भर्खरै :

नयाँ वर्षको अवसरमा विविध भाषा साहित्य सम्मलेन

मध्यपुर, ३ असोज ।
नयाँ वर्ष नेपाल सम्बत् ११३८ को अवसरमा शुक्रबार मध्यपुर थिमि नगरपालिकाको वडा नं ७ कुम्हालाछीमा उन्नाइसौं विविध भाषा साहित्य सम्मेलन तथा साँस्कृतिक कार्यक्रम भयो ।
साहित्य सम्मलेनको उद्घाटन स्थानीय बाजा गुरु रामकृष्ण अवालले गर्नुभएको थियो ।
सभामा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले कथित वाम र प्रजातान्त्रिक गठबन्धन नेपालको संविधानलाई आफू अनुकूल संशोधन गर्ने भारतीय बिस्तारवादको गोटी चाल भएको बताउनुभयो ।
‘वाम भनिएको गठबन्धनमा वाम पार्टीहरु छैनन् भने प्रजातान्त्रिक भनिएको गठबन्धनमा पुरातनपन्थी र अप्रजातान्त्रिक पार्टीहरु मात्र छन् ।’, उहाँले भन्नुभयो ।
सुवालले कम्युनिष्ट नाम भएको दलहरुले आफ्नो पार्टीभित्र गुण्डानाइके र डन हुलेर कम्युनिष्ट आन्दोलनलाई अझ फोहोर र विकृत बनाइरहेको धारणा राख्नुभयो ।
उहाँले वाम र प्रजातान्त्रिक भनिएका गठबन्धनका उम्मेद्वारहरुलाई निर्वाचनबाट जिताए देशको सार्वभौमिकता अझ खतरामा पर्ने धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलहरुले अंगीकृत नागरिकहरुलाई समेत राजनीतिक अधिकार दिएर देशको प्रमुख राजनीतिक पदमा समेत विदेशीहरुलाई ल्याउन खोजेको बताउनुभयो ।
सदनमा भारतीय बिस्तारवादको विरोध र शासक दलहरुको भण्डाफोर गरेका कारण व्यवस्थापिकामा नेमकिपाको उपस्थिति निर्मूलन गर्न शासक दलहरुले मत सीमा थोपरेको चर्चा गर्दा उहाँले शासक दलहरुका हरेक चालबाजी चिरेर पनि जनताको सेवा गर्ने धर्मबाट नेमकिपा विचलित नहुने बताउनुभयो ।
प्रजापतिले प्रजग कोरियाको साम्राज्यवादविरोधी लगातारको सङ्घर्षको भावनाका कारण संरा अमेरिकी साम्राज्यवादको युद्धधम्कीसामू अविचलित रहेको धारणा राख्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले विभिन्न ऐतिहासिक उदाहरण प्रस्तुत गर्दै नेपाल सधैं सार्वभौम र स्वतन्त्र रहेको तर्कप्रति विमति राख्नुभयो ।
समसामयिक अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै रिसालले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अराजनीतिक व्यवहारका कारण चीनका राष्ट्रपति सी जिनपिङले संसारको नेतृत्व गर्न सक्ने बताउनुभयो ।
वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका सरकार बलियो भए विदेशी थिचोमिचो रोक्न गाह«ो काम नभएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले सबै पूर्वसांसदहरुलाई समेत सुविधा दिने प्रस्तावको नेमकिपाले विरोध गरेको भन्दै पूर्वसांसदलाई सुविधा दिनुअघि नेपाली जनतालाई सबै तहको शिक्षा र स्वास्थ्य निःशुल्क दिनुपर्ने माग नेमकिपाका सांसदहरुले गरेको स्मरण गर्नुभयो ।
जलस्रोतविद् दिपक ज्ञवालीले नेपालका नदीनालामा नेपाल स्वंयको लगानीमा विद्युत् उत्पादन गर्नुपर्ने धारणा राख्दै देशमा सबल नेतृत्व नआएसम्म प्राकृतिक स्रोत साधन विदेशीहरुले ताकिरहने बताउनुभयो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले खानपिन र नियमित व्यायाममा ध्यान दिन सके मृगौला, कलेजो र मुटु रोगमा नियन्त्रण गर्न सकिने बताउनुभयो ।
उहाँले मानव अङ्ग प्रत्यारोपण केन्द्रले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा बिस्तार गरे पनि नेपाली जनतालाई रोग नै लाग्न नदिने पहिलो प्राथमिकता हुने विचार राख्नुभयो ।
सम्मलेनमा ३० भन्दा बढी विविध विधाका साहित्य वाचन भएका थिए । वाचित साहित्यमध्ये कवितातर्फ ममता श्रेष्ठ प्रथम, हरिसुन्दर सुवाल द्वितीय, सृष्टि खड्का तृतीय र रामसुन्दर थाले सान्त्वना पुरस्कार जित्नुभएको थियो । त्यस्तै कथातर्फ विशेष पुरस्कार प्रेम के निडर र सान्त्वना पुरस्कार कृतिका प्रजापतिलाई प्रदान गरिएको थियो ।
सम्मेलन पुराना किसान कार्यकर्ता चन्द्रबहादुर बाडेको सभापतित्वमा भएको थियो ।
विविध भाषा साहित्य समाजको आयोजनामा नयाँ वर्षको अवसरमा शुक्रबार बिहान प्रभातफेरीको आयोजना भयो । बोडेको चारदोबाटोबाट शुरु भएको प्रभातफेरी मध्यपुर नगर परिक्रमा गरी नगदेशको कुम्हालाछी पुगेर समापन भएको थियो ।
प्रभातफेरीमा समाजका अध्यक्ष सूर्यराम था र सचिव शिवहरि प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *