भर्खरै :

भारतीय हस्तक्षेप र अतिक्रमणको विरोध आवश्यक

भारत नेपालको छिमेकी देश हो । छिमेकी देश भएर पनि व्यवहारतः नेपालको मित्र देश हुन सकेको छैन । पञ्चायतकालदेखि अहिलेसम्म नेपालमा भारतको दबाब बढेको छ । नेपाललाई भारतनिर्भर बनाउने भारतीय शासकहरूको उद्देश्य थियो । नेपाललाई परनिर्भर बनाइराख्ने र नेपालको लागि चाहिने सामान भारतबाट ल्याउन बाध्य पार्ने काम भारतीय शासकहरूले गरिरहे । मानौँ नेपाल भारतको व्यापार गर्ने केन्द्र हो, आम्दानी गर्ने स्रोत हो । देशका उद्योगधन्दा हातमा लिने, देशका ठूलठूला योजनाको ठेक्का लिनेदेखि कोसी, गण्डकी, महाकाली आदि असमान सम्झौता गरेर देशको जलस्रोत हात पार्ने काम भारतले गरिरहेको छ । नेपालको संविधानसमेत भारतको आफ्नो अनुकूलमा बनाउन दबाब दिइएको थियो । आफ्नो अनुकूलको संविधान बनाइएन भनेर भारतले पेट्रोलियम पदार्थ रोकेर नाकाबन्दी गरेको थियो । यी सबै गतिविधिबाट भारत नेपाललाई आफ्नो छत्रछायामा राख्न चाहन्छ भन्ने थाहा हुन्छ ।
नेपालको प्रधानमन्त्री बन्न र बनाउन पनि भारतको हात रहेको कुरा बेलाबखत सत्तारुढ दलका नेताहरूले दिएको अभिव्यक्तिबाट आकलन गर्न सकिन्छ । सरकार ढाल्ने र बचाउने े काममा पनि भारतको चलखेल हुन्छ । प्रधानमन्त्री भएलगत्तै भारतको भ्रमण गर्नैपर्ने बाध्यता किन ? त्यो पनि पहिलोपल्टै । अनि नेपालका शासकहरू भारतको अगाडि किन आत्मसमर्पण गर्छन् र झुक्छन् ? यहाँका शासकहरू भारतीय शासकहरूको अगाडि किन बोल्ने आँट गर्दैनन् ? भारतीय पक्षबाट भइरहेको अतिक्रमण, दबाब र थिचोमिचोको विरोधमा यहाँका शासकहरू चुइँक्क बोल्दैनन् । माओवादी युद्धमा भारतकै हात थियो । माओवादी नेताहरूको सुरक्षा भारतले नै गरेको थियो । भारतीय शासकहरूले नेपालमा जे गरे पनि बोल्न नमिल्ने गरी भारतीय शासकहरूले नेपाली शासकहरूलाई कुनै न कुनै सम्झौता या सहमतिमा हस्ताक्षर नगराएका भए यहाँका शासकहरू भारतको अगाडि त्वम् शरणम् गर्दैनन् । भारतले नेपाललाई गरिरहेको थिचोमिचोको समेत नेपालका शासकहरू चुँ बोल्दैनन् ।
भारतले नेपालमा आफ्नो अनुकूलको सरकार बनाउन चााहेको हुन्छ । तर, त्यसमा नेपालका शासकहरू फस्नु हुँदैन । नेपालले अरू देशसँग सामान लिएको भारत चाहँदैन । एक समय चीनसँग नेपालले हतियार लियो भनेर भारतले नेपालमा आर्थिक नाकाबन्दी गरेको थियो । अरू देशबाट सामान ल्याउन भारतसँग स्वीकृति लिनुपर्ने, कति सामान भारतसँग नलिई अरू देशसँग लिन नमिल्ने सम्झौतासमेत भारतले नेपालसँग गरेको थियो । नेपालमा भारतको चलखेल बढिरहेकोमा यहाँका शासकहरूको कमजोरी पनि हो । नेपाली शासकहरूको कमजोरीले गर्दा नै भारतीय शासकहरूले फाइदा उठाउँदै आएका छन् । यो क्रम जारी छ ।
नेपाल भारतसँग भएको कति असमान सन्धि सम्झौताले नेपालको भूमि गयो, जलस्रोत गयो, उद्योग गयो । सीमा स्तम्भ हटाइयो । भारतीय पक्षले एकतर्फी बाँध तथा तटबन्ध बनाएर नेपाली भूमि डुवानमा पा¥यो । सीमा स्तम्भ हटाएर नेपाली भूमिमा स्तम्भ गाड्ने, पछि भारतको भूमि भन्दै नेपाली बस्ती उठाउने काम पनि भारतीय पक्षले गरिरहेको छ । यस्ता दबाब, प्रभाव, अतिक्रमण, हस्तक्षेप र भारतीय एकाधिकार पुँजीको कारण भारत नेपालको कसरी मित्र हुनसक्छ ? नेपालको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने भारत कसरी असल मित्र हुनसक्छ ? देशलाई बर्बाद बनाउने, परनिर्भर बनाउने काम भारतीय पक्षले गरिरहेको छ । यसतर्फ देशका शासक र ठूला दलहरूले ध्यान पु¥याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *