भर्खरै :

घरदैलो नर्सिङ र विद्यालय नर्स सेवालाई योजनाबद्ध ढङ्गले अगाडि बढाउने लक्ष्य

घरदैलो नर्सिङ र विद्यालय नर्स सेवालाई योजनाबद्ध ढङ्गले अगाडि बढाउने लक्ष्य

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको असार महिनाको मासिक बैठक सोमबार बस्यो ।
बैठकमा प्रमुख प्रजापतिले जनताको घरघरमा गई सहज र सुलभरूपमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
विशेषगरी बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सेवाको शुभारम्भ भएको बताउँदै उहाँले घरदैलो नर्सिङ र विद्यालय नर्स सेवालाई योजनाबद्ध ढङ्गले अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो ।
घरदैलो नर्सहरूले जनप्रतिनिधि र जनताबिचको समन्वयकर्ताको रूपमा काम गर्न प्रेरित गर्दै उहाँले समय समयमा विभिन्न रोगहरूबारे जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै आफ्नो असल व्यवहार र बोलीबाट बिरामीहरूको सेवा गर्न मार्गनिर्देशन गर्नुभयो ।
प्रमुख प्रजापतिले नयाँ आर्थिक वर्षमा ख्वप अस्पतालले नयाँ नयाँ योजनाहरू अगाडि सार्ने बताउँदै उहाँले जनतालाई प्रत्यक्ष महसुस गर्न सक्ने सेवा प्रदानमा अस्पतालले जोड दिँदै जाने बताउनुभयो ।
कार्यक्रममा १० वटै वडाका नर्सहरूले वडावासीहरूको स्वास्थ्य अवस्था तथ्याङ्कगतरूपमा प्रस्तुतीकरण गर्दै घरदैलो नर्सिङ सेवामार्फत आफूहरूले वडा–वडामा डायबिटिजबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको, विद्यालयमा पोषणसम्बन्धी कक्षाहरू सञ्चालन, महिनावारीबारे जनचेतना तथा सुत्केरी र गर्भवती महिलाहरूलाई घरघरमा गएर आवश्यक सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । सोही क्रममा विद्यालय नर्सका नर्सहरूले पनि आफू कार्यरत विद्यालयमा भएको स्वास्थ्य परीक्षण र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *