शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
(यो चिनारी बटलरको पुस्तक, विभिन्न समयमा उनले दिएका मन्तव्य तथा उनको विषयमा एडम पारफ्रे र जेसी भेन्ट्युराले लेखेका लेखहरूमा आधारित छ । ‘मजदुर’ दैनिकका आगामी केही अङ्कमा स्मेड्ली बटलरको छोटो तर ओजिलो पुस्तक ‘युद्ध कालो धन्दा हो’ को भावानुवाद प्रकाशित हुँदै छ – सं)
पाठ १
युद्ध कालो धन्दा हो !
युद्ध कालो धन्दा हो । सधैँ कालो धन्दा रहँदै आएको छ युद्ध । सम्भवतः यो सबैभन्दा पुरानो र सजिलो नाफादायी धन्दा हो । सबैभन्दा पापिष्ट धन्दा हो । अन्तर्राष्ट्रिय आयाम भएको धन्दा हो । यो एकमात्र यस्तो धन्दा हो जसको नाफा डलरमा गनिन्छ र घाटा मान्छेको लासमा गनिन्छ ।
कालो धन्दा सबैभन्दा उचित शब्द हो । मलाई लाग्छ युद्ध बहुमत जनताले सोचेजस्तो धन्दा होइन । यसको विषयमा सानो ‘भित्री’ गिरोहलाई मात्र थाहा हुन्छ । थोरै मानिसहरूको लाभको लागि धेरै मानिसको जीउज्यानलाई दाउमा राखेर युद्ध गरिन्छ । युद्धबाट थोरै मानिसहरूले अकुत नाफा कमाउँछन् ।
(पहिलो) विश्वयुद्धमा मुट्ठीभर मानिसहरूले द्वन्द्वको लाभ उठाए । विश्वयुद्धमा संरा अमेरिकामा मात्र कम्तीमा २१ हजार नयाँ करोडपति र अर्बपति जन्मे । धेरैले आयकर तिर्ने बेला युद्धका कारण नाफा कमाएको बताए । के थाहा, अझ कति युद्ध करोडपतिहरूले करछली गरेका होलान् ।
यी युद्ध धनाढ्यहरूमध्ये कतिले राइफल बोके ? कतिले ट्रेन्च खने ? मुसैमुसा दौडिने बङ्करहरूमा भोकभोकै बस्नु भनेको के हो, यिनीहरूमध्ये कतिले थाहा पाए ? यिनीहरूमध्ये कतिजनाले अनिन्द्रामा रात गुजारे ? कतिले काखीमा गोलाबारुद र मेसिनगनका गोलीहरू च्यापेर डराइडराइ रात कटाए ? यिनीहरूमध्ये कतिले शत्रुका संगीनको घातबाट आफूलाई जोगाए ? कतिजना लडाइँमा घाइते भए वा मारिए ?
युद्धमा विजेता देशहरूले थप भूमि पाउँछन् । तिनले सजिलै जग्गा हडप्छन् । यो भूमिलाई केही मानिसहरूले दोहन गर्छन् । तिनै मान्छेले युद्धमा बगेको रगतबाट डलर सोहोर्छन् । त्यसको बिल सर्वसाधारण जनताले चुक्ता गर्नुपर्छ ।
के हो यो बिल ?
यो बिलको हिसाब डरलाग्दो छ । नयाँनयाँ चिहानहरू थपिन्छन् । लासको थुप्रो लाग्छ । दिमाग रन्थनिन्छ । मन भाँचिन्छ । घरबार तहसनहस हुन्छ । अर्थतन्त्र अस्थिर बन्छ । आर्थिक मन्दी छाउँछ र त्यसले पिरव्यथाको पहाड बनाउँछ । पछिल्ला पुस्ताहरूको ढाड सेक्नेगरी करको भारी बढ्छ ।
धेरै वर्ष युद्धमा बिताएको सिपाही हुनाले ममा युद्ध कालो धन्दा हो कि भन्ने आशङ्का थियो । तर, अवकाश लिएर सामान्य जीवनमा आएपछि मात्र म यो कुरामा विश्वस्त भएँ । अहिले विश्वव्यापी युद्धका काला बादलहरू मडारिँदै छन् । यो देख्दा मैले यसको सामना गर्नैपर्छ र बोल्नैपर्छ भन्ने लाग्छ ।
फेरि पनि उनीहरूले खेमा बनाउँदै छन् । फ्रान्स र रुसले बैठक बसेर एउटा खेमामा बस्ने सहमति गरे । इटाली र अस्ट्रियाले हतारिँदै यस्तै सम्झौता गरे । पोल्यान्ड र जर्मनीले पोलिस कोरिडोरको विवाद बिर्सेर एकअर्कालाई मित्रवत कुराकानी गर्दै छन् । युगोस्लाभियाका राजा अलेक्सान्द्रको हत्याले स्थिति पेचिलो बनाएको छ । युगोस्लाभिया र हङ्गेरी पुराना दुश्मन हुन् । पाए उनीहरूले एकअर्काको घाँटी सेर्न तयार हुन्थे । इटाली त्यसमा हामफाल्न तयार थियो । तर, फ्रान्सले पर्खिँदै थियो । चेकोस्लोभाकिया पनि सोही स्थितिमा थियो । यी सबै देशले युद्ध पर्खिँदै छन् । जनता युद्ध चाहन्नन् । आखिर लड्नुपर्ने, युद्धको मूल्य चुकाउनुपर्ने र मर्नुपर्ने जनता नै हुन् । युद्धको परिस्थिति तयार गरेर घर बसीबसी नाफा कमाउनेहरूले नै वास्तवमा युद्ध चाहन्छन् ।
आज विश्वका ४ करोड मानिसहरूको हातमा हतियार छ । तैपनि, हाम्रा नेता र कूटनीतिज्ञहरू युद्ध हुनेछैन भनी धृष्टता गर्दै छन् । लाजले मर्नु ¤ के यी ४ करोड सैनिकहरूलाई नाच्नका लागि तालिम दिइएको हो ?
कम्तीमा इटालीका सैनिकहरू नाच्नेछैनन् । तिनलाई किन तालिम दिइएको हो भन्ने प्रम मुसोलिनीलाई राम्ररी थाहा छ । कम्तीमा उनी स्पष्ट बोल्छन् । ‘अन्तर्राष्ट्रिय शान्तिको लागि कार्नेगी कोष’ को प्रकाशन ‘इन्टरनेसनल कन्सिलियसन’ मा मुसोलिनीको यस्तो भनाइ छापियो, “राजनीतिक दृश्यलाई एकातिर राखेर फासीवादले जतिजति मानव जातिको भविष्य र विकासतिर नियाल्छ र घोत्लिन्छ, दीर्घकालीन शान्तिको उपयोगिता सम्भव नभएको टुङ्गोमा पुग्छ । युद्धले मात्र समस्त मानवीय ऊर्जालाई उत्कर्षमा पु¥याउन सक्छ र त्यसको सामना गर्नसक्ने साहस भएका मानिसहरूमा कुलीनताको मोहर लगाइदिन्छ ।”
मुसोलिनीले जे सोच्छन्, त्यही भन्छन् । यसमा शङ्का गर्नुपर्दैन । उनको तालिम प्राप्त फौज, विमानहरूको विशाल पल्टन र उनको जलसेनासमेत युद्धको लागि तम्तयार छ । उनको सेना युद्धका लागि उत्सुक पनि देखिन्छ । युगोस्लाभियासँगको विवादमा उनले हालै मात्र हङ्गेरीको पक्ष लिनुले यही देखाउँछ । डोलफसको हत्यापछि हतारहतार आफ्नो सेनालाई अस्ट्रियाको सीमामा तैनाथ गर्नुले पनि यही साबित गर्छ । युरोपमा तरबार ठोकिरहेका अरू देश पनि छन् । यसले ढिलोचाँडो युद्ध हुने सङ्केत गर्छ ।
हिटलरले जर्मनीलाई फेरि सशस्त्रीकरण गर्दै छन् । उनी झन् बढी हतियारको माग गर्दै छन् । उनी पनि शान्तिका लागि उत्तिकै ठूला खतरा हुन् । फ्रान्सले हालसालै आफ्ना युवाहरूको अनिवार्य सैन्य सेवाको अवधि बढाएको छ । पहिलेको प्रावधानमा आठ महिना थपेर उसले अनिवार्य सेवाको अवधि अठार महिना पु¥याएको छ । हो, जताततै राष्ट्रहरू हतियार थुपार्ने होडबाजीमा छन् । युरोपका बौलाहा कुकुरहरूको डोरी खुकुलो हुँदै छ ।
पूर्वी देशहरूमा अझ चतुर चलखेल हुँदै छ । सन् १९०४ मा रुस र जापानबिच लडाइँ हुँदा हामीले हाम्रा पुराना रुसी साथीहरूलाई लात हान्यौँ र जापानलाई उकेरा हाल्यौँ । त्यसपछि हाम्रा निकै उदार अन्तर्राष्ट्रिय बैङ्कपतिहरूले जापानलाई पैसा दिइरहे । अहिले त्यही जापानविरुद्ध विषवमन गरिँदै छ र हामीलाई पनि त्यसै गर्न सिकाइँदै छ । चीनसँग ‘खुला ढोका’ नीति भनेको के हो ? चीनसँगको हाम्रो व्यापार वार्षिक ९ करोड डलरको हाराहारीमा छ । फिलिपिन्ससँगको हाम्रो सम्बन्ध के हो ? हामीले गएको ३५ वर्षमा त्यहाँ झन्डै ६० करोड डलर खर्च गरेका छौँ । अमेरिकी बैङ्कपति र पुँजीपतिहरूले मात्र त्यहाँ करिब २० करोड डलर बराबर निजी लगानी गरेका छन् ।
चीनसँगको ९ करोड डलरको व्यापार जोगाउन वा फिलिपिन्सको झन्डै २० करोड डलर बराबरको निजी लगानीको रक्षा गर्न हामीलाई जापानलाई घृणा गर्न सिकाइँदै छ र ऊविरुद्ध युद्धमा उतारिनेछ । त्यो युद्धमा हाम्रो दसौँ अर्ब डलर खर्च हुनसक्छ, लाखौँ अमेरिकीहरूको ज्यान जान सक्छ । लाखौँ अमेरिकीहरूको शरीर काटिन सक्छ, लाखौँ अमेरिकीहरू मानसिक असन्तुलनमा जान सक्छन् ।
जति घाटा भए पनि एउटा कुरा भने पक्का छ । जापानसँगको युद्धमा केही अमेरिकीहरूको भाग्य चम्किनेछ । अरबौँ डलर नाफाको चाङ लाग्नेछ । केही अमेरिकीका घरमा त्यो चाङ लाग्नेछ । हतियार निर्माता, जहाज निर्माता, मालसामान उत्पादक, मासु प्याक गर्ने व्यवसायी, शेरबजारी सबैको भाग्य खुल्नेछ । तिनीहरू मालामाल हुनेछन् ।
हो, तिनीहरू अर्को युद्धको लागि तयार हुँदै छन् । किन नहुनु ? अकुत नाफा बर्सिँदै छ । तर, बहुमत जनतालाई के लाभ ?
मारिनेहरूलाई के लाभ ? शरीर चोइटिनेहरूलाई के लाभ ? तिनका आमा र दिदीबहिनी, तिनका जहानपरिवारलाई के लाभ ? तिनका छोराछोरीलाई के लाभ ? युद्धले मालामाल हुने केही नाफाखोरलाई बाहेक युद्धबाट के लाभ ? राष्ट्रलाई के लाभ ?
हाम्रै देशको अनुभव केलाऔँ । सन् १८९८ अगाडि उत्तर अमेरिकाबाहेक अन्त हाम्रो एक टुक्रा जमिन थिएन । त्यसबेला हाम्रो राष्ट्रिय ऋण १ अर्ब डलर चानचुन थियो । त्यसपछि हामी ‘अन्तर्राष्ट्रिय सोच’ का बन्यौँ । हामीले राष्ट्रपिता जर्ज वासिङ्टनको सल्लाह एकातिर थन्कायौँ, उहाँलाई बिर्सियौँ । हामीले ‘गठबन्धनमा फस्न नहुने’ उहाँको चेतावनी बिर्सियौँ । हामी युद्धमा होमियौँ । हामीले बाहिरी भूमि हडप्यौँ । अन्तर्राष्ट्रिय मामिलामा मुछिएको हुनाले पहिलो विश्वयुद्धको अन्त्यमा हाम्रो राष्ट्रिय ऋण २५ अर्ब डलर पुग्यो । वित्तीय हिसाबकिताब हेर्दा समेत हामी प्रतिवर्ष पछि धकेलिँदै गयौँ । युद्ध नहुँदा हुन त विदेश व्यापार हाम्रो पक्षमा हुने थियो ।
बिल चुक्ता गर्ने औसत अमेरिकीहरूका लागि देश विदेशी मामिलामा नमुछिए जीवन सुरक्षित हुने थियो । कम खर्चमै जीवन चल्ने थियो । मुट्ठीभर अमेरिकीहरूलाई भने युद्धको धन्दाले रक्सीबाजीलगायत अन्य काला धन्दाले जस्तै प्रचुर नाफा दिलाउँछ । तर, यो धन्दाको मूल्य भने सदैव लाभ नपाउने साधारण जनताले चुकाउनेछन् ।

पाठ २
नाफा कसले हसुर्छ ?
विश्वयुद्ध (पहिलो विश्वयुद्ध) मा सहभागी हुँदा मात्र संरा अमेरिकाले ५२ अर्ब डलर खर्च गर्नुप¥यो । अलिबेर सोचौँ त । यसको अर्थ प्रत्येक अमेरिकी नरनारी र बालबालिकाले ४ सय डलर खर्च गर्नुप¥यो । अहिलेसम्म पनि हामीले यो ऋण तिरेका छैनौँ । यो खर्च हामी तिर्दै छौँ, हाम्रा छोराछोरीले तिर्नेछन् र सके तिनका छोराछोरीले पनि यस युद्धको खर्च तिर्दै जानुपर्नेछ ।
सामान्य अवस्थामा अमेरिकाका व्यापारीहरूको नाफा ६, ८, १० र कहिलेकाहीँ १२ प्रतिशतसम्म हुन्छ । युद्धकालीन नाफाको भने अर्कै हिसाब हुन्छ । नाफा २०, ६०, १ सय, ३ सय र कहिलेकाहीँ १८ सयसम्म पुग्छ । युद्धकालीन नाफाको सीमा हुन्न, आकासै छुन सक्छ । युद्धको बेला साम काका (अमेरिकी पुँजीपति) सँग प्रचुर पैसा हुन्छ । यो कुरा अलि बुझौँ ।
निश्चय नै युद्धको बेला सबथोक स्पष्ट देखिन्न । देशभक्ति र स्वदेश प्रेमले ओतप्रोत भाषणहरूमा, ‘सबैले होस्टेमा हैँसे गरौँ’ भन्ने आह्वानहरूमा धेरैथोक लुकेको हुन्छ । यत्तिकैमा नाफाको चाङ आकासिन पुग्छ र त्यसलाई केहीले सुटुक्क खल्तीमा हालिन्छ । केही उदाहरणहरू हेरौँ ः
हाम्रो साथी डुपोन्ट कम्पनीलाई नै लिउँ । यिनीहरू बारुद बनाउँछन् । यही कम्पनीको एउटा मान्छेले हालसालै संसदीय समितिसामु आफ्नो बारुदकै कारण युद्ध जितेको बयान दिएको थिएन त ? युद्धमा आफ्नो योगदानको डिङ हाँकेको थिएन त ? उसले आफूलाई देशभक्त कर्पोसेन भनेको थियो । सन् १९१० देखि १९१४ सम्म डुपोन्टको औसत आम्दानी प्रतिवर्ष ६० लाख डलर थियो । त्यो त्यति ठूलो रकम होइन । पछि डुपोन्टले प्रगति ग¥यो । युद्धको बेला सन् १९१४ देखि १९१८ सम्ममा उसको वार्षिक आम्दानी हेरौँ त । उसको नाफा प्रतिवर्ष ५ करोड ८० लाख डलर पुग्यो ! सामान्य अवस्थामा भन्दा १० गुना धेरै नाफा ¤ युद्धकालमा उसको नाफा ९५० प्रतिशतले बढ्यो ।
देशभक्तिले गर्दा रेलमार्ग, पुलपुलेसा र भवन निर्माणका साधन बनाउन छोडेर युद्ध सामग्री उत्पादनमा लागेका हाम्रा सानातिना स्टील कम्पनीहरूलाई नै हेरौँ । सन् १९१०–१९१४ मा तिनको वर्षको औसत आय ६० लाख डलर थियो । त्यसपछि युद्ध आयो । बफादार नागरिकहरूले जस्तै बेथलहेम स्टील कम्पनीले हतियार बनाउन थाल्यो । तिनको नाफा अचाक्ली बढेको थियो वा साम काकालाई तिनले मोलमोलाइमा घिसारेका थिए ? जे भएको होस्, सन् १९१४–१९१८ मा त्यो कम्पनीको नाफा वर्षको औसत ४ करोड ९० लाख डलर पुग्यो ¤
अथवा, युनाइटेड स्टेट्स स्टीलको कुरा गरौँ । युद्धअघिको पाँच वर्षमा उसको औसत वार्षिक आय १० करोड ५० लाख डलर थियो । आय त्यति खराब थिएन । तर, युद्ध आएपछि उसको नाफा एकाएक बढ्यो । सन् १९१४–१९१८ को अवधिमा उसको औसत वार्षिक आय २४ करोड पुग्यो । यो नाफा नराम्रो हुने कुरै भएन ।
हामीले स्टील र बारुद कम्पनीहरूको नाफा हे¥यौँ । अब अरू पनि हेरौँ । जस्तो, सानातिना तामा कम्पनीतिर नजर लगाऔँ । युद्धको बेला तामा कम्पनीहरू मालामाल हुने गर्छन् ।
उदाहरणलाई एनाकोन्डा कम्पनीको खाता हेरौँ । युद्धअघि सन् १९१०–१९१४ बिच उसको औसत वार्षिक आम्दानी १ करोड डलर थियो । युद्धको बेला सन् १९१४–१९१८ मा उसको औसत वार्षिक नाफा अकासिएर ३ करोड ४० लाख डलर पुग्यो ।
उटाहा तामा कम्पनीको कुरा गरौँ । युद्धअघि सन् १९१०–१९१४ मा उसको वार्षिक औसत आय ५० लाख डलर थियो । युद्धबिच सन् १९१४–१९१८ मा उसको नाफा बढेर वर्षको औसत २ करोड १० डलर पुग्यो ।
यी पाँच कम्पनी र अन्य साना तीन कम्पनीहरूलाई एकमुष्ट हेरौँ । युद्धअघि सन् १९१०–१९१४ मा यिनको नाफा वर्षको औसत १३ करोड ७४ लाख ८० हजार डलर थियो । युद्ध आयो । त्यसपछि उनीहरूको नाफा आकासिएर वर्षको ४० करोड ८३ लाख डलर पुग्यो । नाफामा झन्डै २०० प्रतिशत बढोत्तरी भयो ।
युद्धले मालामाल बनायो त ? बनायो । तिनीहरू मात्र मालामाल भएनन् । नाफा हसुर्ने अन्य कम्पनी पनि छन् । जस्तो छाला कम्पनीलाई नै लिउँ ।
युद्धअघि तीन वर्षसम्म सेन्ट्रल लेदर कम्पनीको जम्मा नाफा ३५ लाख डलर थियो । त्यो भनेको वर्षको झन्डै ११ लाख ६७ हजार डलर नाफा थियो । सन् १९१६ मा कम्पनीको जम्मा नाफा १ करोड ५५ लाख पुग्यो । नाफामा ११ सय प्रतिशत बढोत्तरी भयो । यत्ति हो । युद्धअघि तीन वर्षसम्म जनरल केमिकल कम्पनीको औसत वार्षिक नाफा ८ लाख डलर थियो । युद्धकालमा उसको नाफा १ करोड २० डलर पुग्यो । कम्पनीले १४ सय प्रतिशतको फड्को मा¥यो ।
निकेल धातुबेगर युद्ध सम्भव छैन । इन्टरनेसनल निकेल कम्पनीको नाफा युद्धबिच वर्षको औसत ४० लाख डलरबाट ७ करोड ३५ लाख डलरमा चढ्यो । यसलाई खराब भन्न मिल्छ र ? उसको नाफा १७ सय प्रतिशतभन्दा बढी पुग्यो ।
अमेरिकी चिनी प्रशोधन कम्पनीको नाफा युद्धअघिको तीन वर्षसम्म वर्षको औसत २ लाख डलर थियो । सन् १९१६ मा उसको नाफा ६० लाख डलर पुग्यो ।
संसद्को दस्तावेज नम्बर २५९ मा पढौँ त । संसद्को ६५ औँ सत्रको रिपोर्टमा कर्पोरेटहरूको आम्दानी र राजस्वको हिसाब दिइएको छ । १२२ मासु प्याक गर्ने कम्पनी, १५३ सुती उत्पादक, २९९ पोशाक कम्पनी, ४९ स्टील प्लान्ट र ३४० कोइला उत्पादकले युद्धको बेला केकति आम्दानी गरे, रिपोर्टमा उल्लेख छ । उदाहरणको लागि कोइला कम्पनीहरूको पुँजी १०० देखि ७८५६ प्रतिशत बढ्यो । सिकागो प्याकर्स कम्पनीको आम्दानी दोब्बरदेखि तेब्बर भयो ।
सबैको खाता पल्टाउँदै गर्दा युद्धमा पैसा भर्ने बैङ्कपतिहरूलाई छुटाउनुहुँदैन । कसैले नाफाको नौनी चाखेको छ भने त्यो बैङ्कपतिहरूले चाखेका छन् । कर्पोरेट सङ्गठन नभई साझेदारी कम्पनी हुनाले बैङ्कहरूले आफ्ना सेयर सदस्यलाई सबै रिपोर्ट बुझाउनुपर्दैन । यसले गर्दा बैङ्कपतिहरूको नाफा अथाह मात्र नभई गोप्य पनि हुन्छ । बैङ्कपतिहरूले कसरी अरबौँको नाफा कमाए मलाई थाहा छैन । किनभने, तिनको गोप्यता कहिल्यै सार्वजनिक हुन्न । संसद्को छानबिन समितिलाई पनि त्यो कुरा थाहा हुन्न ।
तर, अरू देशभक्त पुँजीपति र शेरबजारीहरूले कसरी युद्धलाभ लिए भन्ने विषयमा सानो चर्चा गर्न मिल्छ ।
अनुवाद : सम्यक
Leave a Reply