भर्खरै :

युद्ध कालो धन्दा हो – ६

युद्ध कालो धन्दा हो – ६

यी पूर्व लडाकूहरूले यत्तिकैमा चित्त बुझाउनेछैनन् । कालोबजारीलाई युद्धको बेलामात्र मुक्का हानेर हुँदैन । हतियार उत्पादकहरूले प्रयोग गर्ने उपाय र साधनहरू अमेरिकाको शान्ति र सुरक्षाको लागि डेमोकल्सको तरबार हुने पूर्व लडाकूहरूलाई थाहा छ । ढिलो नहुँदै युद्धको खतरा हटाउनुपर्ने तिनको माग छ । सम्पूर्ण हतियार उद्योगलाई सङ्घीय सरकारले तत्काल नियन्त्रणमा लिनुपर्ने तिनको माग हो । तिनीहरू यी मृत्युका व्यापारीहरू र विनाशलाई निमिट्यान्न पार्न चाहन्छन् । त्यसैले अर्को युद्धको लागि मान्छेलाई हतियार बोकाएर उन्मादी बनाउनुभन्दा अगाडि नै तिनीहरू युद्ध रोक्न चाहन्छन् । युद्धको झिल्को बल्नुभन्दा अगाडि नै उनीहरू युद्धको प्रर्वद्धन र तयारीको घाँटी निमोठ्न चाहन्छन् । अहिले शान्तिकालमा यो देशका हतियार व्यापारीहरू पछि अमेरिकाविरुद्ध नै युद्धको घोषणा गर्न सक्ने देशहरूलाई हतियार बेच्दै छन् । पूर्व लडाकूहरू हतियारको यस्तो खरिदबिक्री र बन्दोबस्त रोक्न चाहन्छन् किनभने तिनै हतियार पछि अमेरिकी युवाहरूलाई मार्नमा प्रयोग हुनसक्छ ।
अमेरिकी पूर्वलडाकूहरूबिच नै अमेरिकाका बफादार र सच्च देशभक्तहरू छन् । तिनलाई कसैले पनि शान्तिवादी वा नियोजित अवरोधक भनेर आरोप लगाउन सक्दैन । कसैले पनि उनीहरूलाई अन्तर्राष्ट्रवादी बनेको आरोप लगाउन सक्दैन । कसैले पनि यिनीहरूले देशलाई शत्रुको हातमा सुम्पने भए भनी लाञ्छना लगाउन सक्दैन किनभने यिनले अमेरिकाप्रतिको आफ्नो सम्मान युद्धमोर्चामा प्रदर्शन गरिसकेका छन् । यिनीहरू विश्वशान्ति आन्दोलनका अगुवा हुन् । यिनीहरूले मात्र जनताको नैतिक समर्थन र विश्वास जित्ने आशा लिन सक्छन् ।
पूर्वलडाकूहरूको पक्षमा हितकारी कानुन बनाउन सुरुदेखि समस्या खडा भएको छ । सुरुदेखि नै यो विषय राजनीतिक भकुन्डो बनेको छ । यो दुःखलाग्दो कुरा हो । विकलाङ्ग पूर्व लडाकूहरूलाई साथ र सहयोगको खाँचो छ । तर, उनीहरूमाथि अन्यायमाथि अन्याय भइरहेको छ । यी अत्याचारहरूले गर्दा यस देशका पूर्व सैनिकहरू राजनीतिकरूपमा टाँठो बन्दै छन् । एकपछि अर्को चुनावको नतिजा हेर्दा उनीहरू झन् तेज बनिरहेको देखिन्छ । आफ्नो हकअधिकारको लागि उनीहरूले अरूले आफ्नो लक्ष्यपूर्तीका लागि अपनाउने गरेजस्तै राजनीतिक दाउपेच सिक्दै छन् । अमेरिकाका १० लाखभन्दा बढी पूर्व लडाकूहरू पाँचवटा पूर्व लडाकू सङ्गठनमा आबद्ध छन् । निकट भविष्यमै अमेरिकाका झन्डै साढे ४० लाख पूर्व सैनिकहरू यी सङ्गठनहरूमा आबद्ध हुनेछन् ।
युद्धको प्रसारबाट हामीले नाफा कमाउन असम्भव बनाइदिएपछि यो देशमा शान्ति छाउनेछ । संसद्ले यसखाले विधेयक पारित नगरेसम्म युद्धबाट नाफालाई हटाउने कहिल्यै आशा गर्न सकिन्न । संसद् सदस्यहरूलाई कि त सो विधेयकको पक्षमा मत खसाल्नुपर्छ, कि भने सरकारी लाभका पद परित्याग गर्नुपर्छ भनेर नबताएसम्म संसद्ले कहिल्यै यस्तो कानुन ल्याउनेछैन । नेताहरूसँग त्यसरी कुरा गर्न सक्ने र तिनको ध्यान तान्न सक्ने एउटै पक्ष भनेको उसको चुनावी क्षेत्रका मतदाता हुन् । बहुमत मतदाताले लगालग यस्तो माग राखे आफ्नो कुर्सी जोगाउन पनि सांसदले त्यसप्रकारको विधेयकमा मतदान गर्नेछन् । जे भने पनि औसत सांसदहरू गाउँले क्षेत्रबाट आएका हुन्छन् । ती गाउँहरूमा हतियार उद्योग हुँदैनन् । त्यसैले उनले आफ्नो कुर्सी डगमगाउला भनेर उनले सुर्ता लिनुपर्दैन ।
यो मुलुकका पूर्व लडाकूहरूका पाँच प्रमुख सङ्गठनहरू देशका सबै संसद्ीय क्षेत्रमा छरिएका छन् । पूर्व लडाकूहरू एउटा सङ्गठित शक्ति हो । त्यसैले यसले एकै दिशामा धक्का दिन सक्छ ।
धनी आदर्शवादी र शान्तिप्रेमी समाजवादीहरू शान्तिको कामनाप्रति निष्ठावान छन् भने तिनले आफ्ना हावादारी सिद्धान्तहरू त्याग्नेछन् र तथ्यको सामना गर्नेछन् । लक्ष्य प्राप्तिको लागि पैसा नै खन्याउने हो भने पनि तिनले पूर्व लडाकूहरूका सङ्गठनमा सामूहिकरूपमा पैसा खन्याउनुपर्छ । ती सङ्गठनका कार्यकर्ताहरू देशभरि छरिएका शिक्षक हुन् र तिनले सो रकम शान्तिको निम्ति शिक्षा अभियानमा लगाउनेछन् । आफू र आफ्ना नातेदारहरूमार्फत् पूर्व लडाकूहरूले कम्तीमा २ करोड मतदातालाई प्रभावित गर्न सक्छन् । यति मतले देशको कुनै पनि चुनावी क्षेत्रका उम्मेदवारलाई हातमा लिन सकिन्छ । हाम्रा शान्ति अभियन्ताहरूले अन्तर्राष्ट्रिय अदालत, अन्तर्राष्ट्रिय सङ्गठन र विदेश सम्बन्धहरू विवाद चर्काउने संस्था मात्र हुन् भनी बुझ्नुपर्छ । यति बुझेको खण्डमा उनीहरू निरर्थक विचारहरूबाट मुक्त हुनेछन् । त्यसपछि उनीहरू गएको युद्ध जसले टुङ्गोमा पु¥याएको थियो, त्यता फर्किनेछन् । यति गरेपछि उनीहरू अर्को युद्धमा होमिनबाट हामीलाई टाढा राख्न सक्रिय हुनेछन् ।
यो कार्यक्रम मूलभूतरूपमा राष्ट्रिय स्तरको हुन्छ । तैपनि, विश्वव्यापी शान्ति एवम् सुरक्षासँग यो अटुटरूपले जोडिएको छ । यो देशका पूर्वलडाकूहरूले अन्य देशका पूर्व लडाकूहरूलाई पनि बाटो देखाउने मौका पाए त्यो आन्दोलन पक्कै पनि विश्वव्यापी बन्नेछ । यसको लागि युद्धको विभिषिका र खतराबाट आफ्ना जनतालाई टाढा लग्न कसरी तिनको नेतृत्व गर्ने भनेर हाम्रा पूर्व लडाकूहरूले विश्वलाई देखाउनुपर्छ । फ्रान्स, बेलायत र जर्मनीका पूर्वलडाकूहरूले आआफ्नो देशमा आफूलाई सङ्गठित शक्तिको रूपमा प्रस्तुत गरेका छन् । तिनीहरू पनि आआफ्ना देशमा हतियार उद्योगलाई सरकारले नियन्त्रण गर्नुपर्छ भनेर माग राख्न विवश हुनेछन् । यति गरे विश्वभरिका जनता विश्वव्यापी शान्ति र भाइचारानजिक पुग्नेछन् । यसरी हाम्रा जुझारु शान्तिवादीहरूले कल्पना गरेभन्दा पनि नजिक शान्तिको झुल्के घाम उदाउनेछ ।
साम काकाको रोइलो
तिम्रा आँखाले तिमीलाई नै पिरे त्यसलाई निकालेर फाल्नुपर्छ । नर्कमा गएर दुवै आँखा गुमाउनुभन्दा यही जुनीमा कानो भई बाँच्नु जाती हुन्छ ।
म्याथ्यु, ९ औँ अध्याय (बाइबल)
युद्ध अपरिहार्य छ भन्ने सिद्धान्त म गलत मान्छु । आफ्नो गुम्सिएको घृणा र इष्र्यालाई निकास दिन बेलाबेला मान्छे लड्छ भनी विश्वास गर्नु मूर्खता हो । यसमा म विश्वस्त छु । विश्वको जनसङ्ख्या अचाक्ली बढेपछि त्यसलाई ठाउँमा ल्याउन ईश्वरले युद्धको आशिष दिन्छन् भन्ने विचार म मान्दिन । सैन्यवादीहरूसँग पनि मेरो विमति छ । शान्तिको जर्गेना गर्न भसक्कै हतियारहरू थुपार्न जरुरी छ भनी मान्न सम्भव छैन । मानिसहरूले जेजस्तो आइपरे पनि सैनिक बन्न अस्वीकार गरे भने विश्वलाई युद्धको विभिषिकाबाट मुक्त गर्न सकिन्छ भन्दै शान्तिवादीहरू स्वाङ पार्छन् । यस विचारमा विश्वास गर्न मसँग धैर्य छैन ।
अमेरिकी सेनामा तीन वर्ग छन् । पहिलो वर्गमा सैन्य सेवामा सक्रिय उच्च पदका अफिसर पर्छन् । उनीहरू आफ्नो पेशाको उच्च ओहोदासम्म पुग्न लालायित हुन्छन् । यो स्वाभाविक छ । जल, थल र वायु सेनाको विस्तार भयो भने बढुवा हुने सम्भावना स्वतः बढ्छ । नियमित सेवामा सामान्य सिपाही कर्पोरल बन्न चाहन्छ, कर्पोरल सार्जेन्ट बन्न चाहन्छ । साजेन्ट अमिसन अफिसर नबन्दासम्म कहिल्यै खुसी हुन्न । दोस्रो तहको सैनिक चाँदीको फिताको ताकमा हुन्छ । पहिलो दर्जाको लप्टन दुई फिते कप्तान बन्न चाहन्छ । कप्तान मेजर बन्ने सपना देख्छ । मेजरले कर्नेलको पद ताक्छ । यसै रितले सेनाको सिँढी माथि उक्लिन्छ । जति माथि पुग्यो त्यति बढी सफलता र पैसाको मेसो मिल्छ ।
हाम्रो देशमा सेनाको दोस्रो वर्गमा विदेशमा लगानी गर्न पोख्त बैङ्कपतिहरू पर्छन् । यिनीहरू समुद्रपार पुग्ने जहाजका मालिक हुन्छन् । विदेश व्यापारबाट नाफा लिने निर्यातकर्ता, हतियार निर्माता र युद्ध हुँदा सरकारलाई ठूलो मात्रामा चाहिने कपास, तेल र गहुँजस्ता मालसामानका उत्पादकहरू पनि दोस्रो वर्गमै पर्छन् । यिनीहरू सबै महास्वार्थी हुन्छन् र त्यही अनुसारको यिनीहरूको लक्ष्य हुन्छ । त्यसैले यिनीहरू साम काका (अमेरिकी सरकार) सँग विश्वकै ठूलो थल र जल सेना होस् भन्ने चाहन्छन् । यसो गरे उनीहरूको नाफा पनि पक्का हुन्छ ।
सेनाको तेस्रो तप्कामा यो देशका सच्चा र देशभक्त नागरिकहरू पर्छन् । उनीहरूलाई भनेको कुरा सजिलै पत्याउँछन् । उनीहरू बोल्ने व्यक्तिको नियत खुट्याउन सक्दैनन् । यिनीहरू सर्वसाधारण नागरिक हुन् । उनीहरूलाई घरपरिवार नै सबैभन्दा प्यारो हुन्छ । राष्ट्रिय सुरक्षा कार्यक्रम बलियो नभए घरपरिवार खतरामा पर्नेछ भन्ने चतुर प्रचारबाजीले यिनीहरू दिग्भ्रमित हुन्छन् ।
शत्रु सेनाले आफूलाई कुनै पनि बेला तहसनहस पार्न सक्छ, आफ्नो घरमा आगो लगाउन सक्छ, बालबच्चालाई मारेर घरका चेलीबेटीलाई बलात्कार गर्नसक्छ भन्ने प्रचारबाजीमा यिनीहरू सहमत छन् । विश्वको पल्लो कुनामा टिम्बुक्टो बन्दरगाह छ, त्यहाँ साम काकाले शक्तिशाली युद्धपोत नपठाए शत्रुले अघि भनेजस्तो जे पनि गर्न सक्छ भन्नेमा सेनाको यो तप्का शङ्का गर्दैनन् ।
एउटा वर्ग विश्वकै ठूलो जल र थल सेना चाहियो भन्दै चिच्याइरहेको छ । मानौँ यसरी कुर्लिनु नै उनीहरूको पेशा हो । यति नै बेला अर्को वर्ग चाहिँ शान्तिको उपदेश बाँड्ने पेशामा छ । मेरो मनमा यी दुवै वर्गप्रति कुनै पनि किसिमको सहानुभूति छैन । किनभने, यी दुवै वर्गको विचारबाट शान्तिलाई लाभ छैन । सच्चा शान्ति चाहने तर त्यो आकाङ्क्षा पूरा गर्न कसरी र के गर्नुपर्छ भनी नजान्ने इमानदार व्यक्तिहरूको नजरमा उनीहरूको चिच्याइको कुनै अर्थ छैन ।
पेशेवर सैन्यवादीको तुलनामा इमानदार शान्तिवादीको उद्देश्य बढी इज्जतिलो र सोझो हुन्छ । उसको कामना मननीय हुन्छ । तर, म ती शान्तिवादीहरूको निन्दा गर्छु जसले अव्यवहारिक दर्शन छाँटेर निजी नाफा लुट्छन् । यस्ता शान्तिवादीहरूले युद्धको कारण मानिसहरू नै हुन् भन्ने कुरालाई सुनेको नसुन्यै गर्छन् । आफूलाई जहाँबाट दानापानी आउने हो, त्यो मुहान रिसको आगोले सुक्ला भनेर उनीहरू थरथर काम्छन् । शान्तिको उद्देश्य हासिल गर्न एउटा राजनेता जत्तिकै व्यावहारिक भएर व्यवहारिक विधिहरू पहिल्याउन बुद्धिमानी देखाउनुपर्छ । नाफा बढाउनका निम्ति जसरी एउटा चलाख व्यापारीले सटिक विधिको प्रयोग गर्छ, त्यसरी नै शान्तिको असल आकाङ्क्षा राख्नेले उचित पाइला चाल्दै जानुपर्छ । यति गर्न नसक्नेले अमेरिका वा विश्वको शान्तिको बारेमा जति नै गन्थन गरे पनि म उसको इमानदारीमा विश्वस्त हुन सक्दिन ।
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *