स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
सरकारको अनेक जिम्मेवारी हुन्छ । ती अनेक जिम्मेवारीमध्ये जनतालाई नागरिक भावना जगाउनु पनि हो । जनतामा नागरिक भावना नभएसम्म उदाहरणीय समाज स्थापना गर्न सकिँदैन । नागरिक भावना जगाउन सचेतनामूलक कार्यक्रम सरकारले गरिरहनुपर्छ । सरकार या सत्तासीन दलका नेताहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन नगरेको या गरे पनि मुख्य सहर या बजारकेन्द्रित भएकोले समाजमा अन्धविश्वास, विकृति र विसङ्गति नहटेको हो । सरकारले कहिले पनि जनताको सांस्कृतिक स्तर उठाउने, नागरिक भावना जगाउने र अन्धविश्वास हटाउनेतर्फ ध्यान पु¥याउन सकेको छैन । सरकारको यही कमजोरीले गर्दा अहिले पनि सहर बजार र गाउँ बस्तीमा अन्धविश्वास यथावत छ ।
अहिले पनि गाउँ–ठाउँमा बोक्सी आउने या बोक्सी लाग्नेमा कति जनता विश्वास गर्छन् । बोक्सीले दुःख दियो भनेरै गाउँवासीहरू मिलेर शारीरिक र मानसिक यातना दिन्छन् । कतिलाई गाउँबाट निकालिन्छ । दिसा खुवाउने, अर्ध नग्न बनाउने, गाउँ घुमाउने र सार्वजनिक स्थलमा बाँधिराख्ने काम बेलाबखत सञ्चारमाध्यममा आइरहेको पाइन्छ । बोक्सी गरिब महिलालाई मात्र किन हुन्छ या बोक्सीको आरोप गरिब महिलामाथि मात्र किन लाग्छ ? नागरिक भावना र सांस्कृतिक स्तरको कमीले दाइजो प्रथाले पनि जनजीवन कष्टकर बनाएको छ । दाइजोकै कारण घर सम्पत्ति सकेको, आत्महत्या गरेको, सम्बन्ध विच्छेद भएको, घरबाट निकालेको, मट्टीतेल छर्केर जलाएको घटना यहाँ नभएको होइन ।
अन्धविश्वासकै कारण छाउपडी प्रथा पनि पूर्णतः अन्त्य भएको छैन । तर, अहिले यसमा धेरै सुधार आइसकेको छ । कम उमेरमा विवाह गर्ने, विवाह गरेपछि पढाइ छोड्ने बाध्यता पनि अर्काे समस्या छ । तल्लो जात भनी देवतास्थानमा पस्न नहुने, इनार, धारामा पानी लिन नपाउने या लिनु परे पनि अरूलाई छुन नहुने र छोएमा शारीरिक यातना भोग्नुपर्ने समस्या अझै अन्त्य भएको छैन । यी यावत समस्या सामन्तहरूको कारण समाजमा फैलिएको हो । भेदभाव, पक्षपात, शोषण, दमन, थिचोमिचो आदि सामन्तवादका अवशेषहरू हुन् । जनतामाझ रहेको यो समस्या हल गर्न या अन्त्य गर्न जनतालाई राजनीतिक चेतना दिनुपर्छ† राजनीतिक चेतना जगाउन दलका कार्यकर्ता, बुद्धिजीवी, सामाजिक कार्यकर्ता, समाजसेवी तथा शिक्षकहरू जुट्नुपर्छ ।
Leave a Reply