भर्खरै :

क्रान्तिको ज्वाला जस्तै ‘रोजा’

क्रान्तिको ज्वाला जस्तै ‘रोजा’

रूस र जर्मनीको बिच तथा चेकोस्लोभाकियाको उत्तरमा पर्ने पोल्यान्डको पूर्वी सीमामा रहेको जामोस्क सहरमा १८७१ मार्च ५ का दिन सर्वहारावर्गकी एक अन्तर्राष्ट्रिय नेतृ रोजा लक्जेम्वर्गको जन्म भएको थियो । उहाँको जीवन आँधीहुरीजस्तै सङ्घर्षै सङ्घर्षमा बित्यो । क्रान्तिको निम्ति उहाँले आफ्नो जीवन समर्पित गर्नुभयो । उहाँको जीवनीबाट हामीले धेरै कुरा सिक्न सक्छौँ ।
रोजा शिक्षित परिवारमै जन्मनुभएको थियो । पाँच वर्षको उमेरमै रोजाको पढाइलेखाइ सुरु भयो । उहाँ पढाइ लेखाइमा अति नै तीक्ष्ण हुनुहुन्थ्यो । उहाँले पढाइ लेखाइमा मात्र नभएर ठूलाबडाको अनुकरण गर्ने र कविता लेख्ने पनि गर्नुहुन्थ्यो । रोजाले परिवारमा आफ्नो मनको भावना लेखेरै प्रकट गर्नुहुन्थ्यो ।
स्कूलमा रूसी हाकिमका छोराछोरीहेक साधारण जनताका छोराछोरीले पढ्ने मौका पाउने थिएनन् भने यहुदी जातिलाई अझ गा¥हो हुन्थ्यो । जातीय विभेदविरुद्ध विद्यार्थीहरू सङ्घर्ष र विद्रोहमा उत्रिरहन्थे । रोजा यस्ता सङ्घर्षप्रति चाख राख्नुहुन्थ्यो ।
सन् १८६३ मा रूसले पोल्यान्ड कब्जा गरेर त्यहाँका जनतामाथि शोषण र दमन गरेको थियो । ‘जहाँ दमन त्यहाँ विद्रोह’ भनेजस्तै रूसी साम्राज्यवादविरुद्ध पोल्यान्डका जनता देशभक्ति र क्रान्तिको बाटोमा अग्रसर हुँदै गए । रोजा पोल्यान्डका जनतामा क्रान्तिको बीउ छर्ने नेतृ हुनुहुन्थ्यो । उहाँले माक्र्स र एङ्गेल्सका रचनाहरू अध्ययन गर्दै जानुभयो । यसले उहाँलाई क्रान्तिप्रति अझ दृढ भएर उभिने साहस प्रदान ग¥यो । माक्र्स र एङ्गेल्सका रचनाहरूको अध्ययनले पनि रोजालाई एक सचेत र गम्भीर माक्र्सवादी बनायो ।
रोजा १८ वर्षको किशोरी अवस्थामै पार्टीको परिपक्व र इमानदार कार्यकर्ताको रूपमा परिचित हुनुभयो । उहाँमाथि पुलिसको आँखा प¥यो । उहाँ भूमिगत भएरै सङ्गठनको काममा निरन्तर लागिरहनुभयो । पुलिसबाट बचाउन पार्टीले उहाँलाई गुप्तरूपमा स्वीजरल्यान्डको जुरिच पु¥यायो । जुरिच रूस र पोल्यान्डका देशभक्तहरूको केन्द्र थियो । रोजाले जुरिचमा क्रान्तिको निम्ति आफूलाई पूर्णरूपले अर्पण गर्नुभयो । रोजाको ध्यान मजदुर आन्दोलनमा बढी केन्द्रित हुन्थ्यो । यसले रोजा पोल्यान्ड मजदुर आन्दोलनको एउटा अभिन्न अङ्गको रूपमा स्थापित हुनुभयो । त्यतिबेला रोजाको भेट एक नाम चलेको समाजवादी लेखक लुवेकसँग भयो । रोजाले लुवेककै नाउँबाट आफ्नो लेख छपाएर जीविका चलाउन थाल्नुभयो ।
यूरोपका धेरै समाजवादीहरू रोजाको नाम र लेखहरूबाट परिचित हुन थालेका थिए । जर्मनमा पनि उहाँ मजदुरहरूको समस्याबारे परिचित हुँदै जानुभयो । रोजाको तीखो बुद्वि र सङ्घर्षशील भावनाले अन्तर्राष्ट्रिय क्षेत्रमा उनलाई चम्किलो नेतृको रूपमा परिचित गरायो । रोजा बढी समय पढाइमै दिनुहुन्थ्यो । सन् १९१२ मा जिपाजिगको एक पत्रिकाको सम्पादक हुँदा प्रतिक्रियावादीहरूले रोजाको कलममाथि रोक लगाउन खोजे । उहाँले आफ्नो आत्मसम्मान र विचारमा कलङ्क लाग्ने देखेर पत्रिकाको सम्पादकबाटै राजिनामा दिनुभयो ।
सन् १९१४ तिर जर्मनमा गाभिएको पोल्यान्डको केही भागमा पोलियाली सभ्यता र कला संस्कृतिलाई नै समाप्त पार्न जर्मन सरकारले बलपूर्वक जर्मनी भाषा र रीतिरिवाज र संस्कृतिलाई थोपर्न खोज्यो । रोजाले त्यसको विरोधमा पुस्तक लेखेपछि उनीमाथि मानहानिको मुद्दा चलाइयो र ३ महिनाको जेल सजाय भयो । त्यतिबेला सेकसनी इलाकाको राजा मरेकाले नयाँ राजाको शुभ उत्सवमा रोजालाई माफी दिइएको थियो तर त्यसलाई रोजाले स्वीकार गर्नुभएन किनभने ३ महिनाको जेल सजायपछि माफीको कुरै आउँदैनथ्यो । तर पनि रोजालाई जबरजस्त कारागारबाट निकालियो ।
रूसमा मजदुर हडताल चल्दै गर्दा सन् १९१५ को रूसी क्रान्तिको सन्देश लिएर रोजाले मजदुरहरूको सङ्गठनमा रूसको बाटो लिने प्रस्ताव राख्नुभयो । तर, उनको प्रस्तावलाई काँटछाँट गरेर मोड्ने काम भयो । प्रस्तावमाथि काँटछाँट भएको रोजालाई मन परेन र त्यसविरुद्ध आलोचनात्मक भाषण दिनुभयो । यही भाषणले रोजालाई पुनः हिरासतमा पु¥यायो । उहाँलाई दुई महिनाको जेल सजाय भयो । तर पनि रोजाको समर्पण र आत्मविश्वासको कारण मजदुरहरूमा राम्रो प्रभाव पर्दै गयो ।
१९१५ को रूसी अक्टोबर क्रान्तिताका मजदुर हडतालको कारण कलकारखाना, रेल, प्रेस, टेलिफोन सबै बन्द थिए । विद्रोहको आगो पोल्यान्ड पुगिसकेको थियो । रोजा नक्कली पासपोर्ट बनाएर छद्म भेषमा पोल्यान्डतर्फ लाग्नुभयो । रोजा यात्रा गरेको रेल सेनाले भरिएको थियो । हरेक पाइलामा खतरा थियो । रोजा खतराको पर्वाह नगरी वार्सा पुग्नुभयो । हडताललाई दबाउन त्यहाँ फौजी कानुन लागु भइसकेको थियो ।
मजदुरको हडताल तथा आन्दोलनमाथि दमन सुरू भयो । धमाधम पार्टी कार्यकर्ताको गिरफ्तारी हुन थाल्यो , प्रतिक्रियावादी सरकारले घर घेरेर खानतलासी लिई मुद्दा नचलाई जेल सजाय सुनाउन थाले । यस्तो विषम परिस्थितिमा पनि रोजा आत्तिनुभएन । उहाँले कारखाना, सभाहलमा आन्दोलन चालु राख्ने, प्रचार गर्ने, अखबार, पर्चा र पुस्तिकाहरू निकाल्दै जाने काम निरन्तर गर्दै जानुभयो । धैर्यता र संयमतका साथ सङ्गठनको कामलाई पनि उहाँ अगाडि बढाउँदै जानुभयो ।
रोजाको गतिविधिले पुलिस र गुप्ती सेनाहरूलाई पनि आच्छुआच्छु पा¥यो । उहाँले गोप्य सङ्गठनमार्फत तीन महिनासम्म सङ्घर्ष गरिरहनुभयो । सन् १९१६ मार्च ४ मा रोजा पक्राउ पर्नुभयो र पोल्यान्डको राजधानी वार्साको नगर भवनमा थुनिनु भयो । रोजालाई बहुला र अरू १४ राजबन्दीसँगै थुने । थुनिएको ठाउँमा अपराधीहरूको अवस्था दयनीय थियो । जेलको खराब अवस्था देखेर रोजाले अस्वस्थ अवस्थामै जेलभित्र अनसन सुरू गर्नुभयो । रोजालाई जेलमा अनेक किसिमका शारीरिक तथा मानसिक यातना दिइयो तर पनि उहाँ शत्रुको अगाडि कहिल्यै झुक्नुभएन । अनेक दुःख कष्ट उहाँ झेलेर अपमानसँग जुझ्दै जानुभयो ।
जेलका अधिकारीहरूले रोजालाई बाहिर सम्पर्क गर्न दिएनन् । उनलाई थुनिएको जेलमा पर्खाल बनाइएको थियो । रोजाले त्यसविरुद्ध सङ्घर्ष गर्नुभयो । यस्तो अप्ठ्यारो परिस्थितिमा रोजाले जेलभित्र सबै कैदीहरू सुतिसकेपछि ९ देखि २ बजेसम्म पार्टी अखबारको निम्ति लेख लेख्नुहुन्थ्यो । रोजाको स्वास्थ्य खराब हुदै गयो, तर पनि उहाँले जर्मन सरकारको कुनै सहानुभूति लिनुभएन ।
वार्सा जेलबाट छुटेपछि रोजा पिट्सवर्ग (लेनिनग्राड) जानुभयो । पिट्सवर्गबाट उहाँ फिनल्यान्ड पुग्नुभयो । फिनल्यान्डमा राजनैतिक बन्दीहरूसँग भेटघाट गर्नुभयो । त्यहाँ रोजाले ‘ठुलो हडताल, पार्टी र मजदुर सङ्घ’ भन्ने किताब लेख्नुभयो ।
रोजाले संशोधनवाद र अन्धराष्ट्रवादविरुद्ध पनि सङ्घर्ष गर्दै जानुभयो । उहाँले मजदुरहरूले गरेको प्रदर्शनमा भाग लिँदै त्यसलाई ऊर्जा दिने काम गर्नुभयो । त्यसकारण, रोजामाथि प्रहरीको चर्को निगरानी बढ्यो । ४ जुलाई १९१६ मा रोजा सादा पोशाकका प्रहरीबाट पुनः पक्राउ पर्नुभयो । उहाँलाई महिला कारागार पठाइयो । युद्धको अवधिमा रोजा ३ वर्ष ४ महिना कारागारमा रहनुभयो । सन् १९१८ नोभेम्बर १० मा जेलमुक्त भएपछि उहाँ बर्लिन पुग्नुभयो । जर्मनीमा लिब्नेख्तले ‘स्वतन्त्र समाजवादी जर्मन’ गणतन्त्र घोषणा गरे । रोजा क्रान्तिको रक्षा गर्न जर्मनीमा सर्वहारा लालरक्षकहरू र मजदुर मिलिसियाको निर्माण गर्ने पक्षमा हुनुहुन्थ्यो । प्रतिक्रियावादी सरकार भने बर्लिनमा सेना जम्मा गरेर क्रान्तिलाई कुल्चन खोज्दै थियो ।
रोजा एक होटलमा बसेर आफ्नो काम गर्न थाल्नुभयो । २८ नोभेम्बरको दिन होटलमा होहल्ला भयो । रोजाको विरोधमा होटलको चारैतिरबाट नाराबाजी हुन थाल्यो । त्यसपछि उहाँ पुरानै डेरा सर्नुभयो । प्रतिक्रियावादी सेनाहरूले रोजालाई खोज्न थाले । १४ जनवरी १९१९ को रात ९ बजे रोजालाई डेराबाट मोटरमा राखी सिपाहीँहरूले इडन होटल पु¥याए । रोजालाई चारैतिरबाट सिपाहीहरूले घेरेका थिए भने उहाँमाथि अभद्र व्यवहारसमेत भयो । रोजालाई हिँड्दाहिँड्दै सिपाहीँहरूले बन्दुकको कुन्डाले बरोबर टाउकोमा हिर्काए । रोजाको नाक, मुख, कानबाट रगत बग्न थाल्यो । त्यहाँबाट सय मिटर टाढा पु¥याएर उनलाई प्रतिक्रियावादी सेनाले गोली हानेर नालीमा फालिदिए । ३१ मई १९१९ को दिन एक नहर नजिक रोजाको लास भेटियो । यसरी प्रतिक्रियावादीहरूसँग लड्दालड्दै एउटी क्रान्तिकारी नेतृको जीवन अन्त्य भयो ।
पुँजीवादी क्रूरताको विरोधमा वर्गसङ्घर्षमार्फत विश्वभरका श्रमजीवीवर्गको मुतिmको लागि नीरन्तर सङ्घर्ष गर्ने रोजा एक अन्तर्राष्ट्रिय क्रान्तिकारी नेतृको रूपमा श्रमजीवीवर्गको मन मनमा रहनुभएको छ । महिलालाई साधनको रूपमा मात्रै प्रयोग गर्ने पुँजीवादी विभेद एवम् शोषणविरुद्ध सङ्घर्ष गर्ने, महिलालाई मताधिकार दिनुपर्ने, काममा समान ज्याला हुनुपर्ने धारणा राखी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनुहुने एक क्रान्तिकारी नेतृको रूपमा रोजालाई विश्वले सधँै स्मरण गर्नेछ ।
उहाँ भन्नुहुन्थ्यो, “म थिएँ, म छु र म हुनेछु ।” वास्तवमा रोजा सधैँ क्रान्तिकारीहरूको मनमा क्रान्तिको ज्वाला बनेर छाइरहनेछिन् । उहाँले गर्नुभएको सङ्घर्ष तथा योगदान हामीसामु सधैँ प्रेरणाको स्रोतको रूपमा रहनेछ ।
(रोजा लक्जेम्बर्ग पुस्तकमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *