्गर स्नो चीनको पुरानो मित्र भएको नाताले चीनले स्वागत ग¥यो । त्यसपछि पिंगपंग (टेबुलटेनिस) का खेलाडीहरूको भ्रमणको आदान–प्रदान, पत्रकारहरूको भ्रमण र हेनरी किसिँगरको चीन भ्रमणपछि अमेरिकी राष्ट्रपति निक्सन चीन पुगे ।
एसियाली र अफ्रिकी देशहरूको सम्मेलन इन्डोनेसियाको वाङडुङ सहरमा भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री चाउ एन–लाइले गरेका थिए । त्यहाँ अमेरिकी विदेशमन्त्री डलेससँग चाउ एन–लाइने चीन–अमेरिकी सम्बन्ध सुधार्न हात मिलाउन खोज्दा डलेसले हात पछि हटाउने धृष्टता गरेका थिए । त्यस शिष्टाचारविरोधी व्यवहारलाई चिनियाँहरूले बिर्सेका थिएनन् ।
निक्सन पेइचिङ हवाई अड्डामा हवाइजहाजको सिँढीबाट तल झरी हात मिलाउन उनले नै पहिले चाओ एन–लाइतिर हात बढाए । यसरी एड्गर स्नोले चीन र संरा अमेरिकाबिचको सम्बन्ध सुधार्न भूमिका खेले ।
स्वीट्जरल्यान्डमा एड्गर स्नो पेटको क्यान्सर (Pancreatic Cancer) बिरामी भए । उनका साथी जर्ज हाटमसँगै प्रधानमन्त्री चाउ एन लाइ चिनियाँ डाक्टरहरूको एक टोली स्वीट्जरल्यान्ड पठाए । १५ फेब्रुअरी १९७२ मा कम्युनिस्टका एक असल मित्र र पत्रकार एड्गर स्नो ६७ वर्षको उमेरमा बिते । तर, उनका रचनाहरूमा उनी सदा जीवित रहनेछन् ।

एड्गर स्नोका रचनाहरू
1. Living China

2. Red Star Over China

3.The Battle for Asia

4. People on our side

5. The Pattern of Soviet Power

6. Stalin must have peace

7. China : Random Notes on Red China

8. Journey to the Beginning

9. Red China Today : The Other Side of the River


उनले काम गरेका पत्र–पत्रिकाहरू
1. Chicago Tribune

2. The New York Sun

3. The New York Herald Tribunes

4. The London Daily Herald

5. China Weekly Review

6. The Saturday Evening Post

7. Herald Tribune
स्रोत : चार अन्तर्राष्ट्रवादी पत्रकार
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *