भर्खरै :

शिक्षकलाई सुनको गहनाको शृङ्गारभन्दा विचारको शृङ्गार जरुरी

शिक्षकलाई सुनको गहनाको शृङ्गारभन्दा विचारको शृङ्गार जरुरी

भक्तपुर, १३ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीलाई राजनीतिक चेतना दिएरमात्र शिक्षकको कर्तव्य पूरा हुने धारणा राख्नुभएको छ ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले शनिबार बिहान आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको राजनीति राम्रो नहुँदा विद्यार्थी निराश भएर विदेश पलायन भएको भनाइ राख्नुभयो । विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको बिचमा जेल पर्ने भएर पनि राणा शासनको बेला विद्यालय खोल्ने काम भएको उदाहरण दिँदै उहाँले राजनीति देश जोगाउनको निम्ति हो भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले शिक्षक, पत्रकार, कर्मचारी, व्यापारी आदि विभिन्न पेसा तथा व्यवसाय गरेर देशको सेवा गर्न सकिने भन्दै शिक्षकले सुनको गहनाको शृङ्गारभन्दा विचारको शृङ्गार लगाउनुपर्ने बताउनुभयो ।
नेमकिपाले सांसदलाई भन्सार सुविधामा गाडी दिलाउने नीतिको विरोध गरेको सम्झना गर्दै उहाँले सांसदको काम देशको निम्ति कानुन तथा नीति निर्माण गर्ने हुनुपर्नेमा व्यक्तिगत फाइदा उठाउनमा ध्यान गएकाले विकृति बढेको हो भन्नुभयो । उहाँले सांसद सदस्यलाई अवकाश भत्ता दिने प्रस्तावको पनि विरोध गरेको चर्चा गर्दै नेमकिपाको विरोधकै कारण त्यो प्रस्ताव असफल भएको भनाइ राख्नुभयो ।
नेमकिपाले मतसीमा (थ्रेसहोल्ड) को विरोध गरेको तर अहिले प्रतिनिधिसभामा १० वटा सीट जित्ने पार्टीले समेत राष्ट्रिय मान्यता नपाएपछि मात्र चेत खुलेको तर्क गर्दै अध्यक्ष बिजुक्छेँले नेमकिपाले आफ्नो निम्ति नभएर देशको निम्ति जनविरोधी प्रावधानको विरोध गरेको भनाइ राख्नुभयो ।
प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकाबाट चीनतर्फ बे्रन ड्रेन भइरहको परिस्थितिमा अमेरिका, अष्ट्रेलिया तथा युरोप जानु गलत भएको भन्दै देशको सेवाको निम्ति काम गर्नुपर्ने विचार राख्नुभयो ।
इसानका पूर्वअध्यक्ष एवम् सल्लाहकार सरोजराज गोसाईले शिक्षाले युगको आवश्यकता पूरा गर्नुपर्ने भएकोले शिक्षकले युगसापेक्ष शिक्षा दिन क्षमता अभिवृद्धि गर्नुपर्ने भनाइ राख्नुभयो ।
इसान, भक्तपुर जिल्ला समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रममा इसानका सल्लाहकारहरू आशाकुमार चिकबञ्जार र पुष्पलाल सुजखू, अध्यक्ष प्रेमजन थापा, उपाध्यक्ष सनकमान महर्जन, महासचिव पुरुषोत्तम ग्वाछा, सदस्य कृष्णसुन्दर प्रजापतिलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेँले १५ वर्षभन्दा बढी सेवा गर्ने इसानका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रमाणपत्रद्वारा सम्मान गर्नुभएको थियो । त्यस्तै, २०७९ को विद्यालय शिक्षा (एसईई) मा इसानका सदस्य विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई बधाईपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *