भर्खरै :

अमेरिकाले कोरियाली युद्धबाट पाठ सिक्न सकेन भने उसले पीडा भोग्नुपर्नेछ

अमेरिकाले कोरियाली युद्धबाट पाठ सिक्न सकेन भने उसले पीडा भोग्नुपर्नेछ

ग्लोबल टाइम्सको सम्पादकीय
यस वर्षको २७ जुलाई १९५९ मा तीन वर्ष लामो कोरिया युद्धको युद्धविराम सम्झौतामा हस्ताक्षर भएको ७० औँ वर्षगाँठ हो । यस स्मरणीय दिन आउनु केही दिनअघि, अमेरिकी आणविक ब्यालिस्टिक मिसाइलयुक्त पनडुब्बीले दक्षिण कोरियाको बुसान, १९८३ पछिको पहिलो भ्रमण गरेको थियो । केही अमेरिकी संसद् सदस्यहरूले यो कदम उत्तर कोरियाको लागि चेतावनी मात्र होइन बरु यसको ध्येय चीनको विरुद्धमा अवरोध पनि भएको दाबी गरे ।
संरा अमेरिकाले ७० वर्षअघि कोरिया युद्धमा सिकेका पाठहरूलाई गम्भीरतापूर्वक याद नराखेको देखिन्छ बरु त्यसबेला गरेका गल्तीहरू दोहो¥याइरहेको देखिन्छ । कोरियाली युद्ध युद्धविरामको ७० औँ वार्षिकोत्सवको अवसरमा कोरिया युद्धका पाठहरूको व्यावहारिक महत्व र त्यस युद्धले सिकाएर गएको पाठहरूको समीक्षा गर्न अत्यन्त जरुरी छ ।
कोरियाली युद्ध दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गहिरो क्षेत्रीय द्वन्द्व थियो र यसलाई ‘अमेरिकी सेनाको इतिहासमा सबैभन्दा ठूलो हार’ मानिन्छ । यद्यपि, विडम्बनाको कुरा के छ भने, त्यो ‘सबैभन्दा ठूलो हार’ जसलाई ‘दुःस्वप्न’ भनिएको थियो, अहिले भने वासिङटनले त्यसलाई जानाजानी बेवास्ता गरेको छ र वासिङ्टनमा कोरिया युद्ध ‘बिर्सिएको युद्ध’ बनेकोे छ ।
अमेरिकी शासकहरूको यही लापरबाही र बिर्सने प्रवृत्तिले अमेरिकी जनताले नयाँ नयाँ सङ्कटको सामना गर्न परिरहेका छन् । विगतबाट पाठ सिक्ने चेतनाबिना नै अघि बढ्दा त्यसले उनीहरूलाई विगतका गल्तीहरू दोहो¥याउने जोखिममा पारेको छ । त्यसभन्दा पनि अझ गम्भीर, नराम्रो र खतरनाक कुरा के हो भने, केही अमेरिकी राजनीतिक सम्भ्रान्तहरूले कोरियाली युद्धबाट पूर्णतया गलत पाठ सिकेका छन् र त्यसैको आधारमा आज अमेरिकाको विदेश नीतिलाई गलत दिशामा लैजान, आफ्नो देशलाई सक्रियरूपमा युद्धको निम्ति उक्साउन र सङ्कटलाई बढाउनको लागि नेतृत्व गरिरहेका छन् ।
जुलाई २६ का दिन अमेरिकी पत्रिका फरेन अफेयर्सले अमेरिका र चिनियाँ कम्युनिस्ट पार्टीबिचको रणनीतिक प्रतिस्पर्धासम्बन्धी संसदीय समितिका अध्यक्ष माइक ग्यालाघरले लेखेको लेख ‘कोरिया युद्ध : अमेरिकाले किन बिर्सन्छ र चीनले सधैँ किन सम्झन्छ ?’ शीर्षकमा प्रकाशित भएको थियो । यी वासिङटन राजनीतिज्ञ ग्यालाघर आफ्नो लगातार चीनविरोधी अडानका लागि परिचित छन् र उक्त लेखमा उनले कोरियाली युद्धले अमेरिकालाई सिकाएका तीन ‘पाठहरू’ को सार खिचेका छन् ।
ग्यालाघरका अनुसार पहिलो पाठ हो– “वासिङटनले प्रतिरोध र तत्परतालाई बेवास्ता गर्नुहुँदैन र युद्ध गर्न र सैन्य क्षमताहरू बढाउन सधैँ तयार हुनुपर्छ । उनले सिधै उल्लेख गरेका छन् कि अमेरिकाले ताइवानमा पर्याप्त सैन्य लगानी गर्न असफल भएको छ ।” उनको दोस्रो पाठ हो – “राजनीति र लडाइँ गहिरोरूपमा अन्तर सम्बन्धित छन् ।” तेस्रो पाठ हो – “एक पटक लडाइँ सुरु भएपछि, अत्यधिक आत्म–संयमले थप आक्रामकता निम्त्याउन सक्छ ।”
यी तीन ‘पाठहरू’ सबै चीनमाथि लक्षित छन् । विशेषगरी, ताइवान प्रश्नलाई उल्लेख गर्दै उनको धारणालाई तत्कालीन अमेरिकी जनरल डगलस म्याकआर्थरको अहङ्कार र पागलपनसँग तुलना गर्न सकिन्छ । ७० वर्षअघिको कोरियाली युद्ध र आजको ताइवान प्रश्नको बारेमा धेरैजसो अमेरिकीहरूसँग ज्ञान र विवेकको कमी हुँदा उनीहरूलाई केही चर्का र कट्टरपन्थी आवाजहरूले सजिलै बहकाउन सक्छन् । त्यसको परिणामस्वरूप अमेरिकी कूटनीतिमा सुनाइको प्रभाव बढी हुने गर्छ । संरा अमेरिका एक महाशक्ति भएकोले यसले गरेका गल्तीहरूले प्रायः कडाखाले अप्रत्यक्ष असरहरू निम्त्याउँछन् । ती असरले त्यस देशलाई मात्र हानि गर्दैन तर यस क्षेत्र र सम्पूर्ण विश्वको बोझ पनि बढाउने गर्छ ।
वास्तवमा संरा अमेरिकाले कोरियाली युद्धबाट अमूल्य पाठ सिक्नसक्छ र सिक्नुपर्छ । पहिलो हो – क्षेत्रीय प्रमुख शक्तिहरूको वैध सुरक्षा सरोकारको सम्मान गर्नु । दोस्रो हो –अन्य देशको मामिलामा हस्तक्षेप गर्ने आवेग र महत्वाकाङ्क्षालाई त्याग्नु । तेस्रो हो– संरा अमेरिकाले आफ्नो मातृभूमिको रक्षा गर्ने प्रजग कोरिया र चीनको दृढ सङ्कल्प र क्षमतालाई कहिल्यै कम आकलन गर्नुहुँदैन । यी तीन पाठहरूलाई बेवास्ता गर्नु वर्तमान अमेरिकी आधिपत्यवादको प्रमुख विशेषता बनेको छ । कोरियाली युद्धबाट संरा अमेरिकाले पनि पीडादायी मूल्य चुकाउनु परेको थियो । तर, अमेरिकाले यसबाट पाठ सिक्न सकेन भने भविष्यमा अझ ठूलो गल्ती गर्नेछ ।
कोरियाली युद्धको समयमा चीनले अमेरिकी आक्रामकताको प्रतिरोध गर्ने र उत्तर कोरियालाई सहयोग गर्ने निर्णय गर्नुअघि यसले बारम्बार कडा चेतावनी पठाएको थियो कि यदि अमेरिकी सेनाले ३८ औँ समानान्तर पार गरे चीन निष्क्रिय बस्दैन । तर, चीनले धम्की मात्र दिइरहन्छ र कारबाही गर्दैन भन्ने सोचेर अमेरिकी शासकहरूले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । नतिजाको रूपमा, तिनीहरूले युद्धको मैदानमा चिनियाँ जन स्वयंसेवक रक्षकको सामना गर्नुपर्दा अमेरिकी सेनामा ठूलो हताहति र ठूलो सङ्ख्यामा युद्धबन्दीसमेत बन्नुपरेको थियो ।
आज वासिङटनमा चीनप्रति यस्तै ठूलो गलत धारणा बनिरहेको छ । अहिलेको युग र कोरियाली युद्धको युगमा सबैभन्दा ठूलो भिन्नता भनेको चीनको शक्ति निकै वृद्धि भइसकेको छ । चीनको सुरक्षा चासो र राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन गर्ने कदमको परिणाम निस्सन्देह धेरै गम्भीर हुनेछ ।
त्यसबेला, जब जनरल म्याकआर्थरले चिनियाँ मुख्यभूमिमा युद्ध ल्याउने धम्की दिए, तत्कालीन संयुक्त चिफ अफ स्टाफका अध्यक्ष ओमार ब्राडलीले भने, “चीनसितको व्यापक युद्धले अमेरिकालाई गलत शत्रुसँग गलत युद्धमा, गलत ठाउँमा, गलत समयमा समाहित गर्नेछ ।” इतिहासको विडम्बना ! कोरियाली युद्ध युद्धविरामको ७० वर्षपछि संरा अमेरिका फेरि त्यस्तै भयानक गल्ती गर्ने खतरनाक स्थितिमा पुगेको छ । यद्यपि, यो स्पष्ट हुनुपर्छ कि यदि यसपटक अर्को रणनीतिक गलत निर्णय संरा अमेरिकाबाट भयो भने त्यसले चुकाउनुपर्ने मूल्य पक्कै पनि ७० वर्ष पहिलेको भन्दा धेरै गुणा बढी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *