भर्खरै :

कालीगण्डकीजस्तै युवा विदेश बग्दै छन् !

कालीगण्डकीजस्तै युवा विदेश बग्दै छन् !

“अमेरिका बस्ने मुन्छे कताबाट आए,
अङ्ग्रेजी त जान्दिन म नेपालीमै गाएँ,
सइँ प¥यौ विदेशी, मै परेँ घरगामले !”
पोखराबाट म्याग्दी जाने गाडीमा प्रकाश सपुत र निसा सुनारको गीत धेरै पटक गुन्जिरह्यो । अमेरिका पुगेका नेपाली र नेपालमै बसेका मान्छेहरूको मनोवैज्ञानिक अन्तरलाई यो गीतले उजागर गरेको छ । नेपालबाट अमेरिका गएका मान्छेको लवाइ खवाइ, रहनसहन, बोलीचाली तथा हिँड्ने शैलीमा परिवर्तन देखा पर्छ । हाम्रो समाजमा अमेरिका गएका मान्छेको छुट्टै सान छ । अमेरिका पुगेका नेपालीहरूको परिवारले समाजमा बेग्लै रवाफ देखाउँछन् । विदेश जानेहरूले नेपालमा केही नै छैन कि जस्तो पनि गर्छन् । यसकारण, कतै अमेरिकालगायतका देशमा गएका मान्छेले नेपालै त बिर्सने होइन भन्ने दुखेसो गीतमा प्रस्तुत गरिएको छ । जीवन गुजाराको निम्ति जसोतसो नेपालमै गर्न सकिने विचार पनि प्रकाशले गीतमार्फत प्रस्तुत गरेका छन् ।
अमेरिका बस्ने निसा सुनारले नेपाल फर्कँदा प्रकाशसँगको दोहोरी भेटमा जवाफ दिन्छिन् :
“विदेश बस्दा देश सम्झेर यसै मन रुनी,
यतिविधि खसालेर नभनेभा हुनी,
नभन विदेशी, छ मन घर गाममै !”
आफूलाई विदेशीभन्दा चित्त दुखेको, विदेसिने चाहना होइन बाध्यता हो, बाध्यताले विदेश भासिनु परे पनि आफ्नो मन नेपालमै रहेको, देशको सिस्टम राम्रो नहुँदा नेपाली युवा विदेसिन बाध्य भएको भाव निसाले दोहोरीमार्फत व्यक्त गर्छिन् ।
हेम्जाको सलल बग्ने बाटोबाट नाउडाँडा, लुम्ले, पर्वतको कुष्मा, वाग्लुङ हुँदै म्याग्दीको बेनी पुग्दासम्म यो गीतले हामीलाई साथ दियो । गीतले मनोरञ्जनका साथै अनेक प्रश्न उब्जाएका छन् । पोखरादेखि बेनी पुग्दासम्मको भूगोल, शीतल हावा बहने पर्वत, कलकल बग्ने सेती, कालीगण्डकी नदी, माछापुच्छ«ेलगायतका मनमोहक हिमश्रृङ्खला, सारङकोट र नाउडाँडाबाट कास्कीको आँगनमा देखिने कञ्चन फेवा ताल, समीपबाट दृश्यावलोकन गर्न सकिने सुन्दर अग्ला पहाडहरूले मन उसै लोभ्याउँछ । यो पहाडी भूगोलमा मनग्ये अन्न, फलफुल उत्पादन गर्न सकिने उर्वर भूमि पनि छन् । पशुपालनको निम्ति उपयुक्त हरियाली घाँसे भिरपाखाहरू जताततै देखिन्छन् । पर्वत र बाग्लुङमा लामालामा झोलुङ्गे पुलहरू पनि छन् । नेपालकै लामो झोलुङ्गे पुल पर्वत र बाग्लुङमै बनेको छ । साहसिक खेल ‘बन्जी जम्प’ को लागि पनि बाग्लुङ–पर्वत उपयुक्त स्थल हो । समग्रमा नेपाल अपार अवसरको भण्डार हो । पर्यटकहरूलाई नेपाली भूगोलले सदैव आकर्षित गरिरहन्छ । गरिखानको निम्ति नेपालमा धेरै अवसर छन् । तर, पनि नेपाली युवा लर्को लागेर विदेसिरहँदा नेपालीको मन कुँडिनु त स्वाभाविकै हो ।
पोखराबाट छुटेको हाय्समा (सानो गाडी) चालकबाहेक हामी ९ जना यात्री थियौँ । ९ जनामध्ये ४ जना १८–२० वर्षका युवा थिए । तीमध्ये भर्खरै एसईई उत्तीर्ण गरेका २ जना र १२ पास गरेका २ जना युवा थिए । तिनी सबैले विदेश जाने चाँजोपाँजो मिलाउन पोखरा गएको बताए । हामीले पढाइलाई निरन्तरता दिनुपर्छ, अहिले नै विदेश जानु हुन्न भनेर सम्झाउन खोज्यौँ । तर, ती युवा मान्ने अवस्थामा थिएनन् । २ जना युवाले घरको आर्थिक अवस्था नाजुक भएको कारण शिक्षालाई अगाडि बढाउन सकिने अवस्था नरहेको बताए । “नेपालमा अवसर छैन घरखेत बन्धक राखेर भए पनि विदेश त जानैप¥यो” म्याग्दी जलजलाका एक युवाले दुखेसो पोखे ।
४ जनामध्ये दुईजना युवा हुनेखाने नै रहेछन् । पोखरामा घडेरी, पर्वतमा मनग्ये जग्गाजमिन र पारिवारिक आम्दानी पनि रामै्र भएका रहेछन् । उनीहरू सकेसम्म अमेरिका जाने नसके बेलायत, जापान, अस्टे«लिया जाने तरखरमा रहेछन् । हामीले उनीहरूलाई पनि किन जानु विदेश ? नेपालमै गरिखानुपर्छ, भन्यौँ । तर, उनीहरू पनि हाम्रा कुरा सुन्ने अवस्थामा थिएनन् । अमेरिका गएपछि ठूलै कुरा हात लाग्छ भन्ने सोचाइमा थिए उनीहरू । युवाहरूको दिमागमा अमेरिका मोह छर्लङ्गै देखियो । नेपालमा अवसर नभएपछि गरिबीको जाँतोमा पिसिएका नेपालीहरू विदेसिन खोज्नु स्वाभाविकै हो । तर, करोडौँको सम्पत्ति भएका र नेपालमा राम्रै व्यापार–व्यवसाय भएकाहरूसमेत विदेसिन खोज्नु चिन्ताजनक छ ।
नेपाली युवा अमेरिकालाई स्वर्गजस्तै ठान्छन् र अमेरिका पुग्ने सपना साँच्छन् । यसकारण, अमेरिका नेपाली युवाको पहिलो प्राथमिकतामा पर्दछ । तर, यथार्थ फरक छ । आजको अमेरिकी शासकहरू आदिवासीहरूको रगतको आहालमा पौडी खेलेर आएका हुन् । उनीहरू विश्वलाई साम्राज्यवादी पञ्जाले जक्डन चाहन्छन् । इतिहासकारहरूका अनुसार अमेरिकामा युरोपेली आप्रवासीहरू आउँदाको समयसम्म करोडभन्दा बढी आदिवासी थिए । युरोपेली आप्रवासीहरूले मच्चाएको हत्या र हिंसाको श्रृङ्खलाले सन् १९०० सम्ममा उनीहरूको जनसङ्ख्या ३ लाखमा झ¥यो । अहिले अमेरिकामा त्यहाँको सङ्घीय सरकारले मान्यता दिएको ५ सय प्रकारका आदिवासी समुदाय छन् । उनीहरूको जनसङ्ख्या ३० लाखको हाराहारीमा मात्रै छ । ती ३० लाखको सङ्ख्यामा रहेका आदिवासी एक शताब्दीअघि करिब १ करोड ५० लाखको सङ्ख्यामा रहेकामध्येबाट जीवित रहन सफल भएकाका सन्तान हुन् ।
सन् १७७६ जुलाई ४ मा बेलायती उपनिवेशबाट अमेरिकी स्वतन्त्रताको घोषणा काला जाति र आदिवासी अमेरिकी जनतालाई उन्मूलन गर्न अपनाइएको बर्बरतापूर्ण हत्या, हिंसाको इतिहासमा टेकेर भएको थियो । अहिले पनि अमेरिकामा गोरा आप्रवासीहरूको कोपभाजनमा अमेरिकी आदिवासी, अफ्रिकी र एसियाली अमेरिकीहरू पर्छन् । युरोपेली मूलका गोरा शासकहरूले अमेरिकामा मात्र नभई विश्वका अरू जातिलाई पनि तल्लो स्तरको ठान्दछन् । अहिले पनि अमेरिकामा रङ्गभेद चरमचुलीमा छ । अमेरिकामा रहेका युरोपेली आप्रवासी शासकहरूकै कारण विश्व अशान्त छ । यो कुरा अमेरिकी मोह भएकाले बुझ्ने कहिले ?
करिब ३ बजेतिर हामी बेनी पुग्यौँ । यात्रामा विदेसिन चाहने युवाहरूसँग भएका छलफलपश्चात् मन ग¥हुँगो बनाएर बेनीमा ओर्लियौँ । पूर्वबाट म्याग्दी नदी र उत्तरबाट गड्गडाउँदै बग्दै आएकी कालीगण्डकीलाई यसो नियाल्यौँ । पानीका फोकाजस्तै मनमा कुराहरू खेल्न थाले । कालीगण्डकीजस्तै नेपाली युवा विदेश बग्दै छन् । पाखापखेरा बन्जर हुँदै छ । रोक्नुपर्छ, अब रोक्नैपर्छ, नत्र यो मुलुक रसातलमा पुग्छ । सुस्केरा हाल्दै हामी बाबियाचौरतर्फ लाग्यौँ ।
२०८० असार २९ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *