अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सिद्धान्त र विचारको राजनीति छोडेर शासक दलका नेताहरू कमाउधन्दामा जुटेका छन् । पार्टी सञ्चालन गर्न, नेता तथा कार्यकर्ता परिचालन गर्न, निर्वाचनमा खर्च जुटाउन शासक र ठूला दलका नेताहरू पैसा जोहो गर्न आपराधिक, अनियमित या भ्रष्टाचारको काममा लागिरहेका छन् । यसको कारण पार्टीमा ठेकेदार, बिचौलिया, आपराधिक व्यक्ति, कालाबजारी, कमिसनखोर र अनियमित काम गरेर अकुत सम्पत्ति कमाउनेहरूको बोलवाला बढेको छ । यसरी नै आपराधिक व्यक्तिलाई ठाउँ दिँदै गए या उनीहरूले ठाउँ पाउँदै गए पछिल्ला दिनमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा अहिलेभन्दा धेरै गुणा बढी कुनै न कुनै दाग लागेका व्यक्तिहरूको राज हुनेछ । त्यस्ता आपराधिक व्यक्तिहरूलाई पार्टीमा हुल्याएर, उनीहरूको घेरामा रहेको दल र दलको सरकारले देशलाई कसरी समृद्ध बनाउँछ, कसरी समृद्ध बनाउन पहल गर्छ ?
कारबाही गर्नुपर्ने अपराधीहरूलाई संरक्षण गरेको कारण आज शासक र ठूला पार्टीका नेताहरूको बदनाम भइरहेको छ । ती पार्टीहरू अपराधीहरूको जन्जालमा फसिरहेका छन् । राजनीतिक दलका नेताहरू अपराधीहरूको घेरामा परेपछि उनीहरूले गर्ने राजनीतिमा कसरी सच्चाइ हुन्छ ? यही कारण दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू आपराधिक क्रियाकलापमा देखिन थालेका छन्, कारबाहीको प्रक्रियामा मुछ्न थालेका छन् । आफूहरू सरकारमा रहेको हुँदा राजनीतिक तहबाट जतिसुकै भ्रष्टाचार या अनियमितता भए पनि कारबाहीमा पर्र्दैनन्, कारबाहीमा परे पनि थोरै मात्र पर्छन् या कारबाहीमा पर्ला भनेरै जोगाउन खोज्छन् भन्ने मानसिकता पनि छ । अहिले चर्चामा रहेका जति पनि आपराधिक मुद्दाहरू छन्, अधिकांश ती मुद्दाहरू राजनीतिक दलसँग सम्बन्ध रहेको छ या सत्तासीन दलका नेता र मन्त्रीहरूसँग सम्बन्ध छ ।
उद्योग–व्यवसाय गरेर, व्यापार–व्यवसाय गरेर या कुनै धन्दामा लागेर आयआर्जन गर्नु एउटा पाटो हो । तर, पदको दुरूपयोग गरी अवैध ढङ्गले अकुत सम्पत्ति कमाउनु अर्काे पाटो हो । राजनीतिलाई नै आयस्रोतको कमाउधन्दा गर्ने माध्यम बनाएपछि राजनीति कसरी सफा हुन्छ ? बल, पैसा, धाक, धम्कीको राजनीति भएपछि त्यहाँ कसरी सिद्धान्त र विचारको राजनीति चल्छ ? त्यहाँ कसरी इमानको राजनीति हुन्छ ? इमानको राजनीति नगर्ने दलका नेता या शासकहरूले देश र जनतालाई मार्गनिर्देश गर्न सक्दैनन् । आम्दानी र विकासको रकम चुहेपछि देश विकास सम्भव छैन । नेपाल विकासमा पछि पर्नु र भ्रष्टाचार बढ्नुको कारण शासकहरूको गलत विचार, गलत नियत र गलत स्वार्थ नै हो । शासक र ठूला दलका नेताहरूले इमानदारीपूर्वक स्वच्छ राजनीति नगरेसम्म यस्ता काला धन्दा र काला कर्तुतहरू भइरहन छन् । यसकारण, शासक र ठूला दलका नेताहरू इमानदार हुनुपर्छ† निःस्वार्थी हुनुपर्छ† देश र जनताप्रति जिम्मेवार हुनुपर्छ र सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ । नेताहरू वैयक्तिक स्वार्थमा भुले, अदूरदर्शी भए, जातीय स्वार्थमा लागे, सङ्कीर्ण विचार अँगालिरहे देश जहिल्यै यही स्थितिमा रहनेछ, देशले प्रगति गर्नेछैन । यसले कुनै दिन आर्थिक सङ्कट पर्नेछ र देशमा अशान्ति हुनेछ ।
Leave a Reply