अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सन्दर्भ : जयराम बासुकलाको १९ औँ स्मृति दिवस
तत्कालीन पञ्चायती सरकारले २०४५ भदौ ९ गते नेपाल मजदुर किसान पार्टीविरूद्ध भक्तपुर काण्डको षड्यन्त्र रच्यो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत पार्टीका ६७ जना नेता–कार्यकर्तालाई पञ्चायती सरकारले भक्तपुर काण्डको झूटो मुद्दामा फसायो । झूटो मुद्दामा जयराम बासुकलाको नाम नभए पनि नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता भएकै कारण उनलाई पञ्चायती सरकारले पक्राउ गरी जेलमा थुन्यो । उनले पन्ध्र महिना जेलमा गुजारे । त्यो समयमा जेलभित्र पनि उनले पञ्चायती निरङ्कुशताविरूद्ध सङ्घर्ष गरे ।
जेलको दैनिकी स्वाभाविक रूपमा कठिन हुन्छ । अझ बर्बर स्वभावको पञ्चायती व्यवस्थाको जेल जीवनको कल्पना गर्दा आङ सिरिङ्ग हुन्छ । पञ्चायतका हिमायतीहरूको जगजगी रहेको बेला उनले लेखेको चिठ्ठीको भाव यस्तो छ –
गणेशबहादुर काका,
नमस्कार !
व्यक्तिलाई थुनेर कैदी बनाएर विचार कुुण्ठित पार्छुु भन्नु बुद्धिमानी होइन । सानो भाइ, आमा, दिदीहरू, बहिनी, बुढीआमा सबैमा मेरो सम्झना र प्रार्थना ।
घमण्डले मानिसलाई अन्धो बनाउँछ । टोल–टोलमा गई बाटो र विकास कार्य पूरा गर्नुहोला । निदाएर बस्नु हामीले हुन्न ।
हजुरहरूबाट मेरो परिवार र बुबा, आमा, हजुरआमा सपरिवारमा मेरो सम्झना सुनाइ दिनुहोला । स्कूलमा पनि हजुरहरूले ध्यान दिनुप¥यो । आफूले बनाएको मन्दिर जोगाउनु होला । शिक्षक साथीहरूलाई पनि मेरो सम्झना ।
आ–आफ्नो क्षेत्रका युवक युवतीले बाटो बिराउला । राम्रो ध्यान पु¥याउनु होला । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ जनताको फूलको माला र स्वागतलाई तपाईं हामीले कहिले नर्बिसौँ । जनता नै ठूलो शक्ति हो । पैसा र पद मुख्य होइन । सेवा र काम नै ठूलो हो, मानिस जातले हैन, दिलले ठूलो हुन्छ । सेवा नै धर्म हो ।
काका सम्पूर्ण मतदाताहरूमा न्यानो सम्झना सुनाइदिनुहोला ! दुःख नमानौँ, १२ वर्षमा खोलो फर्कन्छ । सत्यको जीत अवश्य हुन्छ । अझ पनि आफू बसेको गाउँ–ठाउँ, जिल्ला र टोललाई जरूर विकासमा लानु छ । दुःख नमान्नुस्, अझ पनि सेवा गर्नु धेरै छ ।
तपाईंको मायालु भतिज
जयराम बासुकला
२०४६/३/१७
चिट्ठीले विकास, सेवाप्रतिको उनको उच्च चिन्तन अहिलेका कार्यकर्ता र शुभचिन्तकहरूको लागि प्रेरणा बन्छ । जेलबाट उनले आफ्ना सहकर्मीमध्ये तत्कालीन ताथली गाविसको वडा नं. ६ का वडा अध्यक्ष गणेशबहादुर गिरी (हाल स्वर्गीय) लाई सम्बोधन गरी लेखेको चिट्ठीले ताथलीको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक स्थितिबारे आकलन गर्न सहज भएको छ ।
वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार जयराम बासुकला ‘अँध्यारोमा जन्मेका उज्याला मान्छे’ हुन् । उनको जन्म २००९ असार ३ गते साबिक ताथली गाविस वडा नं ७ सौडोलमा भएको हो । आफ्नो पार्टीका कार्यकर्ता, शुभचिन्तकहरूका लागि मात्र नभई अन्य पार्टीका कार्यकर्ताका लागि समेत आदर्श र प्रेरणाका पुञ्ज हुन् स्व. बासुकला । पिता गोपीलाल बासुकला र माता सानुमाया बासुकलाका जेठा छोरा बासुकलाको शिक्षारम्भ गणेश प्रावि (हाल गणेश मावि) ताथलीबाट भयो । शारदा मावि, भक्तपुरबाट मावि शिक्षा पूरा गरी उनले महेन्द्ररत्न क्याम्पस, ताहाचल काठमाडौँबाट आईएड उत्तीर्ण गरे ।
राजनीतिक परिवेशको पारिवारिक वातावरणमा हुर्केका बासुकला कम्युनिस्ट विचारबाट प्रभावित भई विसं २०२२ देखि कम्युनिस्ट आन्दोलनका विभिन्न चरणहरूमा सक्रिय भए । वि.सं. २०२७ देखि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा आबद्ध भई विसं. २०३१ देखि तत्कालीन नेपाल मजदुर किसान सङ्गठन ताथलीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए उनले । गरिब वर्गको उत्थानका लागि निरन्तरको दौडधूप, पत्रपत्रिका पु¥याउने, छोड्नेदेखि लिएर गाउँठाउँमा हुने विकास निर्माणको लागि आएका बजेटको जानकारी दिने, न्यायोचित तरिकाले बजेट विनियोजन गर्ने, घर झगडा, जग्गा विवाद, अरू ससाना झैझगडा मिलाएर समाजमा विवाद नलम्ब्याउन उनी न दिन भन्थे, न रात भन्थे, न घाम, न पानी, न भोक, न प्यास ।
जनताको घरमा पुग्दा जनताले दिएको चिया, रोटी मकै, काँक्रो, नासपाती, आरू, त्यति पनि नभए एक लोटा पानीले पेट भरेर उकाली ओराली गर्ने खुबी र क्षमता उनमा रहेको उनलाई नजिकबाट भोग्नेहरू बताउँछन् ।
गाउँमा विद्यालय खोल्न होस् या पुस्तकालय सञ्चालन गर्न, खानेपानीको व्यवस्था गर्न होस् या बिजुलीको बन्दोबस्त गर्न, कुलो बनाउन, बाटो खन्न, निरक्षता उन्मूलन गर्नदेखि घरघरमा शौचालय निर्माण गरी सफाइ अभियान सञ्चालन गर्नमा उनी नै अग्रसर हुन्थे । पार्टीको सिद्धान्त, विचार र मार्गनिर्देशनलाई शिरोपर गरी उनी युवामाझ पुग्थे, किसान, मजदुर, शिक्षकमाझ पुग्थे । गाउँका चिया पसलमा पुगेर विकास, समस्या र समाधानको विषयमा भलाकुसारी गर्थे । ‘जनताको तालीलाई मात्र हैन, गालीलाई’ समेत स्वीकार गर्ने उनको स्वभावबारे हरेक वर्ष चर्चा हुन्छ ।
तत्कालीन गाविस, गाविसका वरपर मात्र हैन, समग्रमा भक्तपुरको पूर्वी भेगमा उनले विकासका लागि गरेको योगदानको फेहरिस्त लामो छ । अहिले पनि उनैले कोरेको सडकमा, गोरेटोमा हिँडिरहेका छन्† उनैले ‘खुवाएको’ पानी पिएर तिर्खा मेटिरहेका छन्, उनकै अगुवाइमा खोलिएको शिक्षालयहरूबाट शिक्षित भइरहेका छन् । एक राजनीतिक, सामाजिक कार्यकर्तामा हुनुपर्ने गुणका धनी, सिद्धान्तलाई व्यवहारमा उतार्ने एक कुशल समाजसेवीको अविस्मरणीय योगदान कसैले भुल्न सक्दैन । २०६२ साउन २४ गते यो संसारबाट बिदा भए पनि उनको त्याग, योगदान कहिल्यै बिदा हुनेछैन । स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धाञ्जली ।
सन्दर्भ स्रोत :
१.जनताको आँखामा का. जयराम (२०६३)
२.सम्झनामा का. जयराम (२०७५)
३.जयराम बासुकलाका पत्र (सुरेश गिरीबाट प्राप्त)
४.मजदुर दैनिक/चाँगुपत्रका विभिन्न अङ्कहरू
५.विभिन्न व्यक्तिहरूसँगको कुराकानी (विभिन्न समयमा)
६.जयराम स्मृति अक्षयकोष, देवी माविबाट प्रकाशित स्व. बासुकलाको जीवनी
७. प्रतिध्वनि, २, २०६०

Leave a Reply