भर्खरै :

चीनलाई घेरा हाल्दै नाटो

चीनलाई घेरा हाल्दै नाटो

केही वर्षपहिले कम्युनिस्ट मजदुर पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनको समयमा मलाई दुईजना मानिसहरूले युरोपको एक किनारामा रहेको एक देशमा लगे । मैले जब ती दुईजनालाई संरा अमेरिकी साम्राज्यवादले चीनलाई घेराबन्दी गर्न खोज्दै छ भनेँ, तब ती दुवैजनाले मेरो कुरालाई खण्डन गरे । मेरो कुरा तत्कालीन सोभियत सङ्घको आरोपजस्तै लागेको तिनीहरूले गुनासो गरे । ‘अमेरिकाले चीनसँग युद्ध गर्नुभन्दा साझेदारीमा व्यापार–व्यवसाय गर्छ’ भन्ने तिनीहरूको धारणा थियो ।
ती दुईको त्यस्तो कुराले एकछिन म छक्क परेँ । गोर्वाचोभले साम्राज्यवादको पक्ष लिएर तत्कालीन सोभियत सङ्घ तथा पूर्वीय युरोपमा समाजवाद पतन गराउनको लागि यस्तै प्रकारका भ्रामक कुराहरू फैलाएका थिए । तर, अहिले आफूलाई सच्चा ‘माक्र्सवादी’ (यथार्थमा माक्र्सवादी–लेनिनवादी होइनन्) घोषणा गरेको पार्टीले नै आफ्ना कार्यकर्ताहरूलाई गोर्वाचोभका जस्ता भ्रामक कुराहरू गर्न सिकाइरहेका छन् ।
साम्राज्यवादी देशहरूले कुनै पनि मुलुकसँग युद्ध गर्नभन्दा व्यापार गर्न खोज्छ भन्ने धारणाले पुँजीवादी आर्थिक नियमहरूको आधारभूत नियमसँग मेल खाँदैन । व्यापार–व्यवसायले पुँजीवादी शक्तिहरूलाई उक्त देशको अर्थतन्त्रमा अलिकति साझेदारीता प्रदान गर्छ । तर, पुँजीवादी (पुँजीवाद आफ्नो साम्राज्यवादी अवस्थामा) शक्तिहरूको सानो भागमा मात्र चित्त बुझाएर बस्दैन । तिनीहरू त सारा भाग आफ्नो पार्न चाहन्छन् । के पुँजीवाद यस्तै लोभी होइन ?
उक्त धारणाले पुँजीवादमा युद्ध र युद्धको तयारीले नाफायुक्त भूमिकालाई पनि अस्वीकार गर्छ । यदि संरा अमेरिकी सैन्य औद्योगिक प्रतिष्ठानहरू बन्द गरिएमा बाँकी संरा अमेरिकी अर्थतन्त्र अझ राम्ररी सञ्चालन हुन सक्छ । साथै सम्पूर्ण अमेरिकी जनतालाई त्यसले प्रत्यक्ष फाइदा दिन सक्छ । तर, हामीलाई थाहा छ, सैन्य औद्योगिक प्रतिष्ठानहरू यति चाँडै बन्द हुने छैनन् ।
विश्वका अन्य साम्राज्यवादी देशहरूमा जस्तै संरा अमेरिकामा पनि त्यहाँका कम्पनी वा पुँजीवादी प्रतिष्ठानहरूले आफ्नो पुँजीको आधारमा त्यहाँको सरकारलाई अधीनमा राख्छन् । त्यसैले त्यस्ता पुँजीवादी प्रतिष्ठानहरूले सबै भाग आफ्नो बनाउनका लागि हाल सक्दो भित्रभित्र जालझेल र षड्यन्त्र गर्दै गरेका हुन्छन् । शान्ति र मित्रताको कुरा गर्दा तिनीहरूले जनतालाई निराशा दिन र बेफाइदा पु¥याउन खोज्दै छन् भनी हामीले बुझ्नुपर्छ । समाजवादको पतन भएपछि तत्कालीन सोभियत सङ्घ तथा पूर्वी युरोपेली देशहरूमा छाएको भद्रगोल र कष्टबाट पनि यो कुराको पुष्टि हुन्छ ।
पश्चिमाहरूले गोर्वाचोभलाई ‘महान् राजनेता’ को संज्ञा दिएका थिए । तर, रुसी जनताले उक्त संज्ञालाई निन्दा र गिल्ला गरेका छन् । पश्चिमा सञ्चारमाध्यमहरूले समेत उनलाई कहिलेकाहीँ मात्रै उक्त संज्ञाका साथ प्रकाशित गर्थे । तर, गोर्वाचोभले सदैव आफूलाई ‘महान् राजनेता’ नै सम्झे । गोर्वाचोभलाई हरेक षड्यन्त्रमा साथ दिने उनका सहयोगी शेभार्डनाड्जे (Shevandnadza) राष्ट्रपति बन्नका लागि आफ्नै देश जर्जिया (Georgia) गएका थिए । तर, उनी राष्ट्रपतीय निर्वाचनमा हारे तथा पछि महत्वहीन भए ।
पहिले समाजवादबाट ‘मुक्त गर्न’ चाहने ती देशहरूका मानिसहरू नै अहिले आएर सार्वजनिक सम्पत्ति लुट्न चाहने उद्योगी–व्यवसायीहरूविरुद्ध डटेर सामना गर्न तयार छन् । अहिले त्यस्ता उद्यमी र व्यापारीहरू आफ्नै स्वार्थपूर्ति गर्न लागिपरेका छन् तथा लुटाहा अन्तर्राष्ट्रिय पुँजीवाद त्यहाँको सम्पूर्ण कम्पनी तथा उद्योगधन्दाहरू लुट्न खोज्दै छन् । तिनीहरू समाजवादको ५० वर्षसम्मको आधार र उपलब्धिलाई आफ्नो स्वार्थ पूरा गर्न उपयोग गर्न चाहन्छन् । यसप्रकारको लुट र नवउपनिवेशको प्रक्रिया बिस्तारै चलिरहेको समयमा साम्राज्यवादीहरू लामो दीर्घकालीन सैन्य लक्ष्य अगाडि बढाउन व्यस्त छन् । गत महिना बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन (David Cameron) ले जापानसँग ‘पहिले कहिल्यै नगरिएको’ हतियारसम्बन्धी गोप्य सम्झौता गरेका छन् । उक्त सम्झौता निश्चय नै चीनलाई ‘धम्क्याउनको लागि’ गरिएको हो । यो त धेरै पहिलेदेखि नै चल्दै आएको बेलायत–संरा अमेरिकाको कूटनीति हो ।
जापानपछि बेलायती प्रधानमन्त्री क्यामरुन इन्डोनेसिया पुगे । उनले इन्डोनेसियालाई (नचिनेको झैँ) कान्तिमय ‘विश्वकै एक महान् प्रजातन्त्र’ भएको देशको रूपमा वर्णन गरे । उनी त्यहाँ पनि हतियार बिक्री गर्नका लागि नै पुगेका थिए । १० वर्षअगाडि बेलायतको श्रमिक सरकारले आफूहरूले बिक्री गरेको हवाई–विमान तथा हतियारहरू इन्डोनेसियाले पूर्वी टिमोर (East Timor) मा विध्वंस मच्चाउन प्रयोग गरेको थाहा पाएपछि इन्डोनेसियामा हतियार बिक्री गर्न बन्द गरिएको थियो । तर, रुढीवादी टोरी सरकारका नेता क्यामरुनले चीनविरुद्ध इन्डोनेसियालाई प्रयोग गर्न खोजे ।
उनको यस्ता कार्यहरूले ‘उक्त क्षेत्र रणनीतिकरूपमा अमेरिकाको निम्ति निकै महत्वपूर्ण छ’ भन्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको भनाइलाई पुष्टि गरे र ‘एसिया–प्रशान्त क्षेत्रमा राम्ररी नेतृत्वकारी भूमिका खेल्न हामी सक्षम हुने निश्चित गर्न’ ओबामाको घमण्डलाई पनि क्यामरुनको यस्ता कार्यहरूले पुष्टि गरे ।
आफ्नै देशको अर्थतन्त्र धुजाधुजा भइरहेको र विश्वभरि आफ्नो देशको सेना परिचालन गर्ने संरा अमेरिकाले आफूले ‘नेतृत्वदायी भूमिका’ खेल्ने गरेको छु भन्ने भनाइ अहिले भ्रम जस्तो हुन पुगेको छ । यसैगरी, अस्ट्रेलियाको गिलार्ड (Gillard) सरकारले पनि संरा अमेरिकाको गाईजात्रामा भाग लिँदै छ । अस्ट्रेलियाले आफ्नो देशको उत्तरमा २,५०० संरा अमेरिकी सैन्य समूह र तिनीहरूलाई आवश्यक हातहतियार तैनाथ गर्ने भनी हस्ताक्षर गरेको छ ।
हामीलाई कसैले पनि धम्क्याएको छैन । तर, तिनीहरू हामीलाई सुरक्षा दिने नाममा चीनलाई घेराबन्दी गर्न खोज्दै छन् र हाम्रो मुख्य व्यापारिक साझेदार देशलाई हाम्रो शत्रु बनाउन खोज्दै छ । कस्तो विडम्बना ?
हाल संरा अमेरिका दक्षिण कोरियामा नयाँ सैन्य शिविर निर्माण गर्ने प्रक्रियामा जुटेको छ । संरा अमेरिकी भनाइमा त्यसले कोरियाली प्रायः द्वीपमा तनाव कम गर्नेछ । के यो सत्य हो ? साथै सिङ्गापुरमा चारवटा युद्धक जहाजहरू तैनाथ गर्ने तथा फिलिपिन्समा अझ बढी संरा अमेरिकी सेना तैनाथ गर्ने योजना संरा अमेरिकाले बनाएको छ ।
रुसको युरोपेली सिमानाहरूमा संरा अमेरिकाले नयाँ प्रकारका क्षेप्यास्त्रहरू तैनाथ गरेका छन् र यसैबाट अमेरिकाले केन्द्रीय एसियासम्म आफ्नो प्रभाव विस्तार गर्न खोज्दै छ । संरा अमेरिकाको यसप्रकारका कार्यहरूबाट रुस र चीनलाई घेराबन्दीमा पारेको राम्ररी देखिन थालेको छ । यो तर्क कुनै लोकाचार वा मनोरोगको कारण आएको होइन, यो त खाली साधारण स्वत सिद्ध सत्यमा आधारित भनाइ हो ।
संरा अमेरिकाको त्यसप्रकारको कार्यलाई अन्यथा सम्झनु साँचो कुरालाई बेवास्ता गर्नु जस्तै हो । हाल संरा अमेरिकाको अर्थतन्त्र निकै कमजोर हुँदै छ । अति उत्पादनबाट निम्तिएको त्यस्तो गम्भीर सङ्कटलाई भद्रगोल पुँजीवादी अर्थतन्त्रले युद्धबाट हल गर्नेछ । तर, संरा अमेरिकाको परिस्थिति निकै गम्भीर बनेको छ । पश्चिमी युरोपका साम्राज्यवादी देशहरू विशेषगरी फ्रान्स र जर्मनी एसिया र उत्तर अफ्रिकामा भइरहेका नाटोका सैनिक अभियानहरूमा निकै उत्सुकतापूर्वक सहभागी भइरहेका छन् ।
यसप्रकारको सैन्यीकरण र युद्धउन्माद बढिरहेको परिस्थितिमा विश्वका जनता स्थिरता र नयाँ राम्रो व्यवहारको अपेक्षा राख्दै छन् । हाल जनताको यसप्रकारको अपेक्षा धेरै किसिमबाट प्रदर्शित भइरहेका छन् । संरा अमेरिकामा भएको संरा अमेरिकी अर्थतन्त्रको केन्द्र वाल स्ट्रीट कब्जा आन्दोलनले ठूलठूला बैङ्कहरू तथा वाल स्ट्रीटलाई लक्षित गयो । युरोपमा चलेको आन्दोलन विशेषगरी ग्रीसमा भएको आन्दोलनबाट त्यहाँका जनताले युरोपेली बैङ्कपतिहरूद्वारा त्यहाको सङ्कट समाधानको निम्ति दिएको समाधानका प्रस्तावहरू मान्न अस्वीकार गरे । ती बैङ्कपतिहरूले ग्रीसमा पेन्सनको कटौती, स्वास्थ्य सेवा तथा तलबमा कटौती गरी त्यहाँका जनतालाई आर्थिकरूपमा गम्भीर प्रहार गर्दै छन् । यसका साथै जनताले अब पुँजीवादी व्यवस्थाबाट बरोबर आइरहने आर्थिक सङ्कटको समाधान गर्न सक्दैन भन्ने पनि बुझ्दै छन् ।
पुँजीवादका शक्तिशाली प्रवर्तकहरू तथा ठूला साम्राज्यवादीहरूले पनि जनताको त्यस्तो आकाङ्क्षाहरू बुझ्न थालेका छन् । त्यसकारण, तिनीहरू जनतालाई साथ दिई युद्ध गर्न तयारी गर्दै छन् । अब पहिलेजस्तै तिनीहरूलाई रोक्नका लागि जनता आफैँ अग्रसर हनुपर्छ ।
– गार्जियन अस्ट्रेलियाली कम्युनिस्ट साप्ताहिक
(Nato moves to surround China)
The New Worker, 1st June, 2012
धु्रवतारा, साउन–भदौ, २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *