भर्खरै :

देशको निर्माण र रक्षा गर्न सबै जिम्मेवार बन्नुपर्ने

  • श्रावण २५, २०८०
  • सिम्रिक
  • विचार
देशको निर्माण र रक्षा गर्न सबै जिम्मेवार बन्नुपर्ने

मानिसलाई सही बाटोमा ल्याउने माध्यम या अस्त्र भनेको नैतिकता, लाज, निष्ठा, त्याग, देशभक्ति भावना र त्यसअनुरूपको व्यवहार हो । त्यस्तो मानिसको समूह समाज बनाउने र देश बनाउने काममा पछि पर्दैन । त्यस्तो भावना र सोच भएन, त्यसअनुसारको व्यवहार भएन भने मानिस मानिसजस्तो बन्दैन । त्यस्ता मानिसहरू विभिन्न बहाना, लोभ, आशा जनतालाई देखाएर समाज बिगार्ने र देश ध्वंश गर्ने काम गर्छन् । त्यसैले देशको विकास र निर्माण गर्न सांसदहरू सांसदजस्तो, मन्त्री मन्त्रीजस्तो, प्रधानमन्त्री प्रधानमन्त्रीजस्तो, राष्ट्रपति राष्ट्रपतिजस्तो, न्यायाधीश न्यायाधीशजस्तो, कर्मचारी कर्मचारीजस्तो र जनता जनताजस्तो हुनु आवश्यक छ ।
छिमेकी मित्र देश चीनमा चिनियाँ सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, कर्मचारी, न्यायाधीश र जनताले आफ्नो कर्तव्य निर्वाह गरेको कारण आज चीन द्रुतगतिमा विकासमा अगाडि बढिरहेको छ । चीन आफू बन्नुको साथै विश्वलाई पनि बनाउने प्रयत्न गर्दै छ । बिचमा कुनै बाधा व्यवधान नआएमा केही वर्षपछि चीनले विकास र रक्षाको नेतृत्व गर्दै छ । तर, शासकहरूले न त देश बनाउन सके न त देशको सीमा रक्षा नै गर्न सके ।
देश र जनताको हितविपरीत कुनै काम नगर्ने, देशको रक्षा, विकास निर्माण इमानदारीपूर्वक योग्यता र क्षमताले भ्याएसम्म निःस्वार्थीरूपले सेवा गर्नेछु भनेर सपथ खाएका सांसदहरूले आफ्नो दायित्व निर्वाह गरेका भए विदेशीको लोभ र डर धम्कीमा झुक्ने थिएनन् । कुनै काण्डमा फस्ने र मुछ्ने थिएनन् । देशको भाग्य निर्माण गर्ने कर्मथलो संसद्को बैठक छाडेर जाने थिएनन् । संसद्को सभाहल नै खाली गरेर एनजीओ, आइएनजीओको बैठकमा हाजिर भएर डलरमा आफूलाई बेच्ने थिएनन् । देशको स्वाभिमान बेच्ने थिएनन् । देश र जनताको हितमा कानुन, नीति निर्माण गर्ने र त्यस्ता विधेयक प्रस्तुत गर्ने नै थिएनन् । छलफल र बहसमा सक्रिय सहभागी भएर जनताका समस्या राख्थे । तर, त्यस्तो भएन । एमसीसी, एसपीपी, नागरिकता विधेयकजस्ता देशघाती विधेयकको विरोधमा संसद् अवरोध गर्ने थिएन । त्यसलाई कुनै हालतमा संसद्मा प्रस्तुत गर्न र पास हुन दिने थिएन । उनीहरू आफ्नो चुनावी क्षेत्रमा गएर देशका बहुमत गरिब, अशिक्षित जनताको दुःख पीडा पोख्थे । त्यसबाट जनतालाई राहत दिलाउन संसद्मा सङ्घर्ष गर्थे । यदि सांसदले आफ्नो दायित्व निर्वाह गरेका भए देश र जनताको पक्षमा भए गरेका कामबारे बैठक र सभा गरेर जनतामाझ बाँड्थे तर त्यस्तो भएन ।
त्यस्तै मन्त्रीहरूले आ–आफ्नो कर्तव्य निर्वाह गरेका भए विदेशीसँग आँखा जुधाएर कुरा गर्थे । उनीहरूले कुरा सुन्ने मात्र गर्दैनथे । देशको हितविपरीतका कुरा गर्नासाथ खण्डन गर्थे, विरोध गर्थे । प्रमाण र तथ्यका आधारमा यस्तै हुनुपर्छ भनेर अडान राख्थे या झुक्दैनथे । उनीहरूले ल्याएका कुनै कागजमा आँखा चिम्लेर समर्थन र सही ठोक्दैनथे । देशलाई घात हुने एमसीसी, एसपीपी, नागरिकता विधेयकजस्तो विधेयक ल्याउँदैनथे, सन्धि सम्झौता गर्दैनथे । आफ्नो कार्यक्षेत्रबारे सांसदहरूले उठाएका गम्भीर प्रश्नको जिम्मेवारीपूर्वक समयमै उत्तर दिन्थे । पोखरीमाथि बनाइएको छायाँदेवी कम्पलेक्सको उद्घाटन गर्दैनथे । विदेशी मित्र देशहरूले आत्मनिर्भर बन्ने उपहारस्वरूप बनाइदिएका भृकुटी कागज कारखाना, गोर्खकाली रबर टायरजस्ता कारखाना र यातायात साधनहरू कौडीको मोलमा बेच्दैनथे । दाइजोप्रथा, बोक्सी, मिटरब्याज, जातीय क्षेत्रीय विभेदको विरोध गर्थे । तर, त्यस्तो सशक्त ढङ्गले विरोध र कारबाही गर्न सकिरहेको अवस्था छैन । देशमाथि विदेशी हस्तक्षेप भयो भने तत्काल कूटनीतिक माध्यमबाट प्रतिकार गर्थे । तर, उनीहरूले त्यसो पनि गर्न सकिरहेका छैनन् । अपराधीलाई समात्न होइन, अपराधीलाई छोडाउन, छोड्न सहयोग गर्ने मन्त्री हुनु भएन । त्यस्तो अपराधीलाई छोडाउने मन्त्री पनि अपराधी नै हुन्छन् । नेपाली जनतालाई त्यस्तो मन्त्री चाहिएको होइन ।
देशको भाग्य निर्माण गर्ने काम शासकहरूकै हातमा हुन्छ । त्यसैले, हाम्रा प्रधानमन्त्रीहरू प्रधानमन्त्रीजस्तो हुनुप¥यो । नेपाली जनतालाई देशको स्वाधीनता जोगाउने, सार्वभौमिताको रक्षा गर्ने बेलायती साम्राज्यवादलाई एसियाबाटै लखेट्न कम्मर कस्ने भक्ति थापाजस्ता प्रधानमन्त्री चाहिएको हो । भक्ति थापाजस्तो विदेशीको लोभ र धम्कीको लगाडि नझुक्ने प्रधानमन्त्री नेपाली जनतालाई चाहिएको हो । नेपाली जनतालाई महाकाली, कर्णाली, गण्डकी, कोसीजस्ता जलशक्ति बेच्ने प्रम चाहिएको होइन । विदेशी मित्र देश चीनको उच्चस्तरीय भ्रमण टोलीलाई बीआरआईको कार्यान्वयन गर्नुपर्ला भनेर मन्त्री गए पनि पुग्ने ठाउँमा इटालीको विश्व खाद्य कार्यक्रममा जाने, लाओसको भ्रमणमा जाने प्रम नेपाली जनतालाई चाहिएको होइन । अनि नेपाली भूमि अतिक्रमण गर्दा र आन्तरिक मामिलामा नाङ्गो विदेशी हस्तक्षेप गर्दा टुलुटुलु हेरेर बस्ने प्रधानमन्त्री चाहिएको होइन ।
देशको निर्माण र रक्षा गर्ने काममा जनताको पनि ठूलो हात हुन्छ । तर, कति जनता आफ्नो व्यक्तिगत सानो स्वार्थ पूरा गर्न जे पनि गर्दछन् । चुनावमा पैसा, कुर्ता, सारी, ग्याँस सिलिन्डर आदिको लोभमा, जागिरको लोभमा विकासको झूटा आश्वासनको भरमा जेलमा कोच्नुपर्ने अपराधीलाई भोट दिएर सांसद, मेयर र गाउँपालिका प्रमुख जिताएर पठाउने पनि जनता नै हुन् । यदि जनता कुनै स्वार्थ, प्रलोभनमा नपरी, डर धम्कीसामु नझुकी हिजोका बोली, व्यवहार, काम र परिणामलाई हेरेर भ्रष्टाचार नगर्ने, समाजको निर्माणमा निःस्वार्थ लाग्दै आएका इमानदार मानिसलाई जिताएर पठाउँथे । ललिता निवासको सरकारी जग्गा लुट्ने मान्छे, नेपाली जनतालाई विदशी नागरिक बनाई बेच्ने, देशको इज्जत लुट्ने, विश्वमा नेपालको छविमा चोट पु¥याउने, सुनको भारी बोक्ने, देशको इज्जत लुट्ने मान्छेलाई सांसद बनाएर पठाउँदैनथे ।
एमसीसी सम्झौता, नागरिकता विधेयक ल्याउनेबित्तिकै जनता आन्दोलित हुनुपथ्र्यो । देशभरबाट जनता उठेका भए ललिता निवासको सरकारी जग्गा, पर्ती जग्गा, जङ्गल, नदी, बगर, पोखरी, पार्टी आदि लुट्न सक्ने थिएन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने देशद्रोेही काम गर्न सक्ने थिएन । क्विन्टलका क्विन्टल सुन त्यतिको सुरक्षाकर्मी, कर्मचारीको निगरानी हुने भनिएको ठाउँबाट पार भएर ल्याउन सक्ने थिएन ।
देश सिध्याउने एमसीसी, नागरिकताजस्तो देशघाती सम्झौता संसद्मा पेश गर्दा र गर्न खोज्दा जनताले देशघाती सांसदहरू र संसद् भवनलाई घेर्थे । विदेशीले नेपाली भूमि अतिक्रमण गर्दा, मिच्न खोज्दा, नाकाबन्दी गर्दा, अन्याय हुँदा त्यसको विरोधमा जनता सडकमा आउँथे । हस्तक्षेप र अत्याचारको विरोधमा औँला उठाउन, मुठी कस्न नेपालस्थित दूतावास र अन्य देशमा रहेका दूतावास घेर्थे, विरोध गर्थे । नेपाल मजदुर किसान पार्टीले अत्याचारको विरोधमा चाहे एसिया र अफ्रिकी देशहरूमा, चाहे ल्याटिन अमेरिकी देशहरूमा होस्, चाहे देशघाती एमसीसीलगायतका देशघाती सन्धि, सम्झौताको विरुद्धमा संसद् परिसरमा, देशका अन्य सहर तथा गाउँमा पटकपटक विरोध जुलुस र खबरदारी जुलुस ग¥यो । यदि काठमाडौँलगायत देशका अन्य भागमा पनि जनता ओर्लेका भए हस्तेक्षपकारी भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादलगायतका पश्चिमी देशले उनको कठपुतलीले अन्याय गर्ने आँट गर्न सक्ने थिएनन् । हाम्रो देश नेपाल पनि मित्र राष्ट्र चीनजस्तो देश निर्माणको मार्गमा देशको रक्षा गर्ने बाटोमा निरन्तर अगाडि बढिरहेको हुन्थ्यो । त्यसैले देश बनाउन र रक्षा गर्न सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *